close

जेमिनाईमा पनि विज्ञापन देखाउने तयारी गर्दै गुगल

टेकपाना टेकपाना

माघ २५, २०८१ १०:५९

जेमिनाईमा पनि विज्ञापन देखाउने तयारी गर्दै गुगल

 

काठमाडौं । गुगलले आफ्नो च्याटबट जेमिनाईमा पनि विज्ञापन राख्ने योजना बनाएको छ । सर्च इन्जिनको एआई ओभरभ्युमा विज्ञापन राख्न सुरु गरिसकेको गुगलले जेमिनाईमा पनि विज्ञापन देखाउने तयारी थालेको हो । एआई प्रविधिमा धेरै खर्च हुने भएकाले गुगलले विज्ञापनबाट आम्दानी गर्न खोजेको विश्लेषण गरिएको छ ।

गुगलका  सीईओ सुन्दर पिचाईले आगामी दिनमा जेमिनाईमा विज्ञापन समावेश गर्ने विषयमा कम्पनीले धेरै राम्रा उपाय सोचिरहेको बताएका छन् । तर प्रयोगकर्तालाई पहिलो प्राथमिकता दिने र सबैले प्रयोग गर्न सक्ने भएपछि मात्र विज्ञापन राखिने उनको भनाइ छ ।

“अहिलेका लागि हामी नि:शुल्क र सशुल्क सदस्यतामा केन्द्रित छौं । तर गुगलमा समयसँगै तपाईँले देखे जस्तै, हामी सधैँ प्रयोगकर्ता अनुभवलाई ध्यानमा राख्छौं । विज्ञापनको अवधारणालाई लिएर हामीसँग धेरै राम्रा विचारहरू छन् । तर तपाईंले हामीलाई प्रयोगकर्ता अनुभवलाई प्राथमिकता दिएको पाउनुहुनेछ,” हालै अल्फाबेटको इन्भेस्टर्स कलमा पिचाईले भने ।

हाल निःशुल्क र सशुल्क दुवै प्रकारका सदस्यले जेमिनाई प्रयोग गर्दा कहीँ पनि विज्ञापन हेर्नु पर्दैन । हालै, अल्फाबेटको इन्भेस्टर्स कलमा पिचाईले गुगलको जेमिनाई एआई असिस्टेन्टका लागि आम्दानीको रणनीतिमा परिवर्तन हुनसक्ने सङ्केत गरे ।

आफ्ना प्रडक्ट अरबौं प्रयोगकर्तामाझ पुर्‍याउन प्रतिबद्ध भएको भन्दै उनले त्यसलाई निरन्तरता दिन विज्ञापन महत्त्वपूर्ण पक्ष भएको भनाइ राखे । 

एआई ओभरभ्युका विज्ञापनबाट परम्परागत गुगल सर्चकै जति आम्दानी भइरहेको पिचाईको भनाइ छ । “हामीले यसलाई सजिलै पहुँचयोग्य बनाएका छौं । उदाहरणका लागि, आईओएसमा एउटा डेडिकेटेड एपमार्फत ल्याएका छौं, जसलाई धेरै सकारात्मक रूपमा लिइएको छ । र निश्चित रूपमा धेरै आकर्षण पाइरहेको छ । त्यसैले यस प्रडक्टलाई बाहिर राखेर मौलिक रूपमा वृद्धि गर्ने अभियान अगाडि बढाइरहेका छौं ।”

पिचाईले चिनियाँ एआई प्रविधि डिपसिकले लागत, समय र क्षमतामा सुधार हुने कुरालाई प्रमाणित गरेको बताए । उनले जेमिनाई २.० फ्ल्यास र फ्ल्यास थिङ्किङ मोडेलहरू डिपसिकको तुलनामा पनि धेरै प्रभावकारी भएको दाबी गरे । एजेन्टिक एआईले गुगल सर्चलाई असर गर्छ कि भन्ने प्रश्नमा पिचाईले यसले बजारलाई अझै विस्तार गर्ने धारणा राखे । 

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ १०:५९