काठमाडौँ । पछिल्लो समय पातलो फोनको चर्चा व्यापक बढ्दै गएको छ । स्मार्टफोन निर्माता कम्पनीले प्रयोगकर्ताको ध्यान खिच्न पातलोभन्दा पातलो फोन सार्वजनिक गर्ने होडबाजी गरिरहेका छन् ।
सधैं चर्चामा रहने ब्रान्ड सामसङ र एप्पल पनि यही दौडमा छन् । २०२५ को सुरुवातमा सामसङले आफ्नो बहुप्रतिक्षित एस २५ सिरिज सार्वजनिक गर्यो । त्यस कार्यक्रमको अन्तिममा कम्पनीले एस २५ एजको डेमो सार्वजनिक गरेको थियो । एस २५ एज त्यही फोन हो, जुन सामसङको ग्यालेक्सी सिरिज अन्तर्गतकै सबैभन्दा पातलो फोन हो ।
१३ मेमा यो फोन सार्वजनिक भइसकेको छ । केही देशमा यो फोन बिक्रीका लागि पनि उपलब्ध भइसकेको छ । नेपालमा पनि चाँडै नै भित्रिने अनुमान छ ।
त्यस्तै एप्पलले पनि यसै वर्ष आफ्नो पातलो मोडेल सार्वजनिक गर्दैछ । यसबारे थुप्रै विवरण लिक भइसकेका छन् भने केही फिचरले चर्चा पाइरहेका छन् ।
तपाईं पनि पातलो फोनको पारखी हुनुहुन्छ र सामसङको एस २५ एज खरिद गरिहाल्ने वा आईफोन १७ एयर पर्खिने भन्ने द्विविधामा हुनुहुन्छ भने यहाँ हामी फिचरको चर्चा गर्दैछौं । यहाँ उल्लेख भएका फिचरलाई आधार मानेर तपाईं सामसङको पातलो फोन पर्खिने वा १७ एयर पर्खिने भन्ने निर्णय लिन सक्नुहुन्छ:
सामसङ एस २५ एजमा के के छन् फिचर ?
यो फोन कत्ति पातलो छ भने यसको मोटाइ जम्मा ५.८ एमएम छ । यो भनेको एस २५ अल्ट्राको तुलनामा ३० प्रतिशत पातलो हो । त्यही भएर यो फोन ३० प्रतिशत पातलो अनि २५ प्रतिशत जति हलुका पनि छ । कम्पनीले यसमा गतिलो टाइटानियम धातु प्रयोग गरेको छ भने स्क्रिनमा पनि गोरिल्ला ग्लास सेरामिक टु छ । यो मजबुतीका लागि उपयुक्त मानिन्छ । यसमा १२० हर्ज रिफ्रेस रेटको ६.७ इन्च ओलेड डिस्प्ले दिइएको छ ।
अब क्यामेराको कुरा गर्दा एस २५ अल्ट्राको जति यसमा छैन । यसमा दुई ओटा क्यामेरा कम छन् । अर्थात् ३ गुणा र ५ गुणा टाढाको फोटो खिच्ने (जुम) क्यामेरा र लेजर अटोफोकस भन्ने लेन्स छैन । तर अल्ट्रावाइड क्यामेराचाहिँ छ । यसले निकै फराकिलो फोटो खिच्छ । अल्ट्रामा ५० मेगापिक्सेलको हुन्छ भने यसमा १२ को मात्रै छ । तैपनि यसको अल्ट्रावाइडमा अटोफोकस छ । यसले गर्दा नजिकैको सानो-सानो चिजको फोटो (म्याक्रो शट) खिच्न सजिलो हुन्छ ।
मुख्य क्यामेरा त अल्ट्राकै जस्तो २०० मेगापिक्सेलको छ । तर फोन पातलो बनाउन लेन्सलाई अलि च्याप्टो पारेकोले फोटोको क्वालिटी हल्का नरम आउन सक्छ भनिएको छ । यसमा भएको स्न्यापड्रागन ८ एलिट प्रोसेसरले फोटोलाई स्तरीय बनाउन, फोनको पर्फमेन्स सुधार गर्न र एआई फिचर सजिलै चलाउन सक्छ । र्याम भने यसमा १२ जीबी छ ।
अरु फिचरको कुरा गर्दा सामसङको स्टाइलिस एस पेन यो मोडेलमा छैन । स्क्रिनमा पनि अल्ट्रामा जस्तो घाममा हेर्दा धेरै नटल्किने खालको विशेष लेप (एन्टि-रिफ्लेक्टिभ कोटिङ) छैन । स्पिकरको आवाज पनि अल्ट्राको जति दमदार छैन । ब्याट्री पनि ३९०० एमएएच क्षमताको छ । अल्ट्रामा ५००० एमएएचको हुन्छ । चार्जरको सन्दर्भमा भने यसले २५ वाटको फास्ट चार्जर सपोर्ट गर्छ । तैपनि सामसङको फोटोबाट नचाहिने चिज हटाउने (अब्जेक्ट इरेजर) अनि फोटोलाई मिलाउने (जेनेरेटिभ एआई एडिटर) जस्ता एआई फिचर यसमा पाइन्छ । अझ एउटा खतरा नयाँ चिज के छ भने रियल-टाइम भिजुअल एआई ! यसले जेमिनाई लाइभबाट भिडिओ कलमै सामान चिनेर त्यसको बारेमा बताइदिन्छ । जस्तै कफी बनाउने मेसिन देखाएर ‘यसमा कफी कहाँ हाल्ने हो ?’ भनेर सोध्न पनि मिल्छ ।
मूल्यको कुरा गर्दा यो एस २५ एजको सुरुवाती मूल्य १०९९ डलर (करिब डेढ लाख रुपैयाँ) रहेको छ ।
आईफोन १७ एयरमा के के फिचर होलान् ?
अहिलेसम्म बाहिरिएका विभिन्न जानकारीलाई आधार मान्ने हो भने यसमा ६.६ इन्चको ओलेड डिस्प्ले हुनेछ । पहिलो पटक कम्पनीले बेस मोडेलमा प्रोमोसन डिस्प्ले उपलब्ध गराउने जनाएको छ । अर्थात् यस मोडलमा पनि १२० हर्ज रिफ्रेशरेट पाउन सकिन्छ ।
यसको मोटाइको कुरा गर्नुपर्दा ५.५ एमएम पातलो हुनेछ । त्यस्तै यो आल्मुनियमले ढाकिएको हुनेछ । यसमा कम्पनीले आफ्नो नयाँ शक्तिशाली चिप ए१९ प्रयोग गर्ने बताइएको छ । यही चिपका कारण कम्पनीको एआई फिचर एप्पल इन्टेलिजेन्स प्रयोग गर्न पाइनेछ । त्यस्तै र्यामको सन्दर्भमा यसमा १२ जीबी र्याम हुनेछ ।
अगाडिपट्टि २४ मेगापिक्सेलको क्यामेरा हुनेछ भने पछाडिपट्टि ४८ मेगापिक्सेलको वाइड क्यामेरा हुनेछ । बाहिरिएका जानकारी अनुसार यसमा एप्पल वाईफाई ७ समावेश हुनेछ । ब्याट्रीको जानकारी भने अहिलेससम्म बाहिर आइसकेको छैन । यद्यपि कम्पनीले फोन पातलो बनाउने भनेकाले सामसङ ग्यालेक्सी एस २५ एज जत्तिकै ल्याउने अपेक्षा गरिएको छ । यसले ३५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ भने यसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख २३ हजार रुपैयाँ) हुने बताइएको छ ।
तुलना
विशेषता
ग्यालेक्सी एस२५ एज
आईफोन १७ एयर
(लिक विवरण अनुसार)
कुन राम्रो ?
डिस्प्ले साइज
६.७ इन्च ओएलईडी डिस्प्ले
६.६ इन्च ओएलईडी डिस्प्ले
ग्यालेक्सी एस२५ एज (ठुलो)
रिफ्रेस रेट
१२० हर्ज रिफ्रेस रेट
१२० हर्ज प्रोमोशन
दुबै उस्तै
मोटाइ
५.८ मिलिमिटर
५.५ मिलिमिटर
आईफोन १७ एयर (पातलो)
बडी मेटेरियल
टाइटेनियम बडी
एल्युमिनियम बडी
ग्यालेक्सी एस२५ एज (टाइटेनियम सामान्यतया बढी प्रिमियम)
चिप
स्न्यापड्रागन ८ एलिट
ए१९ चिप
दुबै उच्च-स्तरीय (पर्फमेन्स फरक हुन सक्छ)
र्याम
१२ जीबी र्याम
१२ जीबी र्याम
दुबै उस्तै
एआई
ग्यालेक्सी एआई
एप्पल इन्टेलिजेन्स
दुबैको आफ्नै एआई विशेषता छ
फ्रन्ट क्यामेरा
१२ मेगापिक्सेल
२४ मेगापिक्सेल
आईफोन १७ एयर (उच्च मेगापिक्सेल)
वाइड क्यामेरा
२०० मेगापिक्सेल
४८ मेगापिक्सेल
ग्यालेक्सी एस२५ एज (उच्च मेगापिक्सेल)
अल्ट्रावाइड क्यामेरा
१२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा
उल्लेख छैन
ग्यालेक्सी एस२५ एज (यो सुविधा भएकोले)
वाई-फाई
वाई-फाई ७
एप्पल वाई-फाई ७ चिप
दुबै उस्तै (दुबै वाई-फाई ७)
ब्याट्री
३,९०० एमएएच
-
बाहिरिएको छैन । यसमा सामसङ नै अगाडि हुने देखिन्छ ।