काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आफैँ प्रविधिको उपलब्धि हो । तर पछिल्लो समय उसैले प्राविधिकको रोजगारी जोखिममा पारेको बहस तीव्र छ । ठुला प्रविधि कम्पनीहरूले सामान्य डेभलपरले गर्नसक्ने काम समेत एआईले सहजै गर्न सक्ने भन्दै कर्मचारी कटौती गर्दैछन् ।
वास्तवमा अहिले बजारमा यस्ता परिष्कृत एआई टुलहरू आएका छन्, जसले कुनै सामान्य वेबसाइट वा मोबाइल एप निर्माणका लागि आवश्यक कोडिङ क्षणभरमै तयार गरिदिन्छन् । प्रयोगकर्ताले दिइएको सानो निर्देशनकै आधारमा यस्ता टुलहरूले पूर्ण कोड लेखिदिन्छन् । यस्तै प्रविधिलाई 'भाइब कोडिङ' भनिन्छ ।
यो नयाँ शैलीको प्रोग्रामिङ विधि हो । विदेशका केही कम्पनीहरू त भाइब कोडिङमा मात्र केन्द्रित भएर व्यवसाय गरिरहेका छन् ।
भाइब कोडिङ के हो, कसरी काम गर्छ, यसका राम्रा र नराम्रा काम के छन् अनि यसलाई कसरी उपयोग गर्न सकिन्छ लगायतका विषयमा तल उल्लेख गरिएको छ:
भाइब कोडिङ के हो ?
भाइब कोडिङ एआईमा आधारित नयाँ प्रोग्रामिङ शैली हो । जहाँ प्रयोगकर्ताले प्राकृतिक भाषामा आफूले चाहेको कुरा लेख्छन् र एआईले त्यसकै आधारमा आवश्यक कोड लेखिदिन्छ ।
यो शब्द ‘भाइब कोडिङ’ एन्ड्रेज कारपाथी नामक एआई विज्ञले २०२५ को फेब्रुअरी २ मा आफ्नो एक्स (ट्वीटर) पोस्टमार्फत सार्वजनिक गरेका थिए । उनी ओपनएआईका सहसंस्थापक र टेस्लाका पूर्व एआई प्रमुख हुन् ।
उनका अनुसार भाइब कोडिङ भन्नाले ‘पूर्ण रूपमा भाइब्समा बग्ने’ कोडिङ शैलीलाई जनाइन्छ, जहाँ कोडिङ प्रक्रियालाई बिर्सिएर एआईसँगको संवादकै भरमा काम सम्पन्न गरिन्छ । उनी भन्छन्, “कोडिङ अब संवादमार्फत सम्भव छ । तपाईं चाहनुहुन्छ, एआईले त्यसको कोड तयार पारिदिन्छ ।”
उनले यो शब्द प्रयोग गरेसँगै भाइब कोडिङ शब्द अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो र मरियम वेबस्टर डिक्सनरी मा 'स्ल्याङ एन्ड ट्रेन्डिङ नाउन' (Slang&Trending noun) को रूपमा स्थान पायो ।
There's a new kind of coding I call "vibe coding", where you fully give in to the vibes, embrace exponentials, and forget that the code even exists. It's possible because the LLMs (e.g. Cursor Composer w Sonnet) are getting too good. Also I just talk to Composer with SuperWhisper…
एआई प्रविधिको आफ्नै त राम्रो र नराम्रो पक्ष छ, झन् यसले गर्ने कामको राम्रो र नराम्रो पक्ष नहुने त कुरा नै भएन । पहिले राम्रो पक्षको कुरा गरौं । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसले कोडिङको कामलाई सहज र छिटो बनाएको छ । वेबसाइट वा एप तयार गर्न लाग्ने घण्टौँ घण्टाको समय एक घण्टा भन्दा पनि कम समयमा झरेको छ । यो भनेको कोडिङ सुपरपावर हुनुजत्तिकै हो । छिटो काम सकिनु मात्र भाइब कोडिङको फाइदा होइन, यसले नजानेका अनि भर्खर कोडिङ सिक्दै गरेका व्यक्तिहरूलाई पनि धेरै सहयोग गर्नसक्छ । अर्कोतिर कस्तो वेबसाइट बनाउने भन्ने अवधारणा छ तर कसरी बनाउने भन्ने थाहा नभएकाहरूका लागि यो उपयोगी छ ।
तर भाइब कोडिङ जति सहज छ उत्ति नै जोखिमपूर्ण पनि छ । एआईले बनाएको कोडिङ सुरक्षित छ कि छैन भन्ने नै मुख्य प्रश्न हुन्छ । कोड त तयार भयो, तपाईँले यसलाई आफ्नो क्लाइन्टलाई पनि बेच्नुभयो तर यसमा सुरक्षा कमजोरीहरू धेरै देखिन सक्छ, यसले डेभलपरको विश्वसनियतामाथि प्रश्न उठ्छ । डेभलपरले घण्टौँ समय लगाएर, धेरै अनुसन्धान र मेहनत गरेर तयार गरेको जस्तो विश्वासिलो नहुन पनि सक्छ । यो जोखिमबाट जोगिनका लागि पनि भाइब कोडिङमा पूर्ण रुपमा विश्वास नगर्न पनि सकिन्छ ।
यसबाट बच्न बरु सुरुवात कसरी गर्ने अथवा आफू कतै अल्झियो भने यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने लगायतका विषयमा परामर्श लिन सकिन्छ ।
भाइब कोडिङ कहाँ प्रयोग हुन्छ ?
यद्यपि भाइब कोडिङ नयाँ अभ्यास हो, विभिन्न क्षेत्रहरूमा यसको प्रयोग व्यापक हुँदै गइरहेको छ :
वेब डेभलपमेन्ट: फ्रन्टइन्ड तथा ब्याकइन्ड डेभलपरहरूले एचटीएमएल, सीएसएस तथा जाभास्क्रिप्ट कोड लगायतका लागि एआई टुल प्रयोग गरिरहेका छन् ।
डेटा साइन्स: डेटा साइन्टिस्टहरले जटिल अल्गोरिदमहरू तयार गर्न, ठुला डेटासेट डिलिट गर्न तथा डेटाको समिक्षा र प्रस्तुतिकरण नयाँ नयाँ तरिकाबाट गर्नका लागि एआई टुल प्रयोग गरिरहेका छन् ।
गेम डेभलपमेन्ट: पछिल्लो समय गेम डिजाइनरहरूले पनि भाइब कोडिङ प्रयोग गरेको पाइन्छ । स्क्रिप्टहरू तयार गर्न, कार्यक्षमताको समिक्षा गर्न तथा गेमप्ले मेकानिक्सहरू तयार गर्नका लागि एआई टुल प्रयोग हुने गरेको छ ।
आर्थिक क्षेत्र: आर्थिक क्षेत्रमा प्रयोग हुने विभिन्न फाइनान्सियल टेक्नोलोजीहरूमा पनि एआई कोडिङ प्रयोग भएको पाइन्छ । सुरक्षित कारोबार प्रणालीका लागि फ्रड डिटेक्ट गर्न, अस्वभाविक कारोबार पत्ता लगाउन लगायतका कामका लागि एआई टुल प्रयोग भइरहेको छ ।
स्वास्थ्य क्षेत्र: स्वास्थ्य क्षेत्रमा पनि एआई टुल निकै प्रयोग हुन थालेको छ । विभिन्न तथ्याङ्क व्यवस्थापन तथा रोगहरू पत्ता लगाउने टुल तयार गर्नका लागि भाइब कोडिङ प्रयोग गरिन्छ ।
भाइब कोडिङका लागि लोकप्रिय एआई टुलहरू
भाइब कोडिङका लागि हाल प्रयोगमा रहेका केही प्रमुख टुलहरू:
ChatGPT
GitHub Copilot
Replit Ghostwriter
Cursor
Claude (Anthropic)
Google Gemini
भाइब कोडिङले प्रविधिको दुनियाँमा एक प्रकारको रूपान्तरण ल्याइरहेको छ । यसले कोडिङको ढोका सबैका लागि खुला बनाइदिएको छ । तैपनि यसको प्रयोग सजग ढंगले गर्नु आवश्यक छ, ताकि सुरक्षा, विश्वसनीयता र कार्यक्षमतामा सम्झौता नहोस् ।