close

औपचारिक शिक्षा बिनै डेटा साइन्टिस्ट बनेका क्षितिज रिमाल, एसियामै नौलो एआई टुल बनाउँदै

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन २८, २०८१ १३:२७

औपचारिक शिक्षा बिनै डेटा साइन्टिस्ट बनेका क्षितिज रिमाल, एसियामै नौलो एआई टुल बनाउँदै

काठमाडौं । बाल्यकालमा सबैभन्दा प्यारो लाग्ने ठाउँ मामाघर नै हो । यसै पनि मामाघरको माया विशेष हुन्छ । यदि मामा-माइजूले इच्छा बुझेर सहयोग गरिदिए भने भान्जाभान्जीका लागि मामाघर स्वर्ग जस्तै बन्छ । नेपाली एआई कम्पनी नेक्स्ट एआई (Next AI) का संस्थापक क्षितिज रिमालका लागि पनि मामाघर यस्तै विशेष थियो ।

क्षितिजको घर काठमाडौंको शान्तिनगरमा भए पनि उनको बाल्यकाल भने जोरपाटीमा रहेको मामाघरमा धेरै बित्यो । खासगरी मामाघरमा कम्प्युटर चलाउन पाउने भएपछि उनी धेरैजसो समय त्यहीँ बस्न थाले । यसरी मामाघरमा कम्प्युटर चलाउने रिमाल ‘ब्रेन्ली’ (Brainly) नामक कम्पनीमा वरिष्ठ डेटा साइन्टिस्टको रूपमा काम गरे । मसिन लर्निङमा गुगल डेभलपर एक्सपर्टसमेत रहेका उनी हाल नेपालमा आफ्नै एआई कम्पनी सञ्चालन गरिरहेका छन् ।

प्रविधिको जग बसालिदिने बाल्यकाल !

बाल्यकालमै कम्प्युटरसँग साक्षात्कार गर्ने मौका पाएकोमा रिमाल आफूलाई भाग्यमानी ठान्छन् । १४ फेब्रुअरी १९९१ मा काठमाडौं जन्मिएका उनले बाल्यकालको फुर्सदिलो समय मामाघरमा बिताउने मौका पाए । खासमा उनको मामाघरमा रहेको पेन्टियम थ्री कम्प्युटर उनको जीवनमा एउटा नयाँ मोड ल्याउने माध्यम बन्यो । 

प्राविधिक रूपमा सबल मामाले फोटोशपमा फोटो एडिट गरेको देखेर उनी कम्प्युटरतिर आकर्षित भए । त्यसबेला ‘फ्ल्यास’ नामक एनिमेसन सफ्टवेयर पनि निकै लोकप्रिय थियो, जसले उनको रुचि कम्प्युटर र त्यसभित्र भएको सफ्टवेयरतर्फ जगायो । 

एनिमेसन, ग्राफिक डिजाइन र फोटोशपमा दक्षता हासिल गर्न उनले इन्टरनेटमा गुगल र याहु जस्ता सर्च इन्जिनको प्रयोग गरे । विभिन्न फोरमहरूमा सहभागी भए र ज्ञानको भोक मेटाए । मामाको सङ्गतले कम्प्युटरमा काम लाग्ने सीप सिकिरहेकाले रिमाललाई परिवारबाट पनि त्यस्तो केही दबाब आएन । उनलाई परिवारले खुला रूपमा त्यहाँ कम्प्युटरमा आफूलाई काम लाग्ने सीप सिक्ने बाटो खाली गरिदिएका थिए । यसरी उनको बाल्यकाल कम्प्युटरकै सङ्गतमा बित्यो । 

एसएलसीसम्म आइपुग्दा उनमा वेब डेभलपमेन्टमा लाग्ने र आफ्नै वेबसाइट बनाउने एउटा बलियो अठोट जन्मिसकेको थियो । शिक्षाको औपचारिक मार्गमा क्षितिजले सिद्धार्थ वनस्थली, बालजुबाट एसएलसी उत्तीर्ण गरे भने भीएस निकेतनबाट प्लस टु । अनि एडभान्स इन्जिनियरिङ कलेजमा इन्जिनियरिङमा भर्ना भए ।​

पढाइलाई समय नदिएपछि ब्याक लाग्न थाल्यो । आफ्नो रुचिको क्षेत्र भिन्नै थियो । पढाइ सकिए पनि पूरा गरिनँ । म आउटसोर्सिङ काम गर्ने भएकाले त्यता लाग्न पाइएन । 

इन्जिनियरिङको पढाइ र प्रविधिको रुचि बिचको जुहारी !

सन् २००९ मा उनी कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न एड्भान्स्ड इन्जिनियरिङ कलेजमा भर्ना भए । कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने भए पनि उनीसँग ल्यापटप थिएन । त्यसैले उनले मामालाई अनुरोध गरे । “खर्च धेरै भइसकेकाले कम्प्युटर किन्न सक्ने हाम्रो परिवारको अवस्था थिएन,” उनी सम्झिन्छन्, “मामा स्विडेनमा हुनुहुन्थ्यो । मामालाई रिक्वेस्ट गरेपछि उहाँले विदेशबाटै ल्यापटप पठाइदिनु भयो ।”

सुरुवाती दिनमा पढाइ राम्रै थियो । तर, उनको रुचि हरेक दिन नयाँ नयाँ क्षेत्र अन्वेषण गर्ने थियो । यता आफ्नै व्यक्तिगत ल्यापटप थियो । त्यसैले खोज तथा अनुसन्धान गर्न उनलाई त्यति समस्या थिएन । त्यसैले पनि औपचारिक पढाइतर्फको उनको आकर्षण घट्न थाल्यो । त्यही अध्ययनका क्रममा रिमालले सुरज लामालाई भेट । यो नाम याद गर्नुहोला । उनै लामाका कारण रिमालले एआई क्षेत्रमा हाम फालेका थिए । 

भन्छन्, “पढाइलाई समय नदिएपछि ब्याक लाग्न थाल्यो । आफ्नो रुचिको क्षेत्र भिन्नै थियो । पढाइ सकिए पनि पूरा गरिनँ । म आउटसोर्सिङ काम गर्ने भएकाले त्यता लाग्न पाइएन ।” 

मलाई प्रविधिमा विज्ञ हुनु थियो । मेरो चाहना त्यति मात्र थियो । त्यसैलाई अङ्गाल्ने क्रममा मैले कैयौं आउटसोर्सिङको काम गरें । कति कम्पनीमा कर्मचारीकै रूपमा काम गरें । त्यो सबैको उद्देश्य भनेको प्रविधिमा विज्ञ हुने थियो ।

हुन त कम्प्युटर इन्जिनियरिङको क्षेत्र र रिमालले काम गरिरहेको वेब तथा एप डिजाइनिङको क्षेत्र पूर्ण रूपमा भिन्न थिएन । उनले चाहेको भए कलेज ड्रपआउट नगरी अगाडि बढाउन सक्थे । “जीवनको एउटा चरण हो । म, मेरो शिक्षा र मेरो प्राविधिक रुचि एउटै ठाउँमा ल्याउन सकिनँ,” उनी अगाडि भन्छन्, “क्रियटिभ्ली सोचेको भए पक्कै पनि ड्रपआउट गर्नु पर्दैनथ्यो । तर, मैले कम्प्युटर इन्जिनियरिङको पढाइलाई वास्ता गरेनँ ।”

तर, पछि उनले बीसीएमा स्नातक तह पूरा गरे । उनी अगाडि भन्छन्, “तर पछि मैले डिस्टेन्स लर्निङ गरेर बीसीए गरें । त्यसलाई भने मैले पूरा गरे । यसैले मलाई ब्याचलर डिग्रीमा सहयोग गर्‍यो ।” डिस्टेन्स लर्निङ अर्थात् बाहिरको विश्वविद्यालयमा नेपालमै बसेर पढाइ पूरा गर्ने मोडालिटी । उनले इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट बीसीएमा स्नातक तह पूरा गरेका थिए । 

कसरी सुरु भयो एआईसँगको यात्रा ?

एआई क्षेत्रमा रिमालको यात्रा अनौपचारिक मोडबाट सुरु भएको थियो । सन् २०१३ सम्म उनले एआईमा लाग्ने कुनै योजना बनाएका थिएनन् । किनभने त्यतिबेला यो प्रविधि अहिले जस्तो विकसित र चर्चित थिएन । 

एआईमा प्रवेश गर्न गणितमा पोख्त हुनुपर्ने मान्यताले पनि उनले त्यसलाई कुनै समय अङ्गाल्छु भन्ने कल्पना गरिसकेका थिएनन् । 

इन्जिनियरिङ अध्ययन गर्दै गर्दा रिमालले एक दिन आफ्ना साथी सुरज लामालाई गफगाफकै क्रममा सोधे, “अबको भविष्य वेब र मोबाइल एपको होला कि एआईको होला ?” लामाले कुरैकुरामा एआईको भविष्यमै राम्रो हुने विचार राखे । यो सजिलै बिर्सिन सकिने गफगाफ थियो । तर, रिमालको मनमा यही भनाइले गहिरो छाप पार्‍यो । र, उनी एआईको अनसुन्धान गर्न थाले ।

उनी भन्छन्, “मलाई प्रविधिमा विज्ञ हुनु थियो । मेरो चाहना त्यति मात्र थियो । त्यसैलाई अङ्गाल्ने क्रममा मैले कैयौं आउटसोर्सिङको काम गरें । कति कम्पनीमा कर्मचारीकै रूपमा काम गरें । त्यो सबैको उद्देश्य भनेको प्रविधिमा विज्ञ हुने थियो ।” 

मैले जे गरेँ, मनैदेखि गरेँ र कुनै स्वार्थ थिएन । त्यसैले जीवनमा आइपरेका चुनौतीहरूको सामना गर्दै म यहाँसम्म आइपुगेको छु ।

यसरी उनले फरक फरक प्रविधिको काम गर्दा एआईलाई पनि आत्मसात गर्नुपर्छ भन्ने मान्यता आयो । “त्यो बेला मोबाइल एप डेभलपमेन्टको फ्लो एउटै थियो । यो त्यति चुनौतीपूर्ण थिएन । तर, मलाई चुनौतीपूर्ण काम गर्न मन पर्थ्यो । आफूले गरिरहेका ग्राफिक्स डिजाइनिङ, वेब तथा एप डेभलपमेन्टका कामले मलाई सन्तुष्टि दिएन । त्यसैले मेरो दिमागले मलाई चुनौतीपूर्ण क्षेत्र रोज्न प्रेरित गर्‍यो ।”

एआईबारे बुझ्न उनले गणीत जान्नुपर्ने थियो । त्यसका लागि विभिन्न पुस्तक किने र त्यसैलाई शून्यबाट सुरु गरे । “मैले सम्झँदा २०१४/१५ तिर इन्टरनेटमा अहिले जस्तो धेरै कोर्षहरू थिएनन् । कोर्सेरा भर्खरै आएको थियो, जुन एउटा निःशुल्क शैक्षिक वेबसाइट थियो,” उनी सम्झिन्छन्, “त्यसमा एन्ड्रोउ एनजीले मसिन लर्निङको एउटा कोर्स पढाएको थियो । मेरो विचारमा त्यो समयमा मसिन लर्निङ सिक्न चाहने धेरैले त्यही कोर्सबाट सुरु गरेका हुनुपर्छ, किनकि त्यो नै सबैभन्दा सजिलै पाइने कोर्स थियो । अहिले त इन्टरनेटमा धेरै निःशुल्क सामग्री र कोर्षहरू उपलब्ध छन् ।” 

यसलाई स्वअध्ययन गरी एआईबारे बुझेका रिमालले २०१८ तिर आफ्नै गैर-नाफामुखी अनुसन्धान संस्था ‘एआई फर डेभलपमेन्ट’ नामक पनि सुरु गरेका थिए । यस संस्थाको उद्देश्य एआईलाई सामाजिक हितका लागि प्रयोग गर्नु थियो । उनले भूकम्प पीडित र दृष्टिविहीनका लागि एआई सोलुसन विकास गरेका थिए ।

“मैले विभिन्न कम्पनी र संस्थाहरूसँग सहकार्य गर्ने अवसर पाएँ । इन्टेलको एआई एम्बेसडर र गुगल डेभलपर एक्सपर्ट पनि भएँ,” उनी भन्छन्, “समुदायमा योगदान पुर्‍याउने उद्देश्यले अनुसन्धानका साथै नि:शुल्क मिटअपहरू आयोजना गरी मसिन लर्निङ र डिप लर्निङ सिकाउँथेँ । यसबाट म आफैँ पनि सिकिरहेको थिएँ र अरूले पनि सिक्ने वातावरण बनोस् भन्ने मेरो चाहना थियो ।” 

एआईको क्षेत्रमा एउटा समुदाय विकास गरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उनको विश्वास थियो । उनी अगाडि भन्छन्, “मैले जे गरेँ, मनैदेखि गरेँ र कुनै स्वार्थ थिएन । त्यसैले जीवनमा आइपरेका चुनौतीहरूको सामना गर्दै म यहाँसम्म आइपुगेको छु ।”

पोल्यान्डको ‘ब्रेन्ली’ नामक कम्पनी देखि गुगल डेभलपर एक्सपर्टसम्मको यात्रा !

एआईलाई विभिन्न तवरबाट प्रयोग गरेर संस्था सञ्चालन गरिरहेका रिमालले देश विदेशका विभिन्न कार्यक्रममा सहभागी हुन्थे । त्यहीबाट उनले देश विदेशका प्रविधि क्षेत्रका व्यक्तिलाई चिन्ने मौका पाएका थिए । “मैले अमेरिकाको एक कन्फेरेन्समा युक्रेनको साथी चिनेको थिएँ,” उनी भन्छन्, “युक्रेनको साथी पोल्यान्डमा बसेर ब्रेन्लीमा काम गर्थ्यो । उसैले ‘ब्रेन्ली’मा सिनियर डेटा साइन्टिस्टको पोजिसनमा जागिर खुलेको जानकारी दियो ।”

यो २०२१ तिरको कुरा हो । कुनै कम्पनीमा रही त्यहीको वर्क कल्चरमा आफूलाई अभ्यस्त पार्ने चाह भएका रिमाललाई साथीको सुझाव उपयुक्त लाग्यो । र, उनले आवेदन दिए । “मैले अप्लाई गरेपछि चार पाँच महिना लगाएर अन्तर्वार्ता पास गरें । त्यसपछि वर्किङ भिजा लिएर पोल्यान्ड गएँ । अनि सिनियर डेटा साइन्टिस्टको काम गर्न थालें,” उनी भन्छन् । 

‘ब्रेन्ली’मा काम गर्दा उनले समय व्यवस्थापन गर्न सिके । कति समय काम गर्ने, कति समय पढ्ने र कति समय व्यक्तिगत प्रयोजनका लागि छुट्टाउने भन्ने कुरा उनले राम्ररी बुझे । फलस्वरूप उनले समयको सही सदुपयोग गरी थप प्रोडक्टिभ हुन सिके ।

यसरी बिहान र बेलुका बचेको समयमा उनले मास्टर्स पूरा गर्ने अठोट लिए । त्यसैलाई निरन्तरता दिन उनी बेलायतको युनिभर्सिटी अफ लिड्समा भर्ना भए र एआईमा मास्टर्स गर्न थाले । “यसमा अनलाइनबाटै पढ्न सकिने सुविधा थियो । त्यहीबाट प्रोफेसरसँग पनि कुरा भइरहेको हुन्थ्यो । 

आफ्नै एआई कम्पनी नेक्स्ट एआई सुरु !

अगस्ट २०२३ मा ‘ब्रेन्ली’ को यात्रा टुङ्ग्याएपछि उनको मनमा एउटा हुटहुटी थियो - आर्जन गरेको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने । ‘ब्रेन्ली’ मा झन्डै साढे दुई वर्षको अनुभवले खारिएका उनी नेपाल फर्किए र आफ्नै कम्पनी खोल्ने अठोट गरे । विदेशमा सिकेको ज्ञानलाई एउटा उदाहरणीय उत्पादनमा ढाल्ने सपना बोकेर उनी काठमाडौं आए र अक्टोबर २०२३ मा ‘नेक्स्ट एआई’ नामक कम्पनीको स्थापना गरे ।

उनी सुनाउँछन्, “नेक्स्ट एआई हामीले एसियाबाट सुरु गरेका हौँ । अर्थात् एसियालाई सुरूवातको आधार बनाएका छौं । अवसर आएमा आफूलाई सीमित राख्ने कुरा हुँदैन । तर एसियाको बजार अहिले उदाउँदो र विकासशील छ । प्रविधिमा पश्चिमी देशभन्दा एसियाली देश अलि पछाडि छन् । त्यसैले आर्टिफिसियल इन्टेलिजेन्सको समाधानले यहाँ केही फरक पार्छ कि भन्ने हाम्रो विचार हो । विशेषगरी दक्षिण एसियाबाट सुरु गरौँ भन्ने हाम्रो योजना छ ।”

नेक्स्ट एआईको टोलीमा १० जना डेभलपर कार्यरत छन् । उनीहरू विभिन्न भूमिकामा काम गर्छन् । नेक्स्ट एआईको आम्दानी हाल एम्बिसन गुरु नामक ग्राहकको लागि काम गरेर भइरहेको रिमाल सुनाउँछन् । उनीहरू एम्बिसन गुरुका लागि ‘एडटेक प्लेटफर्म’ विकास गरिरहेका छन् ।

कस्ता कम्पनीहरू नेक्स्ट एआईसँग जोडिन सक्छन् भन्ने प्रश्नमा क्षितिज भन्छन्,”नेक्स्ट एआई एउटा परामर्श कम्पनी हो । सामाजिक प्रभाव पार्ने क्षेत्रहरूमा काम गर्न हामी इच्छुक छौं । जस्तो कम्पनी आउनु हुन्छ हामी उहाँहरूलाई एआईसँग सम्बन्धित खोजेको जस्तै प्लेटफर्म बनाउन सघाउँछौं ।

के छ उनको इच्छा ? 

नेपालबाटै विश्वस्तरीय प्रडक्ट बनाउने चाहना छ । जेनेरेटिभ एआईको क्षेत्रमा नेपाललाई मात्र लक्षित गर्ने भन्दा पनि विश्वभरका प्रयोगकर्तालाई उपयुक्त हुने प्रडक्ट बनाउने सङ्कल्पमा उनी जुटेका छन् । “मेरो इच्छा नेपालबाटै वर्ल्ड क्लास प्रोडक्ट बनाउने हो । तर नेपाललाई मात्रै नभई एसिया तथा पश्चिमी देशहरूमा पनि पुर्‍याउन सक्ने क्षमता विकास गर्नुपर्छ । त्यसै अनुसारको प्रतिभा विकास गर्ने र प्रडक्ट बनाउनेतर्फ लाग्नुपर्छ । म आफू पनि यही उद्देश्यमा समर्पित छु,” उनी भन्छन् । 

नेपाली च्याटबटको भविष्यको बारेमा बोल्दै क्षितिजले भने कि नेपालमा धेरै च्याटबटहरू उपलब्ध छन्, तर तिनीहरू धेरै उन्नत छैनन् । उनका अनुसार सुरुमा उपलब्ध समाधानहरू प्रयोग गरेर प्रोटोटाइप विकास गर्न सकिन्छ । तर डाटा सुरक्षाको विषयमा ध्यान दिनुपर्छ ।

उनी नेपाललाई एआईको केन्द्र बनाउन र नेपाली युवाहरूलाई यो क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्न चाहन्छन् ।

एआईका सबल पक्ष के के होलान् ? के छन् जोखिम ?

आज एआई उपकरणहरूको विकास तीव्र गतिमा भइरहेको छ ।  उदाहरणका लागि, सोराले भिडियो उद्योगमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ । तर, यस्ता एआई उपकरणले गलत सूचना फैलाउने र हानिकारक सामग्री सिर्जना गर्ने जस्ता चुनौतीहरू पनि थपेका छन् । क्षितिजका अनुसार एआई उपकरणहरूको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्षलाई हेर्दा यसले प्राविधिक र रचनात्मक सीमाहरूलाई तोडेर कामलाई सहज बनाएको छ । तर, नकारात्मक पक्षमा यसले हानिकारक सामग्री सिर्जना गर्न मद्दत गर्छ । यद्यपि यसलाई नियन्त्रण गर्न विभिन्न उपकरण पनि विकास भइरहेका छन्, जस्तै एआईले उत्पन्न गरेको भिडियो पत्ता लगाउने उपकरण ।​

मेरो इच्छा नेपालबाटै वर्ल्ड क्लास प्रोडक्ट बनाउने हो । तर नेपाललाई मात्रै नभई एसिया तथा पश्चिमी देशहरूमा पनि पुर्‍याउन सक्ने क्षमता विकास गर्नुपर्छ । त्यसै अनुसारको प्रतिभा विकास गर्ने र प्रडक्ट बनाउनेतर्फ लाग्नुपर्छ ।

एआईले रोजगारीको क्षेत्रमा पार्ने प्रभावलाई लिएर बहस चलिरहेको छ । कतिपयको विचारमा यसले मानिसलाई प्रतिस्थापन गर्छ, भने कतिपयले यसलाई पूरकको रूपमा लिन्छन् । क्षितिजको विचारमा एआईले रोजगारीलाई प्रतिस्थापन गर्दैन तर मानिसको भूमिकालाई परिवर्तन गर्छ । प्रविधिको विकासले मानिसले गर्नुपर्ने कतिपय कार्यहरू स्वचालित हुनेछन्, जसले गर्दा मानिसले आफ्नो सीपलाई अझ विकास गर्नुपर्ने र निर्णय लिने क्षमता बढाउनुपर्ने हुन्छ ।

नेपाल र विश्वमा एआईको विकासको गति फरक छ । विश्वमा जुन गतिमा विकास भइरहेको छ, नेपालमा पनि त्यसको प्रभाव पर्ने निश्चित छ । प्रविधिको विकासको गति तीव्र भएकाले यो दूरी कम हुँदै गएको छ । त्यसैले नेपालले पनि एआईको विकासमा ध्यान दिनु आवश्यक रहेको उनी सुनाउँछन् ।

नेपालमा एआईको अनुभव अरू देशको भन्दा फरक छ । उनका अनुसार नेपालले एआईलाई कसरी प्रयोग गर्न सक्छ भन्ने कुरा यहाँको अर्थतन्त्र र बजारमा निर्भर हुन्छ । एआईले नेपाललाई मास म्यानुफक्चरिङमा सहयोग गर्न, पर्यटन प्रवर्द्धन गर्न, सामाजिक प्रभाव बढाउन र जलवायु परिवर्तनको समस्या समाधान गर्न मद्दत गर्न सक्छ । यो एउटा अवसर हो, जसलाई नेपालले सदुपयोग गर्न सक्नुपर्नेमा रिमाल जोड दिन्छन् । 

नेपाली भाषामा एआईको विकास पनि तीव्र गतिमा भइरहेको छ । सुरुमा एआईलाई नेपाली भाषा बुझ्न गाह्रो हुन्थ्यो, तर अब यसले नेपाली भाषा बुझ्न थालेको छ । यसले मानिसहरूलाई भाषाको अवरोध हटाउन मद्दत गरेको छ । यो एउटा प्रगति हो, जसले नेपाली भाषालाई विश्वमाझ चिनाउन मद्दत गर्नेछ ।

डेभलपरहरूले एआईलाई कसरी प्रयोग गर्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । नेपालको सन्दर्भमा, जहाँ आर्थिक स्रोत र लगानी कम छ, एआई उपकरणहरूले डेभलपरलाई थोरै स्रोतमा पनि धेरै काम गर्न मद्दत गर्न सक्छ । उनीले एआई टुल प्रयोग गरेर छिटो र सजिलै उत्पादनहरू विकास गर्न सक्छन् । यो एउटा अवसर हो जसलाई नेपाली डेभलपरले सदुपयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

एआईमा करियर बनाउन चाहने युवालाई क्षितिज आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र सिस्टम डिजाइनमा ध्यान दिन सुझाव दिन्छन् । एआईले कोड तयार गर्ने भएकाले अब सिन्ट्याक्स र प्रोग्रामिङ भाषामा मात्र ध्यान दिएर पुग्दैन । त्यसैले प्रोग्रामले यसलाई रचनात्मक ढङ्गले सोच्नुपर्छ ।

एआईलाई नियमन गर्नुपर्ने आवश्यकता पनि छ । तर, नियमन गर्नुभन्दा पहिले यसको साक्षरता बढाउनुपर्छ र यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने रिमालको भनाइ छ । त्यसपछि यसको नकारात्मक पक्षलाई कम गर्न नियमन गर्न सकिन्छ । 

रिमालको विचारमा एआई एउटा सहायक हतियार हो, जसले सोच्न सक्छ र मानिसको बुद्धिलाई बढाउन मद्दत गर्छ । यो एउटा यस्तो प्रविधि हो जसले मानिसलाई अझ सक्षम र शक्तिशाली बनाउन सक्छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८१ १४:२६