close

असान्दर्भिक पोस्ट र अत्यधिक विज्ञापनले फेसबुक-इन्स्टा प्रयोगकर्ता वाक्क, २ करोडले चलाउनै छाडे

टेकपाना टेकपाना

बैशाख १८, २०८३ ८:१२

असान्दर्भिक पोस्ट र अत्यधिक विज्ञापनले फेसबुक-इन्स्टा प्रयोगकर्ता वाक्क, २ करोडले चलाउनै छाडे

काठमाडौँ । लामो समयदेखि प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्रामको फिडको गुणस्तरप्रति असन्तुष्टि जनाउँदै आएकोमा अब यसलाई आधिकारिक तथ्याङ्कले पनि पुष्टि गरेको छ । मेटाले गएको त्रैमासिकमा आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्यामा २ करोडको गिरावट आएको स्वीकार गरेको हो ।

यो गिरावट मेटाले प्रयोग गर्ने फेमिली डेली एक्टिभ पिपल (Family daily active people) समूहमा देखिएको हो । जसमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरका कूल प्रयोगकर्ताहरू पर्दछन् ।

प्रयोगकर्ताहरूले फिडमा आएको चरम गिरावटलाई 'इन्सिटिफिकेसन'को संज्ञा दिएका छन् । आफ्नो फिडमा लगभग प्रत्येक तेस्रो पोस्ट विज्ञापन हुने गरेको धेरैको गुनासो छ ।

यसबाहेक आफ्ना साथीभाइ र परिवारका पोस्टहरूभन्दा पनि 'X ले Y मा रुचि राख्छ' भन्ने जस्ता असान्दर्भिक सामग्रीहरूले फिड भरिने गरेको छ । कतिपय प्रयोगकर्ताहरूले त फेसबुक अब केवल सिधा मेसेजिङ (डीएम) र ग्रुप च्याटका लागि मात्र उपयोगी रहेको र बाँकी सामग्री मानसिक स्वास्थ्यका लागि समेत घातक हुन सक्ने टिप्पणी गरेका छन् ।

मेटाले प्रयोगकर्ता सङ्ख्यामा आएको यो गिरावटको दोष इरानमा भएको इन्टरनेट अवरोध र रूसमा ह्वाट्सएपमा लगाइएको प्रतिबन्धलाई दिएको छ । यद्यपि प्रविधि विश्लेषकहरू यो तर्कमा पूर्ण रूपमा विश्वस्त छैनन् । कम्पनीले कुन भौगोलिक क्षेत्रबाट कति प्रयोगकर्ता घटेका हुन् भन्ने स्पष्ट तथ्याङ्क नदिएकाले यो दाबी शङ्कास्पद रहेको उनीहरूको बुझाइ छ ।

मेटाले यो स्थितिलाई एक वेक-अप कल (wake-up call) को रूपमा लिएको छ र फिडको गुणस्तर सुधार्न इन्स्टाग्रामको रिकमेन्डेसन एल्गोरिदममा फेरबदल गर्ने घोषणा गरेको छ । अब इन्स्टाग्रामले फोटो र क्यारोसेल पोस्टहरूमा मौलिक सामग्री (Original Content) लाई बढी प्राथमिकता दिनेछ ।

यदि कुनै अकाउन्टले अरूको फोटो वा क्यारोसेल पोस्टहरू कुनै ठोस (material) परिमार्जन बिना पुनः पोस्ट गर्छ भने त्यस्ता पोस्टहरूको पहुँच (reach) घटाइनेछ ।

अरूको सामग्री मात्र पोस्ट गर्ने अकाउन्टहरू नयाँ भ्युअरहरूको रिकमेन्डेसनमा देखा पर्ने छैनन् । यस्तै खालका परिवर्तनहरू फेसबुकमा पनि लागु गरिँदै छ। यद्यपि यी उपायहरूले प्रयोगकर्ताको अनुभवमा वास्तविक सुधार ल्याउनेछन् वा छैनन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ ८:१२