साढे ४ वर्षपछि दराजको प्रबन्ध निर्देशक पदबाट बाहिरिँदै आँचल कुँवर, कार्यवाहकमा बेन यी
जेठ २२, २०८३ १६:५८
काठमाडौँ । ई-कमर्स प्लेटफर्म ‘दराज नेपाल’ को प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने भएकी छिन् । साढे ४ वर्षदेखि दराज नेपालको नेतृत्व गरिरहेकी कुँवरले ३० जुन २०२६ बाट प्रबन्ध निर्देशक पदबाट बाहिरिन लागेको जानकारी दिएकी हुन् । शुक्रबार इन्टाग्राममा पोस्ट गर्दै कुँवरले प्रबन्ध निर्देशक पदबाट बाहिरिए पनि सन् २०२६ को अन्त्यसम्म दराज नेपालको सल्लाहकारको भूमिकामा रहने जानकारी गराएकी छिन् ।
करिब साढे ५ वर्ष अमेजनमा काम गरेको अनुभव लिएर नेपाल फर्किएकी कुँवरले जनवरी २०२२ बाट दराज नेपालको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन् । सो समयमा नेपालको डिजिटल भविष्यमा योगदान दिने उद्देश्यसहित नेपाल आएको उनले बताएकी छिन् ।
आफ्नाे कार्यकालमा कम्पनीको व्यवसायलाई दुई गुणा बढाएको, ३० लाख बढी ग्राहकलाई सेवा उपलब्ध गराएको कुँवरको भनाइ छ । साथै, दराज नेपालसँग २४ हजार बढी व्यावसायीहरू जोडिएको र त्यसमध्ये ८५ प्रतिशत साना तथा मझौला व्यावसायी रहेको उनले बताइन् । यस्तै, हाल नेपालको १४० भन्दा बढी स्थानबाट दराजले सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिएकी छिन् ।
उनले भनिन्, “दराजसँगको यात्रा सकिन लागे पनि नेपालको डिजिटल भविष्यका लागि गर्ने योगदानमा भने निरन्तरता रहने छ ।” दराजको नेतृत्व परिवर्तन १ जुलाई (१७ असार) देखि लागू हुने बताइएको छ । कुँवर बाहिरिएपछि बेन यी दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहने छन् । दराज समूहका प्रमुख व्यावसायिक अधिकृतसमेत रहेका यी दराज बङ्गलादेशका प्रबन्ध निर्देशक हुन् ।
यस्तै, दराज नेपालको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन् । वित्तीय व्यवस्थापन र सञ्चालन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका लुइटेल दराज नेपालमा पछिल्लो सात वर्षदेखि कार्यरत छन् । हाल उनले दराज नेपाल तथा दराज श्रीलङ्काका लागि वित्त प्रमुखको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १७:२६
