भिडिओ सहितको आधुनिक वाकीटकी परीक्षण गर्दै ट्राफिक प्रहरी, के के छन् विशेषता ?
जेठ २३, २०८३ १४:६
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन भिडिओ सहितको वाकीटकी (सञ्चार सेट) को परीक्षण सुरु गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले हाल प्रयोगमा रहेका परम्परागत वाकीटकीको विकल्पका रूपमा नयाँ प्रविधिको परीक्षण भइरहेको जानकारी दिएका हुन् ।
परम्परागत वाकीटकीमा केवल आवाजको मात्र आदानप्रदान हुने गरेकोमा त्यसलाई समयसापेक्ष परिमार्जन गर्न नयाँ किसिमका बहुउपयोगी सेटको परीक्षण भइरहेको प्रहरीले जनाएको छ । नयाँ सेटबाट फोन गर्न, फोटो खिच्न, भिडिओ खिचेर तत्कालै नियन्त्रण कक्षमा पठाउन र जीपीएसमार्फत प्रहरीको वास्तविक लोकेसन पत्ता लगाउन सकिन्छ । प्रवक्ता सुवेदीका अनुसार यस प्रविधिको प्रयोगले ड्युटीमा खटिएका प्रहरी कर्मचारी कुन स्थानमा छन् भन्ने कुरा नियन्त्रण कक्षबाटै स्पष्ट देखिने हुँदा कार्यक्षेत्रमा प्रहरीको उपस्थिति र पारदर्शिता थप सुदृढ हुनेछ ।
सडकमा हुने ट्राफिक नियम उल्लंघनका घटना र मापसे (मादक पदार्थ सेवन) चेकिङमा देखिने विवादलाई न्यूनीकरण गर्न पनि यो प्रविधि उपयोगी हुने प्रवक्ता सुवेदीको भनाइ छ । “यस्तोमा प्रायः चालक र ट्राफिक बीच विवाद भइरहेको हुन्छ,” प्रवक्ता सुवेदीले टेकपानासँग भने, “यो प्रविधि भयो भने त्यसले प्रमाण सङ्कलनको काम पनि गर्छ । र, समाधान गर्न झन् सहज हुन्छ । नियम उल्लंघन गर्नेहरूको प्रमाण यसै सेटबाट खिचेर सिधै नियन्त्रण कक्षमा पठाउन सकिने व्यवस्था मिलाइएको छ ।”
विशेषगरी मापसे चेकिङमा हुने असमझदारी र अपारदर्शितालाई रोक्न यो प्रणाली सहयोगी हुने प्रवक्ता सुवेदीले बताए । “मानौँ कसैले २० जनाको मापसे चेकिङ गर्दा १० जनामा मापसे पुष्टि भयो, तर रिपोर्टमा ५ जना मात्र देखाइयो भने बाँकी ५ जनालाई कुन प्रभाव वा बदमासीका आधारमा छोडियो भन्ने कुरा हामी प्रणालीबाट सजिलै पत्ता लगाउन सक्छौँ,” सुवेदीले भने, “यसले गर्दा कुनै पनि प्रकारको अनियमितताका आधारमा कारबाहीबाट उम्कने सम्भावना रहँदैन र कारबाही प्रक्रिया पारदर्शी हुन्छ ।”
यस डिभाइसबाट प्राप्त हुने जरिवानाको रसिदमा कारबाही गरिएको स्थानको अक्षांश र देशान्तर (ल्याटिच्युड र लङ्गिच्युड) सहितको म्याप र जीपीएस नम्बरसमेत उल्लेख हुन्छ । जसका कारण कारबाही कुन स्थानमा भएको हो भन्ने कुरा स्पष्ट रूपमा प्रमाणित हुने र स्थानका विषयमा विवाद गर्ने ठाउँ नरहने प्रहरीको भनाइ छ ।
हाल यो डिभाइस परीक्षणकै चरणमा रहेको र सफल भएपछि यसलाई विस्तार गरेर थप सेट भित्र्याइने योजना ट्राफिक प्रहरीको छ । “अहिले यति नै परीक्षण गरिरहेका छौं भनेर भन्न सकिने अवस्था छैन, जे होस् हामी परीक्षण गरिरहेका छौं,” उनले भने, “सफल भयो भने हामी पहिले काठमाडौं उपत्यकामा विस्तार गर्छौं । र, विस्तारै देशका अन्य भागमा पनि पुर्याइन्छ ।”
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १६:२५
