close

बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा पर्‍यो  पूर्ण स्वचालित मोडमा गुडिरहेको टेस्ला साइबर ट्रक

टेकपाना टेकपाना

माघ ३०, २०८१ १४:४७

बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा पर्‍यो  पूर्ण स्वचालित मोडमा गुडिरहेको टेस्ला साइबर ट्रक

काठमाडौं । टेस्लाको पूर्ण स्वचालित (फुल सेल्फ ड्राइभिङ) प्रणालीमा चलिरहेको एउटा साइबरट्रक बिजुलीको पोलमा ठोक्किएको छ । यो घटनाको अनुभव चालकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

सफ्टवेयर डेभलपर जोनाथन चालिन्जरले आफ्नो साइबरट्रक एफएसडी मोडमा चलाउँदै गर्दा पोलमा ठोक्किएको जानकारी दिएका हुन् । उनले एक्समा एउटा पोस्ट गर्दै दुर्घटनाको बारेमा बताएका छन् । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

चालिन्जरका अनुसार उनी १३.२.४ संस्करणको एफएसडी प्रयोग गरेर दायाँ लेनमा गइरहेका थिए । केही पर पुगेर उक्त लेन बायाँ लेनमा मिसिन्थ्यो । तर कार सडकअनुसार बायाँ लेनमा जान सकेन । कार सिधै गएर ठोक्किन लागेको समयमा आफूले पनि समयमा प्रतिक्रिया दिन नसकेको उनले बताएका छन् । कारलाई नियन्त्रणमा लिन असफल भएको उनको भनाइ छ ।

“गाडी गाभिन असफल भयो (मेरो बायाँतर्फ कुनै सवारी थिएन) र कर्बमा ठोक्किन लाग्दा पनि कारको ब्रेक लगाउने वा मोड्ने कुनै प्रयास गरेन,” उनले भनेका छन् । त्यसपछि साइबरट्रक एउटा बिजुलीको पोलमा ठोक्कियो । भाग्यवश उनलाई भने कुनै चोटपटक लागेन ।

उक्त पोल भएको स्थान अस्वाभाविक देखिएको थियो । तर टेस्लाको पूर्ण स्वचालित प्रणालीले सडकको लेन परिवर्तन गर्नुपर्ने थियो । यदि त्यसमा पनि नियन्त्रण गर्न नसकेपछि पोलमा ठोक्किनबाट रोक्नुपर्थ्यो । चालिन्जरले टेस्लाको एफएसडीलाई अत्यधिक विश्वास नगर्न र प्रयोगका क्रममा सचेत रहन आग्रह गर्दै आफ्नो अनुभव साझा गरेका हुन् ।

उनले भनेका छन्, “वास्तवमा यो मेरो तर्फबाट पनि ठूलो गल्ती हो । मेरो जस्तो गल्ती नगर्नुहोस् । यस्तो पनि हुन सक्ने भएकाले ध्यान दिनुहोस् । म टेस्ला र एफएसडीलाई नजिकबाट पछ्याउने गर्छु । तर भी १३ मा कुनै दुर्घटनाको समाचार सुनेको थिइनँ । त्यसैले यसलाई सजिलै विश्वास गरेँ तर तपाईंहरू यस्तो नगर्नुहोस् ।”

यो सम्भवतः टेस्लाको एफएसडी भी १३ मा भएको पहिलो दुर्घटना मानिएको छ । यस संस्करणका कारलाई एलन मस्कले ‘माइन्ड ब्लोइङ’ भएको बताएका थिए । यस वर्षको अन्त्यसम्म बिना निगरानी पूर्ण स्वचालित ड्राइभिङ गर्न सकिने एड्भान्स ड्राइभिङ असिस्टेन्ट (एडीएएस) विकास गरिने उनले बताएका थिए । यसका लागि FSD V13 कार ठूलो उपलब्धि भएको उनले बताएका थिए ।

मस्क र टेस्लाका समर्थकहरूले बारम्बार एफएसडी पूर्ण स्वचालित ड्राइभिङको नजिक रहेको दाबी गर्दै आएका छन् । उपलब्ध तथ्यांकले भने टेस्ला पूर्ण स्वचालित ड्राइभिङ प्रणालीमा जान अझै वर्षौं लाग्ने देखाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ३०, २०८१ १४:४७