close

टाटा मोटर्सको ‘ह्यारियर ईभी’ सार्वजनिक

टेकपाना टेकपाना

जेठ २१, २०८२ ९:२२

टाटा मोटर्सको ‘ह्यारियर ईभी’ सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सले भारतीय बजारमा विद्युतीय एसयूभी ह्यारियर ईभी सार्वजनिक गरेको छ । मंगलबार २० जेठमा सार्वजनिक भएको उक्त गाडीको सुरुवाती मूल्य २१ लाख ४९ हजार भारु (करिब साढे ३४ लाख रुपैयाँ) तोकिएको छ । 

ह्यारियर ईभी तीन भेरियन्ट एडभेन्चर, फेयरलेस र इम्पावर्ड (Adventure, Fearless र Empowered) मा उपलब्ध हुनेछ। साथै 'Stealth Edition' नामक विशेष संस्करण पनि बजारमा ल्याइने कम्पनीले जनाएको छ ।

यस गाडीमा ६५ किलोवाट र ७५ किलोवाट गरी दुई प्रकारका ब्याट्री विकल्प दिइएका छन् । कम्पनीका अनुसार, गाडीले शून्य देखि १०० किमि प्रतिघण्टा गति ६.३ सेकेन्डमा नै लिनसक्छ । यस्तै रियर-ह्वील ड्राइभ मोडलले अधिकतम ५०५ किलोमिटरको रेन्ज दिनसक्ने बताइएको छ भने क्वाड ह्विल ड्राइभ भेरियन्टले ६२७ किलोमिटरसम्म रेन्ज दिनसक्ने कम्पनीले बताएको छ । 

ह्यारियर ईभी acti.ev+ प्लेटफर्ममा निर्माण गरिएको हो । कम्पनीले ब्याट्रीमा आजीवन वारेन्टी दिने घोषणा समेत गरेको छ । गाडीमा १४.५३ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, अटोमेटिक पार्किङ, सात एयरब्याग, ५४० डिग्री क्यामेरा र २० भन्दा बढी एडास (ADAS) लगायतका फिचर पाउन सकिन्छ । 

भारत विद्युतीय सवारीको तीव्र गतिमा बढ्दो बजार हो। टाटाले यसअघि नेक्सन ईभी र टिगोर ईभी सार्वजनिक गरिसकेको छ। नयाँ ह्यारियर ईभीमार्फत कम्पनीले प्रिमियम एसयूभी ईभी बजारमा उपस्थित बलियो बनाउने लक्ष्य राखेको छ ।

नेपाली बजारका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटाका सवारीहरू भित्र्याउने गरेको छ । भारतीय बजारमा सार्वजनिक भएको यो गाडी नेपालमा पनि चाँडै सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।

हाल नेपालमा टाटाका टियागो, टिगोर, पन्च ईभी, नेक्सन केथ्री ईभी र कर्भ ईभी उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ ९:२२