काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (ट्वीटर) किनेपछि घृणाजन्य अभिव्यक्ति (हेट स्पिच) ५० प्रतिशतले बढेको छ । क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका अनुसन्धानकर्ताले गरेको नयाँ विश्लेषणले यस्तो तथ्य बाहिर ल्याएको हो ।
अध्ययन अनुसार मस्कले एक्स खरिद गरेदेखि सीईओ रहेको अवधि (जुन २०२३) सम्म ‘बट’ (स्वचालित अकाउन्ट) अकाउन्टको सङ्ख्यामा कमी आएको छैन । पीएलओएस वन (PLOS One) नामक जर्नलमा प्रकाशित यस अध्ययनले मस्कको कार्यकालमा घृणास्पद अभिव्यक्ति र बट अकाउन्टको प्रवृत्तिलाई औंल्याएको छ ।
अनुसन्धानकर्ताहरूले अङ्ग्रेजी भाषामा भएका घृणास्पद अभिव्यक्ति र एक्समा भएका शङ्कास्पद गतिविधिहरूको विश्लेषण गर्दा मस्कले एक्स किन्नुअघि नै घृणास्पद अभिव्यक्ति बढेको र त्यसपछिका महिनाहरूमा यो दर ५० प्रतिशतभन्दा बढी रहेको पाएका छन् ।
अध्ययनका लेखकहरूले भनेका छन्, “यो वृद्धि जातीय भेदभाव, होमोफोबिया (समलिङ्गी डर) र ट्रान्सफोबिया (लैङ्गिक पहिचानमाथि घृणा) लगायत घृणाका विभिन्न आयामहरूमा देखिएको छ ।” यस विश्लेषण पत्रले घृणास्पद सामग्रीमा संलग्नता बढेको पनि देखाएको छ । यस्ता पोस्टहरूमा ‘लाइक’ गर्नेको सङ्ख्या लगभग ७० प्रतिशतले वृद्धि भएको पाइएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्ममा शङ्कास्पद अकाउन्टको मापन गर्दा मस्कले एक्स किनेपछि त्यस्ता प्रयोगकर्ताहरूको गतिविधिमा कुनै कमी नआएको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा ठगी, निर्वाचनमा हस्तक्षेप र सार्वजनिक स्वास्थ्य अभियानमा क्षति पुग्न सक्ने जस्ता नकारात्मक परिणामहरू निम्त्याउन सक्ने खतरा औंल्याइएको छ ।
अध्ययनकर्ताले अनलाइन प्लेटफर्मको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै एक्समा कन्टेन्ट मोडरेसन बढाउन र सामाजिक सञ्जालमा हुने गतिविधि तथा संलग्नतामा थप अनुसन्धान गर्न आह्वान गरेका छन् । उनीहरूले भनेका छन्, “समग्रमा, घृणास्पद अभिव्यक्तिमा भएको दीर्घकालीन वृद्धि र शङ्कास्पद अकाउन्टको व्यापकता चिन्ताजनक छ । किनभने यी कारकहरूले सुरक्षित र डेमोक्रेटिक अनलाइन वातावरणलाई कमजोर बनाउन सक्छन् र अफलाइनमा हुने क्षतिको जोखिम बढाउन सक्छन् ।”
अगस्ट २०२३ मा जर्नल ट्रेन्ड्स इन इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययनले मस्कले एक्सको स्वामित्व लिएपछि वातावरणविद्हरूले यस प्लेटफर्मको प्रयोग लगभग आधाले घटाएको देखाएको थियो । पोमोना कलेज, अमेरिका लगायतका अनुसन्धानकर्ताले यो कमी संरक्षण समुदायको लागि ठूलो क्षति भएको बताएका छन् ।