close

बेङ्गलुरुमा भेटिइन् ड्राइभ गर्दै ल्यापटप चलाइरहेकी महिला, पुलिसले भन्यो: वर्क फ्रम होम, नट कार

टेकपाना टेकपाना

फागुन १, २०८१ २३:०

बेङ्गलुरुमा भेटिइन् ड्राइभ गर्दै ल्यापटप चलाइरहेकी महिला, पुलिसले भन्यो: वर्क फ्रम होम, नट कार

काठमाडौं  । भारतको आईटी राजधानी बेङ्गलुरुमा अचम्मका दृश्यहरू देखिनु सामान्य जस्तै भएको छ । हालै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एक महिला गाडी चलाउँदै ल्यापटपमा काम गरिरहेको देखिन्छिन् । यो भिडिओले सुरक्षित ड्राइभिङ र यात्राबारे बहस सुरु गरेको छ । 

भिडिओमा महिला गाडी चलाउँदै ल्यापटपमा व्यस्त देखिन्छिन् । कसैले उनलाई आईटी कम्पनीमा काम गर्ने भएकोले हप्तामा ७० घण्टा काम गर्नुपर्ने बाध्यताले यस्तो गरेकी होलान् भनेर टिप्पणी गरेका छन् । कसैले ‘क्लाइन्टको फोन र मृत्यु जुनसुकै बेला आउन सक्छ’ भन्दै व्यङ्ग्य गरेका छन् । केहीले ‘घर र अफिसको कामको सन्तुलन मिलाउन गाह्रो छ’ भन्दै टिप्पणी गरेका छन् ।

भिडिओ भाइरल भएपछि बेङ्गलुरु ट्राफिक प्रहरीले आफ्नो आधिकारिक एक्स (ट्वीटर) अकाउन्टबाट प्रतिक्रिया दिएको छ । प्रहरीले लेखेको छ, ‘वर्क फ्रम होम, नट कार ह्वाइल ड्राइभिङ ।’ अर्थात् घरबाट काम गर्नुहोस्, गाडीबाट होइन । प्रहरीले ती महिलालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो घटनाले बेङ्गलुरुको व्यस्त जीवनशैली र कामको दबाबलाई पनि उजागर गरेको विश्लेषण गरिएको छ । धेरैले यसलाई कामको बोझ र समयको अभावका कारण मानिसहरू यस्ता जोखिमपूर्ण कार्य गर्न बाध्य भएको टिप्पणी गरेका छन् । तर प्रहरीले भने यस्ता गतिविधिलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । सडक सुरक्षा सबैभन्दा महत्त्वपूर्ण भएको र यस्ता लापरबाहीले दुर्घटना निम्त्याउन सक्ने प्रहरीको भनाइ छ । 

केही महिनाअघि पनि बेङ्गलुरुमा यस्तै भिडिओहरू भाइरल भएका थिए । एउटा भिडिओमा एक व्यक्ति सिनेमा हलभित्र ल्यापटपमा काम गरिरहेका थिए । अर्को भिडिओमा एक महिला मोटरसाइकलमा पछाडि बसेर ल्यापटपमा काम गरिरहेकी थिइन् । त्यसअघि पनि एउटा भिडिओ भाइरल भएको थियो, जसमा एक व्यक्ति जाममा फसेको बेला गाडी चलाउँदै ल्यापटपमा काम गरिरहेका थिए ।

यस्ता भिडिओले बेङ्गलुरुको कार्यसंस्कृतिलाई दर्शाएको भन्दै धेरैले हाँसो र चिन्ता मिश्रित प्रतिक्रिया दिएका छन् ।
 

पछिल्लो अध्यावधिक: फागुन १, २०८१ २३:६