close

सामसङ ग्यालेक्सी एस२६ मा ७००० एमएएचको ब्याट्री हुने !

टेकपाना टेकपाना

माघ २९, २०८१ १२:५७

सामसङ ग्यालेक्सी एस२६ मा ७००० एमएएचको ब्याट्री हुने !

काठमाडौं । सामसङले आफ्नो आगामी ग्यालेक्सी एस२६ सिरिज स्मार्टफोनमा ब्याट्री क्षमता बढाउने तयारी गरेको छ । कोरियन मिडिया एफएन न्युज अनुसार, कम्पनीले यो सिरिजमा सिलिकन-कार्बन प्रविधि अपनाउने सम्भावना छ । यसले गर्दा फोनको ब्याट्री क्षमता ७००० एमएएचसम्म पुग्न सक्छ ।

नयाँ प्रविधिले ब्याट्रीको क्याथोड मटेरियलमा ग्रेफाइटको सट्टा सिलिकन प्रयोग गर्नेछ, जसले ऊर्जा भण्डारण क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने बताइएको छ । तर, उत्पादन लागत उच्च हुने डरका कारण यसअघि सामसङ यो प्रविधि प्रयोग गर्न हिचकिचाइरहेको थियो । ​साओमी, भिभो, वनप्लस जस्ता चिनियाँ ब्रान्डहरूले यस प्रविधिलाई आफ्ना फ्ल्यागशिप स्मार्टफोनमा प्रयोग गरिसकेका कारण अब सामसङ पनि प्रतिस्पर्धामा सहभागी हुन चाहन्छ ।

यद्यपि, सामसङले सिलिकन-कार्बन ब्याट्री प्रविधि अपनाउन केही सावधानी अपनाउने छ । चिनियाँ प्रतिस्पर्धीहरूभन्दा धेरै युनिट उत्पादन गर्ने भएकाले यदि कुनै समस्या आएमा व्यापक असर पर्न सक्छ । यही कारण कम्पनीले वर्षौंदेखि २५ वाट र ४५ वाट चार्जिङ रेट कायम राखेको छ ।

सामसङले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस२५ अल्ट्रा मा ५,००० एमएएच ब्याट्री र ४५ वाट चार्जिङ दिइएको छ, जुन ग्यालेक्सी एस२० अल्ट्रा (पाँच वर्ष पुरानो मोडल) मा जस्तै हो । त्यस्तै, ग्यालेक्सी एस२५ मा ४,००० एमएएच ब्याट्री र २५ वाट चार्जिङ क्षमता छ, जुन २०२० को मोडलजस्तै हो । तर, ग्यालेक्सी एस२५ प्लसमा ब्याट्री क्षमतामा केही सुधार गरिएको छ । तीन  ओटा फ्ल्यागशिप मोडेलमध्ये कम आकर्षक मानिए पनि यसमा ब्याट्री अपग्रेड गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८१ १३:८