close

भाइरल बनेपछि अर्थमन्त्री वाग्लेले हटाए ७ वर्ष पुरानो ‘स्वर्णिम मन्त्रिमण्डल’ लेखिएको फेसबुक पोस्ट

टेकपाना टेकपाना

बैशाख २, २०८३ १८:२

भाइरल बनेपछि अर्थमन्त्री वाग्लेले हटाए ७ वर्ष पुरानो ‘स्वर्णिम मन्त्रिमण्डल’ लेखिएको फेसबुक पोस्ट

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बनेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सात वर्ष पुरानो आफ्नो एक फेसबुक पोस्ट हटाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई कटाक्ष गर्दै वाग्लेले २५ मे २०१८ मा ‘स्वर्णिम मन्त्रीमण्डल’ भन्दै पोस्ट गरेका थिए ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण गएको २९ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको थियो । प्रधानमन्त्रीसहित १६ मन्त्रीको सम्पत्ति विवरण बाहिर आउँदा सबैसँग ठुलो परिमाणमा ‘सुन’ रहेको तथ्य सार्वजनिक भयो ।

सोही सन्दर्भलाई जोडेर सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा मन्त्रीहरूको सम्पत्तिबारे चर्चा हुन थाल्यो र मन्त्री वाग्लेको सात वर्ष पुरानो पोस्ट पुनः भाइरल भयो । पुरानो पोस्ट भाइरल भएपछि उनले अहिले त्यसलाई हटाएका छन् ।

  

 

 

वाग्लेले पोस्ट हटाए पनि त्यसको स्क्रिनशट भने सामाजिक सञ्जालमा फैलिएको छ । सामाजिक सञ्जालमा फरक-फरक डिभाइसबाट लिइएका स्क्रिनशट भाइरल भइरहेका छन्, जहाँ वाग्लेको अकाउन्टबाट सात वर्षअघि तत्कालीन मन्त्रिमण्डललाई कटाक्ष गरिएको थियो ।

यसबाहेक गुगलमा इन्डेक्स भएका पेजको सूचीमा खोज्दा पनि सात वर्षअगाडि वाग्लेकै अकाउन्टबाट उक्त पोस्ट गरिएको फेला परेको छ । यद्यपि, हाल उक्त पोस्ट हटाइसकिएकाले त्यसको वास्तविक लिङ्क खोल्दा सामग्री हटाएको सूचना देखिन्छ । 

उक्त लिङ्क आर्काइभका विभिन्न प्लेटफर्ममा खोज्दा फेला नपरे पनि उपलब्ध प्रमाण र स्क्रिनशटले पोस्ट वास्तविक भएको र हालै हटाइएको पुष्टि हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १९:२२