close

सामसङको स्पष्टीकरण: ‍आईफोन १७ एयर हेरेर एस२५ एज पातलो बनाएका होइनौँ

टेकपाना टेकपाना

जेठ ४, २०८२ १७:५९

सामसङको स्पष्टीकरण: ‍आईफोन १७ एयर हेरेर एस२५ एज पातलो बनाएका होइनौँ

 

काठमाडौँ । सामसङले हालै सार्वजनिक गरेको अति पातलो फोन एस २५ एज निर्माणमा एप्पलको आईफोन १७ एयरको कुनै प्रभाव नरहेको स्पष्ट पारेको छ । गत साता ग्यालेक्सी एस २५ एजको बारेमा जानकारी दिने क्रममा कम्पनीका स्मार्टफोन उत्पादन विशेषज्ञ कादेश बेकफोर्डले यस्तो बताएका हुन् ।

“यो आईफोन १७ एयरसँग सम्बन्धित छैन । यो फोन बनाउन हामीले हरेक पाटपुर्जालाई पातलो बनावटमा अट्ने गरी पुनः डिजाइन गर्नुपरेको हो जुन पक्कै पनि सजिलो काम होइन,” बेकफोर्डले भनेका थिए । ग्याजेट्स रिभ्युअरले सामसङको एस २५ एजलाई आईफोन १७ एयरसँग तुलना गरिरहे पनि कम्पनीले आधिकारिक रूपमा यस फोनका कुनै जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न देशका लिकरहरूले वर्षोंदेखि यसको चर्चा गर्दै आएका छन् । 

यस वर्षको सेप्टेम्बरमा यो मोडेल सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन १७ एयर र सामसङ एस २५ एजमा कुन फोन केमा राम्रो भन्ने जान्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

यो नयाँ डिभाइस ५.८ एमएम पातलो छ । यो मोडेल सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी एस स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसलाई सफल बनाउन कम्पनीले २०० मेगापिक्सेल क्यामेरा लगायत हरेक पाटपुर्जालाई सानो ठाउँमा अट्ने गरी विशेष तरिकाले मिलाएको छ ।

बेकफोर्डका अनुसार यसका लागि  आरएन्डडी (अनुसन्धान र विकास) मा लामो समय लागेको छ । यो भनेको एप्पलको आईफोन १७ एयरको हल्ला सुरु हुनुभन्दा धेरै अघिदेखि नै यसमा काम सुरु भइसकेको थियो । “मैले ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक भएको हप्ता (अगस्ट २०२३) देखि नै एजको बारेमा थाहा पाएको थिएँ,” उनले कार्यक्रममा भने ।

चर्चामा आएको एप्पलको पातलो फोन आईफोन १७ एयरबाट प्रभावित नभएको भन्दै कम्पनीले दाबी गरे पनि यसमा केही समानता हुन सक्ने देखिन्छ । लिक भएका जानकारी अनुसार आईफोन १७ एयरमा केवल एउटा ४८ मेगापिक्सेल लेन्ससहितको सामान्य क्यामेरा, ५ देखि ६ एमएमको बीचको मोटाइ हुनेछ । यसको मूल्य भन्ने प्रो म्याक्स मोडेलको तुलनामा निकै कम हुनेछ । 

यदि सामसङ आफ्नो प्रतिस्पर्धी एप्पलको पातलो स्मार्टफोनबाट प्रभावित भएको होइन भने कम्पनीले एस २५ सिरिजमै किन नयाँ मोडेल ल्यायो ? बेकफोर्डका अनुसार कम्पनीको बजार अनुसन्धान टिमले ‘अल्ट्रा’ फोन चाहने तर मोटो भएकाले प्रयोग गर्न हिचकिचाउने प्रयोगकर्ताका लागि यो फोन ल्याउने योजना बनाएको थियो । त्यसैले यसमा २०० मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ८ एलिट चिपसेट र टाइटेनियम फ्रेम उपलब्ध गराइएको छ ।

एजमा ग्यालेक्सी एस २५ का ग्यालेक्सी एआई सुइट फिचर पनि दिइएको छ । त्यसका साथै १२ मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स र १२ मेगापिक्सेल सेल्फी सेन्सर पनि यसमा समावेश गरिएको छ । 

एस २५ एजको ब्याट्रीलाई लिएर भने प्रयोगकर्ताले गुनासो गरेका छन् । फोन पातलो बनाउने बहानामा कम्पनीले ब्याट्रीमा सम्झौता गरेको भन्दै आलोचना भइरहेको छ । यसमा कम्पनीले ३९०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यो भनेको ग्यालेक्सी एस २५ अल्ट्राको भन्दा ११०० एमएएच सानो हो । पातलो फोन ट्रेन्डमा आएदेखि चिपको दक्षता र सफ्टवेयर अप्टिमाइजेसनमा धेरै सुधार भएको देखिन्छ । तर, तिन फोनको कमजोर ब्याट्री लाइफले नै प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न नसकेको प्रवृत्ति छ । 

अब ग्यालेक्सी एस २५ एजको पनि त्यस्तै नियति हुन्छ वा यसले पातला ह्यान्डसेटका लागि नयाँ मार्ग स्थापना गर्छ भन्ने हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १७:५९