काठमाडौं । बिहान १० बजेदेखि नै कर्मचारी सञ्चय कोषको कार्यलय, ठमेल परिसरका साइबर क्याफेमा भीड लाग्छ । त्यहाँ भर्खरै सञ्चय कोषमा जोडिन लागेका बिनिता थापा र सृजना कार्की पनि केवाईसी अद्यावधिकका लागि सञ्चय कोषकै भवनको पछाडिको साइबरबाट अनलाइन फारम भरिरहेका थिए ।
सिम्रिक डिस्ट्रिब्युटर कम्पनीमा कार्यरत उनीहरूले भर्खरै जागिर सुरु गरेका हुन् । नयाँ जागिर थालेसँगै कम्पनीमार्फत उनीहरू कर्मचारी सञ्चय कोषमा जोडिए । “तर सबैभन्दा पहिला केवाईसी भेरिफाई गर्नुपर्ने रहेछ । हिजो पनि आएको थिएँ । तर ढिलो आउँदा केवाईसी फारम भर्ने साइबरमा पनि लामो लाइन थियो । त्यही भएर आज चाँडै आएर भरेँ,” बिनिता भन्छिन् ।
अनलाइन माध्यमबाट आफैंले पनि फारम भर्न मिल्ने कुरा आफूहरूलाई जानकारी भएको उनीहरू बताउँछन् । सृजनाले भनिन्, “वेबसाइटमा गएर सक्नेले आफैँ पनि भर्न सक्छन् ।” तर अनलाइनमा आफैंले भर्न झन्झटिलो लागेर साइबरमा भरेको उनले सुनाइन् ।
बिनिता भन्छिन्, “अनलाइनबाट भर्न मिल्छ भन्ने थाहा भएर पनि साइबरबाट नै भर्यौं । साइबरबाट एक्कैछिनमा भयो ।”
यस्तै रिङ्की रजगोल पनि सञ्चय कोषमा केवाईसी विवरण अद्यावधिकका लागि पुगिन् । यसका लागि उनलाई पनि कोषको भवनको पछाडिपट्टि रहेको साइबर नै ठीक लाग्यो ।
उनी भन्छिन्, “पहिला फारम भर्नुपर्दा घरमा बाबा वा अरू कसैले नै भरिदिनुहुन्थ्यो । अहिले आफैंले फारम भर्न भन्दा साइबरमा नै भर्न सजिलो लाग्यो । उनीहरूलाई कसरी भर्ने भनेर राम्रोसँग थाहा छ। पैसा तिरेर भरेँ।”
यस्तै श्रीमतीको सञ्चय कोषको लागि केवाईसी अद्यावधिक गर्नका लागि सञ्जिव तामाङ ठमेलस्थित कर्मचारी सञ्चय कोष पुगे । अनलाइनमार्फत केवाईसीको फारम भर्नुपर्छ भन्ने थाहा पाएपछि उनी साइबरको खोजीमा लागे । उनले अनलाइनबाट आफैंले पनि फारम भर्न सकिन्छ भन्ने थाहा पाएपछि त्यसको बारेमा बुझे । तर, हतारको समयमा साइबरमा रकम बुझाएर केवाईसी फारम भर्न ठीक ठाने ।
केवाईसी फारम भरेर पाएको सबमिसन नम्बरको प्रमाणित विवरण प्रिन्ट गरेर र नागरिकता लिएपछि केवाईसीका लागि बायोमेट्रिक बुझाउन लाइन बस्नुपर्ने हुन्छ । अनलाइनमार्फत फारम भरेमा भने धेरै समय र पैसा खर्च नलाग्ने अनलाइनबाट नै फारम भरेका दीपक खत्री बताउँछन् ।
बुधबार सञ्चय कोषमा बायोमेट्रिकका लागि पुगेको उनले भने, “मैले अनलाइनबाट नै फारम भरेको थिएँ । अरू कागजपत्र पनि ल्याएपछि बायोमेट्रिकको लागि टोकन लिएँ ।”
कर्मचारी सञ्चय कोषमा केवाईसी अद्यावधिक गर्नका लागि कोषको वेबसाइटमा गएर फारम भर्न सकिन्छ । यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
कर्मचारी सञ्चय कोष परिचयपत्र नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, बैंक विवरण, व्यक्तिगत विवरण उपलब्ध गराएर केवाईसी फारम सबमिट गर्नुपर्छ । यसपछि पाएको सबमिसन नम्बर डाउनलोड गरेर प्रिन्ट गर्नुपर्छ ।
त्यसपछि कोषको कार्यालयमा गएर नागरिकताको प्रतिलिपि, बैंकको नाम र खाता नम्बरसहितको बैंकको विवरण, प्यान नम्बरसहितको विवरण र प्यानमा दर्ता गरिएको मोबाइल नम्बर, केवाईसी अद्यावधिकका लागि अनुरोध पत्रसहित बायोमेट्रिक विवरण बुझाउनु पर्छ । यसरी कार्यालयबाट बायोमेट्रिकका लागि विवरण लिइन्छ र केवाईसी अद्यावधिक गराइन्छ ।
सरकारी तथा निजी कम्पनीमा कार्यरत कर्मचारीहरू कर्मचारी सञ्चय कोषमा सामेल हुने गर्छन् । सञ्चय कोषमा सूचीकृत हुन, परिचयपत्र र परिचयपत्र नम्बर पाउनका लागि केवाईसी अध्यावधिक गराउनुपर्छ । यसका लागि सबैभन्दा पहिला केवाईसी फारम भर्नुपर्ने हुन्छ ।
सञ्चय कोषका लागि केवाईसी फारम भर्ने काम विसं २०७६ बाट नै अनलाइनका माध्यमबाट सुरु भएको थियो ।
अनलाइन फारम भर्नलाई समय धेरै नलाग्ने भएपनि साइबरमा शुल्क भने महँगो भएको सेवाग्राहीहरू गुनासो गर्छन् । “केवाईसी फारम भरेको लैनचौरमा २५० रूपैयाँ भनेको थियो । यहाँ १५० रूपैयाँमा भर्यौँ,” बिनिताले सुनाइन् ।
सञ्चय कोष आसपासका क्षेत्रमा ह्वाट्सएप, भाइबर र ईमेलबाट पठाइएका विवरण प्रिन्ट गरेको मात्र २० रूपैयाँ लिइन्छ । यस्तै केवाईसी विवरण भरेको १५० रूपैयाँ लिइन्छ । राष्ट्रिय परिचयपत्र र प्यान कार्डका लागि अनलाइन फारम भरेको २५० रूपैयाँ लिइने भन्दै साइबर बाहिर नै विवरण टाँसिएका छन् ।
कर्मचारी सञ्चय कोष, ठमेलका प्रबन्धक डिल्लीप्रसाद अधिकारी साइबरले लिने शुल्कमा कोषले हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । “कोषको केही कोठाहरू टेन्डर गरेर चार पाँचवर्ष पहिलादेखि भाडामा दिइएको छ । सरकारी कार्यालय नजिक साइबर राख्नु सामान्य कुरा नै हो । हामीले साइबरमा नै गएर फारम भर्न भन्दैनौँ ।”
अनलाइनबाट नै फारम भर्न सहज बनाउन कसरी प्रयोग गर्ने भनेर पनि जानकारी गराएको उनी बताउँछन् । कर्मचारी सञ्चय कोषको वेबसाइटमा विभिन्न जिज्ञासाको जवाफ उपलब्ध गराइएको उनले जानकारी दिए ।
अधिकारी भन्छन्, “अनलाइनबाट फारम भर्न खासै मानिसहरूले खोज्दैन । युवाहरूका लागि अनलाइनमा गएर फारम भर्न समस्या हुन नपर्ने हो । तर पुरानो पुस्तालाई भने अनलाइनबाट काम गर्नु भनेको हाउगुजी जस्तो भएको छ । कोसिस गर्यो भने यो ठूलो कुरा भने होइन ।” अनलाइन फारम भर्न नजान्नेका लागि साइबरमार्फत सेवा उपलब्ध हुनु ठूलो राम्रै कुरा भएको उनी बताउँछन् ।
उनले भने, “अनलाइनमार्फत फारम भर्ने काम सुरु भएको पाँच वर्षभन्दा बढि भइसक्यो । अनलाइनमार्फत आफैंले गर्नसक्ने गरी आफूलाई अपडेट गर्ने बेला आएको छ ।”