तपाईंको इन्स्टाग्राम अकाउन्ट अरू कसैले चलाइरहेको त छैन? यस्तो छ थाहा पाउने र लगआउट गर्ने तरिका
पुस २८, २०८२ ११:४४
काठमाडौँ । इन्स्टाग्राम अहिले विश्वभरका अर्बौँ प्रयोगकर्ताहरूको रोजाइमा छ । तर यसको बढ्दो लोकप्रियतासँगै सुरक्षा जोखिम र अकाउन्ट ह्याक हुने सम्भावना पनि उत्तिकै बढेको छ ।
यदि तपाईँलाई आफ्नो अकाउन्ट अरू कसैले चलाइरहेको शङ्का छ वा तपाईँले नचिनेको लोकेसनबाट लग-इन भएको सन्देश प्राप्त गर्नुभएको छ भने सतर्क हुनु एकदमै जरुरी छ । यहाँ हामी तपाईंलाई आफ्नो अकाउन्ट सुरक्षित राख्न र शङ्कास्पद डिभाइसबाट लगआउट गर्ने तरिका बारे बताउँदै छौँ ।
लग-इन एक्टिभिटी कसरी चेक गर्ने तरिका
-
सबैभन्दा पहिला इन्स्टाग्राम एपको आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
-
माथि दायाँ कुनामा रहेको तीनवटा तेर्सो धर्का (hamburger menu) मा जानुहोस् ।
-
त्यहाँ Accounts Center भित्र रहेको Password and security विकल्प रोज्नुहोस् ।
-
अब Where you’re logged in मा क्लिक गरी आफ्नो अकाउन्ट छनोट गर्नुहोस् ।
यहाँ तपाईंले हाल एक्टिभ रहेका सबै डिभाइसहरूको सूची र तिनीहरूको लोकेसन देख्न सक्नुहुन्छ । यदि त्यहाँ तपाईँले प्रयोग नगरेको कुनै डिभाइस वा अपरिचित ठाउँ यसमा देखियो भने कसैले तपाईंको पासवर्ड थाहा पाएर तपाईंको इन्स्टाग्राम अकाउन्ट चलाइरहेको हुनसक्छ ।
कसरी गर्ने लगआउट ?
यदि तपाईंले सूचीमा कुनै अपरिचित डिभाइस भेट्नुभयो भने तुरुन्तै Select devices to log out मा ट्याप गर्नुहोस् । ती डिभाइस छनोट गरी Log out बटन थिच्नुहोस् ।
यसो गर्दा ती डिभाइसबाट तपाईँको अकाउन्ट तुरुन्तै हट्नेछ । अब थप सुरक्षाका लागि तपाईंले आफ्नो पासवर्ड तुरुन्तै परिवर्तन गर्नु राम्रो हुन्छ । किनकि पासवर्ड फेर्दा सबै डिभाइसबाट अकाउन्ट स्वतः लगआउट हुन्छ ।
बलियो पासवर्ड र टु-फ्याक्टर अथेन्टिकेसन (2FA)
अहिलेको समयमा अकाउन्टको सुरक्षाका लागि केवल पासवर्ड मात्र पर्याप्त हुँदैन । यस्तोमा आफ्नो अकाउन्टलाई थप मजबुत बनाउन बलियो पासवर्डसँगै अन्य सुरक्षाका विधिहरू पनि अपनाउन जरुरी छ ।
त्यसैले कम्तीमा १२ क्यारेक्टर लामो, अक्षर, अङ्क र सङ्केतहरू मिसाएर बनाइएको युनिक पासवर्ड राख्नुहोस् । टु-फ्याक्टर अथेन्टिकेसन (2FA) सक्रिय गर्नु भयो भने कुनै नयाँ डिभाइसबाट तपाईँको अकाउन्ट लग-इन गर्न खोज्दा तपाईंको फोनमा एउटा सेक्युरिटी कोड आउँछ, जसले गर्दा पासवर्ड थाहा पाए पनि अरूले तपाईंको अकाउन्ट खोल्न सक्दैनन् ।
अकाउन्ट नै ह्याक भइसकेको अवस्थामा के गर्ने ?
यदि तपाईंको पासवर्ड नै कसैले परिवर्तन गरिदिएको छ भने आफ्नो ईमेल चेक गर्नुहोस् । इन्स्टाग्रामले [email protected] बाट तपाईंलाई ईमेल आएको हुनसक्छ ।
जसमा रहेको Revert this change विकल्प प्रयोग गरेर पासवर्ड फिर्ता पाउन सक्नुहुन्छ । साथै, तपाईंले instagram.com/hacked मा गएर पनि आफ्नो अकाउन्ट रिकभर गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ ११:४९
