काठमाडौं । ‘कनेक्ट किसान’ अर्थात् व्यापारीलाई स्थानीय उत्पादन जुटाइदिने र किसानलाई बाली उत्पादनदेखि बिक्रीसम्म सघाउने एप । ६ महिना अघिदेखि सञ्चालनमा आएको यो एप क्रमशः अहिले गाउँका किसानहरूको सहारा बन्दै गएको छ ।
भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका किसानले उत्पादन गरेका सामग्री र ग्राहकलाई जोड्न सक्ने प्लेटफर्मको रूपमा कनेक्ट किसान तयार पारिएको संस्थापक सञ्जिता लामिछाने बताउँछिन् । काठमाडौंको बानेश्वरस्थित इन्फरमेसन केयर नामक आईटी कम्पनीले करिब डेढ वर्ष लगाएर यो एप सञ्चालनमा ल्याएको हो ।
लामिछाने भन्छिन्, “हाम्रो गाउँमा उत्पादन हुने वस्तुले बजार पाउन सकेको छैन, यहाँको बजार भारतबाट हुने आयातमा निर्भर छ । यदि गाउँमा उत्पादित वस्तु बजारमा सहजै आउने हो भने किसानहरू पनि उत्पादन गर्न प्रेरित हुने देखेर हामी अनलाइनमार्फत बजार खोजीदिन आएका हौँ । ”
कतिपय अवस्थामा आवश्यक ज्ञानको कमी भएका कारण किसानहरूले घाटा ब्यहोरिरहेको कम्पनीका अर्का सह-संस्थापक तथा निर्देशक राजन दाहाल बताउँछन् । उनी भन्छन्, “जुम्लामा उत्पादन भएको बन्दा बेच्न सुर्खेत लैजाँदा एक तिहाई जति बाटोमै काम नलाग्ने भएर खेर फाल्नु परेको मैले प्रत्यक्ष देखेको छु । बाटो खराब भएका कारण त्यहाँ पुग्दा धेरै बन्दा बिग्रिएको थियो ” । तर यदि किसानलाई तरकारी बजार पुर्याउने क्रममा कसरी प्याकेजिङ गर्ने भन्ने विषयमा जानकारी भएमा त्यस्तो नोक्सानी कम गर्न सकिने उनी बताउँछन् ।
“यदि किसानलाई सही प्याकेजिङ गर्ने तरिका थाहा भएको भए ५% जति बन्दा पनि खेर जाने थिएन,” दाहाल भन्छन् । कनेक्ट किसानले यस्ता समस्या समाधान गर्ने किसिमका काम पनि गर्ने उनले जानकारी दिए ।
कनेक्ट किसान एप डाउनलोड गरेर किसान यस प्लेटफर्ममा जोडिन सक्छन् । एपमा जोडिँदा त्यसमा आफू बसोबास गर्ने ठेगाना खुलाएर आवश्यक विवरण उपलब्ध गराउनुपर्छ । त्यसपछि आफ्नो गाउँपालिका वा नगरपालिकाले जारी गरेका कृषिसँग सम्बन्धित सूचनाको नोटिफिकेसन सिधै मोबाइलमा आउँछ ।
उनी भन्छिन्, “गाउँपालिका वा नगरपालिकाले के के सूचना राखे भनेर वेबसाइटमा गएर सूचना खोजेर हेर्न झन्झट हुन्छ । हाम्रो एप डाउनलोड गरेपछि आफ्नो पालिकाको कृषिसँग सम्बन्धित सूचना मोबाइलमा नै नटिफिकेसनको रूपमा आउँछ ।”
तर नेपालका सबै किसान मोबाइलमा आएका सूचना पढ्न सक्षम नहुन सक्छन् । डिजिटल साक्षरताको कमीले कनेक्ट किसान एप प्रभावकारी नहुने पो हो की भन्ने जिज्ञासामा निर्देशक दाहालले यो ठुलो समस्या नभएको बताए । उनी भन्छन्, “नेपालको डेटा हेर्दा स्मार्टफोन चलाउने लगभग ८५% छन् । इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि धेरै नै छ । सबै जना सूचनाहरू हेर्न र पढेर बुझ्न नसक्ने हुन सक्नु हुन्छ । तर, छोराछोरी नातिनातिनालाई पनि सूचना हेर्न लगाउन सक्नुहुन्छ ।” उनी सूचना हेर्न जान्नुभन्दा पहिला यस प्लेटफर्मको महत्त्व बुझाउन आवश्यक रहेको बताउँछन् ।
यसका लागि गाउँ-गाउँमा रहेका कृषक समूह र कृषि सहकारीसँग समन्वय गरेर किसानसँग जोडिने योजना कनेक्ट किसानले बनाएको छ । उनले थपे, “कृषक समूहमा लगभग २० देखि २५ जना सदस्य सहभागी हुन्छन् । ती मध्ये राम्रोसँग स्मार्टफोन प्रयोग गर्न सक्ने दुई चार जना त अवश्य पनि हुन्छन् । उहाँहरूले अरूलाई जानकारी उपलब्ध गराउन सक्नुहुन्छ ।”
किसानले कृषि बाली लगाउने क्रममा केही समस्या देखिए कनेक्ट किसानलाई सम्पर्क गरेर सिधै समस्या राख्न सक्छन् । यसका लागि हाल दुई जना कृषि विशेषज्ञ पूर्णकालीन रूपमा राखिएका छन् । यदि कनेक्ट किसानमा कार्यरत विशेषज्ञले समस्या समाधान गर्न नसकेमा विभिन्न कृषि सम्बन्धी कार्यालयमा कार्यरत विशेषज्ञहरूसँग समेत परामर्श लिन सकिने गरी सहकार्य गरिएको छ ।
दाहाल भन्छन्, “सबैभन्दा पहिला यहाँ हामीसँग हुनुभएका विशेषज्ञले किसानका समस्या समाधानको प्रयास गर्नुहुन्छ । यदि थप जानकारी वा सहायता चाहियो भने अन्य विशेषज्ञहरूसँग पनि परामर्श लिन सक्ने गरी आवश्यक व्यवस्था मिलाएका छौँ ।”
यो प्लेटफर्मले स्थानीय तहसँग मिलेर काम गर्ने प्रमुख कार्यकारी अध्यक्ष लामिछाने बताउँछिन् । उनका अनुसार नेपालमा किसानहरू शुल्क तिरेर कृषि सम्बन्धी परामर्श वा अन्य कुनै पनि किसिमका सुविधा लिन सक्ने अवस्थामा पुगिसकेका छैनन् ।
उनी भन्छिन्, “त्यसैले हामी स्थानीय तहसँग सहकार्य गरेर काम गर्छौँ । नगरपालिकाले निश्चित शुल्क तिरेर हाम्रो सेवा लिन सक्नुहुन्छ । त्यसपछि त्यहाँका किसानले बालीमा आएका समस्या, उत्पादन गर्ने तरिका, बजार व्यवस्थापन लगायतका सेवा लिन अतिरिक्त पैसा तिर्नु पर्दैन ।”
यदि कुनै स्थानीय तहले कनेक्ट किसानको सेवा लिएपछि त्यस नगरपालिका वा गाउँपालिकाका सबै किसानहरूले कनेक्ट किसानले उपलब्ध गराउने सम्पूर्ण सेवा नि:शुल्क पाउँछन् । तर, स्थानीय तहले पहिला नै किसानलाई यस प्लेटफर्मको बारेमा बुझाउनु पर्ने उनी बताउँछिन् । “हामी अनलाइनमार्फत काम गर्छौँ । त्यसैले सुरुमा यसले कसरी काम गर्छ भनेर किसानलाई जानकारी गराउन अभिमुखीकरण तालिम सञ्चालन गरेर बुझाउनुपर्छ ,” उनी भन्छिन् ।
हाल नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको गजुरी गाउँपालिका, गोरखाको भीमसेनथापा गाउँपालिका, बाराको फेटा गाउँपालिका, पाँचथरको फिदिम नगरपालिका र पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका गरि ६ स्थानीय तहले कनेक्ट किसानको सेवा लिएका छन् ।
यस्तै ३० ओटा पालिकासँग सहकार्य गर्नका लागि कुराकानी अघि बढिसकेको उनले जानकारी दिइन् । गोरखाको भीमसेनथापा गाउँपालिकामा उत्पादन हुने पाँच किसिमका बालीको बिक्री तथा बजार व्यवस्थापनको जिम्मा कनेक्ट किसानले लिएको छ । जसमा कफी, बेसार, अदुवा, अमला, कोदो र फापर रहेका छन् ।
यस्तै बेलकोटगढी नगरपालिकासँग त्यहाँ उत्पादन भएका कफी, बेसार र अकबरे खोर्सानीको बजार व्यवस्थापनको लागि सहकार्य अघि बढेको उनले बताइन् । उत्पादन हुनुभन्दा पहिले नै बजार खोजी दिने कनेक्ट किसानले बालीनाली उत्पादन हुँदा देखि नै किसानहरूलाई आफ्नो प्लेटफर्ममार्फत बालीनालीको बारेमा जानकारी गराउँछ । सम्भावित रोगबाट कसरी जोगाउने र बालीको स्याहार कसरी गर्ने भनेर किसानहरूले एपबाटै जानकारी पाउँछन् ।
किसानको खेतबारीमा उत्पादन भइरहेका बाली भित्र्याउनुभन्दा पहिला नै बजार निश्चित गरिदिने काम कनेक्ट किसानले गर्दै आएको निर्देशक दाहालले बताए । उनका अनुसार किसानहरूले बाली कति समयपछि बिक्री गर्न तयार हुन्छ र कति परिमाणमा बिक्री गर्ने हो भनेर जानकारी दिँदै एपमा पोस्ट गर्छन् । त्यसपछि उक्त कृषि उपज खरिद गर्ने ग्राहकको खोजी गरिन्छ ।
यस्तै यस प्लेटफर्ममार्फत सामान किन्ने उपभोक्ताले “कहाँ र कसले उत्पादन गरेको सामग्री खरिद गर्दैछु” भनेर पनि जानकारी पाउन सक्ने गरि विवरण उपलब्ध गराइन्छ । “दुई चार किलो सामान बेच्नलाई प्याकेजिङको समस्या भएकाले हामीले खुद्रा बिक्री सुरु गरेका छैनौँ । अलि ठुलो परिमाणमा खरिद गर्न सक्ने पसल वा व्यवसायीलाई मात्र बेच्छौँ,” उनले भने ।
कृषि उत्पादन र त्यसलाई खरीद गर्ने ग्राहक दुबैको टुङ्गो लागिसकेपछि कनेक्ट किसानले ‘कति मूल्यमा खरिद बिक्री गर्ने’ भनेर मूल्य निर्धारणका लागि सम्झौता गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्छ।
उनी भन्छन्, “अहिले किसानले १० रुपैयाँ भाउ पाउनुपर्ने तरकारी छ भने त्यसको आधा मूल्यमा बेच्नुपरेको छ। किसानले कम्तीमा बजार मूल्य १० रुपैयाँ नै पाउन सकुन् भन्ने हाम्रो लक्ष्य हो ।” किसानलाई अधिकतम बजार मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक सामग्री उपलब्ध गराउने उद्देश्यका साथ आफूहरूले काम गरिरहेको उनले बताए ।
प्लेटफर्मले किसानले उत्पादन गरेका कृषि उपज काठमाडौँ ल्याउनुभन्दा नजिकैको बजारमा खपत हुने गरी उपभोक्ताको खोजी गर्छ । दाहालले भने, “बझाङमा उत्पाद भएका उपज काठमाडौँभन्दा धनगढीमा बेच्न सकेको खण्डमा ढुवानी खर्च कम लाग्छ र किसानले पनि राम्रो मूल्य पाउन सक्छन् । त्यसैले हामीले सकेसम्म नजिकैको बजार खोज्छौँ ।”
ग्रामीण भेगमा भौगोलिक विकटताका कारण ढुवानीमा समस्या हुने गर्छ । तर कतिपय स्थानमा वडा वडामा कृषि सङ्कलन केन्द्र स्थापना भएको उनले सुनाए ।
कनेक्ट किसानले पालिकासँग मिलेर काम गर्ने भएकाले केही सामान बेच्नुपर्यो भने वडासँग समन्वय गरेर बेच्न सकिने उनले बताए । उनले भने “कृषकले आफ्ना सामान वडाका कृषि सङ्कलन केन्द्रमा पठाउन सक्छन् । त्यसलाई गाउँपालिकाले सङ्कलन केन्द्रमा लगेर भण्डार गर्छ । पछि त्यहीँ पुगेर उपभोक्ताले सामग्री लैजान सक्छन् ।”
तर उत्पादित सामग्रीलाई प्रशोधन गर्ने मसिन लगायतका पूर्वाधार सङ्कलन केन्द्रमा अभाव रहेको उनले बताए । “घर घरमै किसानलाई सामानको प्याकेजिङ गर्न धेरै खर्चिलो हुन्छ । तर सङ्कलन केन्द्रमा पूर्वाधार राम्रो भयो भने त्यहाँ प्याकेजिङ गरेर उपभोक्तासम्म राम्रो उत्पादन पुर्याउन सकिन्छ । तर गाउँपालिकाहरूमा यस्ता पूर्वाधार पुगिसकेका छैनन्,” उनले भने ।
उत्पादनपछिको व्यवस्थापनका लागि कोल्ड स्टोर, ड्राइङ मसिन र वाशिङ सेन्टर लगायतका पूर्वाधार सङ्कलन केन्द्रमै भएमा सफा र राम्रो सामान बेच्न सहज हुने उनले सुनाए । हाल कनेक्ट किसानले लामो समयसम्म भण्डारण गर्न सकिने किसिमका कृषि उपजको बजारीकरणमा आफूलाई केन्द्रित गरेको छ । पशुजन्य सामग्री र तरकारी बिक्री गर्ने योजना समेत रहेको उनले सुनाए । उनी भन्छन्, “हाम्रो व्यवस्थापनि प्रणाली सहज भएपछि बिस्तारै तरकारी र पशुजन्य सामग्रीको पनि बजार व्यवस्थापनको काम थाल्छौँ ।”
कनेक्ट किसान एपमा विभिन्न बालीमा लाग्ने रोग-किरा बारेमा जानकारी पाउन सकिने व्यवस्था मिलाइएको छ । यस्तै किसानहरूलाई आवश्यक पर्ने विभिन्न किसिमका कृषि उपकरण पनि यहीँबाट खरिद गर्न सकिन्छ।
कृषि उपजको बजार मूल्य, बालीनाली कुन समयमा के लगाउने भनेर जानकारी दिने बाली पात्रो र माटो सम्बन्धी जानकारी पनि यसबाट पाउन सकिन्छ । यस्तै यसमा जोडिएका पालिकाको कृषिसँग सम्बन्धित सूचना र जानकारी लिन सकिन्छ ।
यसमा किसानहरूले आफ्ना सामान बिक्रीका लागि राख्न सक्छन् । त्यसपछि उपभोक्ताले ती सामग्री खरिदका लागि बुकिङ तथा अर्डर दिन सक्छन् ।