काठमाडौं । भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादिया उर्फ ‘बियरबाइसेप्स’लाई त्यहाँको सर्वोच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । एक युट्युब कार्यक्रममा विवादास्पद टिप्पणी गरेको सम्बन्धमा महाराष्ट्र, असम र राजस्थानमा दर्ता भएका एफआईआरमा उनलाई पक्राउ नगर्न अदालतले आदेश दिएको हो ।
उनीविरुद्ध ‘इन्डियाज गट लेटेन्ट’ नामक कार्यक्रमको एक एपिसोडमा अश्लील र भल्गर टिप्पणी गरेको आरोप लागेको थियो । कमेडी शोमा अभिभावक र यौन सम्बन्धबारे गरिएको टिप्पणीलाई लिएर उनी विवादमा तानिएका थिए ।
न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहको इजलासले बियरबाइसेप्सले विभिन्न एफआईआरलाई एकै ठाउँमा राख्न र सुरक्षाको माग गर्दै अदालतमा निवेदन दिएपछि यो अन्तरिम आदेश जारी गरेको हो ।
आदेशअनुसार, ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रमको आधारमा युट्युबरविरुद्ध थप एफआईआर दर्ता गरिने छैन । अदालतले अल्लाहबादियाले गरेका टिप्पणीको कडा आलोचना गर्दै यस्तो व्यवहारको निन्दा गर्नुपर्ने उल्लेख गरेको छ । “तपाईंले छानेका शब्दहरू, आमाबाबुलाई लाज लाग्नेछ । छोरी र दिदीबहिनीहरूलाई लाज लाग्नेछ । सम्पूर्ण समाजलाई लाज लाग्नेछ । तपाईं र तपाईंका सहयोगीहरू कति हदसम्म गिर्नुभएको छ भन्ने यो उदाहरण हो,” अदालतले भनेको छ ।
कमेडियन समय रैनाले सञ्चालन गरेको उक्त युट्युब शोमा अल्लाहबादियाले एक प्रतियोगीलाई सोधेको प्रश्न विवादित बनेको थियो । उक्त टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
प्रयोगकर्ताहरूले कुनै चेतावनी बिना यस्तो अश्लील सामग्री प्रस्तुत गरेको भन्दै शोका निर्माताहरूको विरोध गरेका थिए । लेखक निलेश मिश्राले यस्ता सामग्रीले युवा दर्शकहरूलाई नकारात्मक असर पार्ने बताएका थिए भने कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले यसलाई ‘विकृत’ भनेकी थिइन् ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले अभिव्यक्ति स्वतन्त्रताले अरूको मर्यादामा आँच पुर्याउन नहुने भन्दै कारबाही हुनसक्ने सङ्केत गरेका थिए । कन्टेन्ट क्रियटर ध्रुव राठीले पनि यस्ता शोहरूलाई सामाजिक पतनको संज्ञा दिएका थिए ।
गुवाहाटी प्रहरीले समय रैना, रणवीर अल्लाहबादिया, आशीष चन्चलानी, जसप्रीत सिंह, अपूर्वा मखिजा लगायत शोका जजहरूविरुद्ध एफआईआर दर्ता गरेको थियो । उनीहरूमाथि अश्लीलता फैलाएको र यौनजन्य छलफलमा संलग्न भएको आरोप लगाइएको छ । मुम्बई प्रहरीले पनि शो रेकर्ड गरिएको स्टुडियोमा छापा मारेको थियो ।
आलोचनापछि रणवीर अल्लाहबादियाले माफी मागेका थिए र आफ्नो टिप्पणी अनुपयुक्त भएको स्वीकार गरेका थिए । उनले भविष्यमा यस्तो गल्ती नदोहोर्याउने वाचा गरेका थिए । तर, यस घटनापछि उनलाई सामाजिक सञ्जालमा अनफलो गर्ने अभियान नै चल्यो । पछिल्ला केही दिनयता युट्युबर बियरबाइसेप्स र उनको परिवारलाई मार्ने धम्की आइरहेको समाचार आएका थिए ।
यस्तै प्रकृतिको घटना नेपालमा पनि बाहिर आएको छ । कमेडियन सजन श्रेष्ठले एक पोडकास्टका क्रममा गायक कुमा सागरलाई होच्याएको भन्दै विरोध सुरु भएको छ । श्रेष्ठले नेवारी लवजमा गायक कुमा सागरलाई गिज्याएको भन्दै उनीसहित तीनजना विरुद्ध निवेदन दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले यस घटनामा अनुसन्धान भइरहेको जनाएका छन् ।