close

प्रविधिमा किशोरीको सहभागिता बढाउने उद्देश्यसहित मनाइँदै ‘गर्ल्स इन आईसीटी डे’

टेकपाना टेकपाना

जेठ ८, २०८२ १३:२६

प्रविधिमा किशोरीको सहभागिता बढाउने उद्देश्यसहित मनाइँदै ‘गर्ल्स इन आईसीटी डे’

काठमाडौँ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) र नेपाल दूरसञ्चार प्राधिकरणको साझेदारीमा गर्ल्स इन आईसीटी डे २०२५ को सुरुवाती कार्यक्रम जेठ १० गते (२३ मे २०२५) काठमाडौँमा आयोजना गरिने भएको छ । 

कार्यक्रम “समावेशी डिजिटल रुपान्तरणका लागि बालिकाहरू” भन्ने नारासहित आयोजना हुनेछ । यसले १२ देखि २४ वर्ष उमेर समूहका बालिका लक्षित सूचना तथा प्रविधिको क्षेत्रमा अध्ययन गर्न र भविष्य बनाउन प्रेरणा दिने आयोजकले जनाएकाे छ । दुवै भौतिक र अनलाइन माध्यमबाट हुने कार्यक्रममा नेपालसहित दक्षिण एसियाका बालिकाहरू सहभागी हुनेछन् । 

गर्ल्स इन आईसीटी डे हरेक वर्ष अप्रिलको चौथो बिहीबार मनाइन्छ। यस वर्ष विश्वभर नै यो दिवस अप्रिल २४ मा मनाइएको थियो । नेपालमा भने दक्षिण एसियाली सहभागिता सुनिश्चित गर्न मे २३ मा कार्यक्रम गर्न लागिएको हो।

यस कार्यक्रममा विकट क्षेत्रहरू, विपन्न समुदाय, र अपांगता भएका बालिकाहरूलाई समेत समावेश गरिने बताइएको छ । प्रविधिको उपयोग, STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित) शिक्षा र डिजिटल सीपबारे बालिकाहरूलाई जानकारी दिइनेछ ।

कार्यक्रमपछि, साउनदेखि असोज (जुलाई–सेप्टेम्बर) सम्म देशभरका सयौं बालिकालाई लक्षित गरी व्यवहारिक तालिमहरू सञ्चालन गरिनेछ। तालिमले उनीहरूलाई प्रविधिमा आत्मविश्वासी र सक्षम बनाउन सहयोग गर्ने संघको भनाइ छ ।

गर्ल्स इन आईसीटी डे सन् २०११ देखि सुरु भएको हो। अहिलेसम्म विश्वभर ४ लाख १७ हजारभन्दा बढी बालिकाले १७५ देशका ११ हजारभन्दा बढी कार्यक्रमहरूमा भाग लिइसकेका छन्।

नेपालमा यो कार्यक्रमले बालिकाहरूलाई प्रविधिमा अघि बढ्न हौसला दिने र डिजिटल क्षेत्रमा लैङ्गिक समानता ल्याउने लक्ष्य राखेको प्राधिकरणका उपनिर्देशक राेजा किरण बासुकलाले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १३:३६