काठमाडौं । नेपालको नागरिक एप र भारतको आधार कार्डलाई अन्तरआबद्ध (इन्टरअपरेबल) गराउने विषयमा अध्ययन सुरु भएको छ । दुई देशका नागरिकलाई पहिचान र सार्वजनिक सेवा प्राप्तिमा थप सहजता प्रदान गर्ने उद्देश्यले यी प्रणालीलाई एक-अर्कामा जोड्ने विषयमा अध्ययन थालिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अध्ययनको क्रममा दुवै प्रणालीको प्राविधिक पक्षको विश्लेषण गर्दै अन्तरआबद्धताको सम्भावना परीक्षण गरिनेछ । दुई देशका नागरिकलाई कुन-कुन सेवामा पहुँच प्राप्त हुन्छ भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै एक कार्यक्रममा नागरिक एप र भारतको आधार कार्ड एकीकृत गर्ने सम्भावनाबारे छलफल भइरहेको बताएका थिए । उनले दुवै देशका नागरिकहरूको आवागमनलाई सहज बनाउन यो विषयमा प्रयास भइरहेको उल्लेख गरे ।
नागरिक एपका एक अधिकारीले नागरिक एप र आधार कार्डलाई एकीकृत गर्दा नेपाल र भारतका नागरिकलाई एक-अर्काको देशमा आवतजावत सहज हुनसक्ने बताए । “यो प्रणाली लागू भए डिजिटल प्रणालीबाटै धेरै काम हुन्छ । यहाँका नागरिक भारतमा जाँदा नागरिक एपको क्यूआर स्क्यान गरेर सेवा लिन सक्ने अवस्था रहन्छ,” उनले भने ।