close

साइबर सुरक्षा नीतिलाई सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ: प्रधानमन्त्री

टेकपाना टेकपाना

बैशाख १९, २०८० ९:५६

साइबर सुरक्षा नीतिलाई सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले सरकारले साइबर सुरक्षा नीतिलाई प्राथमिकता दिएर अगाडि बढेको बताएका छन् ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आफ्नो शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताएका हुन् । उनले चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको पनि जानकारी दिएका छन् ।   

यसका साथै देशमा भइरहेको सूचना प्रविधि क्षेत्रको विकासलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिको  विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त भएको उनले बताए ।

"यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानूनी व्यवस्थाका लागि सरकारी प्रतिवद्ध रहेको छ," उनले भने, "सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने छ ।"

अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको बताउँदै आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको उनले बताए  । 

“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।  

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० ९:५७