close

के हो युट्युबर खान सरलाई विवादित बनाएको लफडा ?

टेकपाना टेकपाना

जेठ २५, २०८३ १२:५

के हो युट्युबर खान सरलाई विवादित बनाएको लफडा ?

काठमाडौं । खान सर (फैजल खान) - डिजिटल दुनियाँका एक ठुला स्टार, जसले युट्युबबाटै लाखौँ विद्यार्थीको मन जितेका छन् । तर पछिल्लो समय उनी गम्भीर विवादमा मुछिएका छन् ।

सस्तो शुल्कमा अनलाइन शिक्षा दिएर भारतभर मात्र नभई नेपालमा समेत चर्चित बनेका पटनाका खान सर विरुद्ध एफआईआर दायर भएको छ । उनीमाथि ज्यान मार्ने उद्योग र हतियार ऐन अन्तर्गत गम्भीर मुद्दा दर्ता भएको छ ।

एउटा युट्युबर र शिक्षक कसरी यति ठुलो आपराधिक विवादमा फसे ? यसको पछाडिको कर्पोरेट युद्ध, फेक दाबी र सामाजिक सञ्जालको भिडिओले सिर्जना गरेको नयाँ मोडलाई यहाँ प्रस्तुत गर्दै छौँ ।

घटनाको सुरुवात: जुन २ को त्यो रात

यो विवादको सुरुवात गत २ जुनको राति करिब १०:१० बजे पटनाको मुसल्लाहपुर हाट क्षेत्रबाट भएको हो । द इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाका रिपोर्टहरू अनुसार खान सरको कोचिङ सेन्टर खान ग्लोबल स्टडिज (KGS) मा केही अज्ञात समूहले तोडफोड गर्‍यो ।

सुरुमा खान सरले मिडियासामु आएर निकै भावनात्मक बयान दिए । गरिब विद्यार्थीलाई सस्तो शुल्कमा पढाएको देखेर डराएका महँगा प्रतिस्पर्धी कोचिङ सेन्टरहरूले आफूमाथि हमला गराएको दाबी खान सरले गरेका थिए । आक्रमणकारीहरूले उनका सुरक्षा गार्ड चुनचुनलाई फलामको रडले कुटपिट गरेको र कोचिङ सेन्टरमा ८-१० राउन्ड गोली चलाएको उनको दाबी थियो । खान सरको यो दाबीपछि प्रहरीले उनीहरूकै प्रतिस्पर्धी ज्ञान विन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्द र उनका सहयोगीहरूलाई पक्राउ गर्‍यो ।

कथामा नयाँ ट्विस्ट: भाइरल भिडिओ र गार्डहरूको गिरफ्तारी

सुरुमा खान सर पीडितका रूपमा देखिए पनि कथाले तब नाटकीय मोड लियो, जब एउटा सीसीटिभी भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । हिरासतमा रहेका रोशन आनन्दको ज्ञान विन्दु कोचिङका अन्य शिक्षकहरूले पत्रकार सम्मेलन गर्दै एउटा भिडिओ सार्वजनिक गरे । उक्त भिडिओमा बाहिरका आक्रमणकारीले होइन, खान सरकै सुरक्षा गार्डहरूले बन्दुक चलाइरहेको प्रस्ट देखियो ।

भिडिओ बाहिरिएपछि पटना प्रहरी फेरि खान सरको कोचिङ सेन्टर पुग्यो र उनका दुई सुरक्षा गार्ड - प्रदीप कुमार र तालेबर सिंहलाई पक्राउ गर्‍यो । पक्राउ परेका गार्डहरूले प्रहरीसामु सनसनीपूर्ण बयान दिएको कुरा टाइम्स अफ इन्डियाले प्रहरी स्रोतलाई उद्धृत गर्दै लेखेको छ । सेक्युरिटी गार्डहरूका अनुसार, बाहिर भीड जम्मा भएपछि खान सरले नै उनीहरूलाई आदेश दिँदै भनेका थिए, "के हेरेर बसेको, तुरुन्तै भीडमा गोली चलाऊ, जे हुन्छ म सम्हाल्छु ।" यही बयान र भिडिओ प्रमाणका आधारमा पटना प्रहरीले खान सरविरुद्ध ज्यान मार्ने उद्योग र आर्म्स एक्ट (हतियार ऐन) अन्तर्गत एफआईआर दर्ता गरेको हो ।

विवादको चुरो: रिजल्टको झुटो दाबी र कर्पोरेट वार

बाहिर हेर्दा यो दुई समूहबिचको सामान्य झडप जस्तो देखिए पनि यसको भित्री चुरो भनेको अर्बौँको कोचिङ बजार र कर्पोरेट वर्चस्वको लडाइँ रहेको देखिएको छ । भर्खरै मात्र बिहार पुलिसमा सिपाही (कन्स्टेबल) भर्तीको नतिजा सार्वजनिक भएको थियो ।

सरकारले जम्मा १९,८३८ सिट खुलाएको थियो । तर, बजारमा आफूलाई अब्बल देखाउन खान सरले आफ्ना मात्रै १२,००० विद्यार्थी पास भएको दाबी गरे । उता रोशन सर (ज्ञान विन्दु) ले आफ्ना १०,००० विद्यार्थी पास भएको दाबी गरे । दुवैको दाबी जोड्दा २२,००० पुग्छ । जबकि कूल दरबन्दी नै करिब २० हजार मात्र थियो । यो असम्भव र फेक दाबीको होडबाजीले दुवै पक्षबिच शक्ति प्रदर्शनको लडाइँ सुरु भयो ।

यसका साथै यो प्राइसिङ अर्थात् शुल्कको पनि लडाइँ थियो । खान सरले बिहार पुलिसको अनलाइन कोर्समा छुट दिएर मात्र ४९९ रुपैयाँमा पढाउने विज्ञापन गरेका थिए भने रोशन सरको ज्ञान विन्दुले सोही कोर्सको ९९९ रुपैयाँ लिने गर्थ्यो । खान सरको सस्तो मोडेलले अरूको व्यापारमा धक्का लागेको थियो । जेलबाट अदालतमा पेस हुँदा रोशन आनन्दले टाइम्स अफ इन्डियासँगको कुराकानीमा यो आफूलाई र आफ्नो कोचिङलाई सिध्याउन खान सरले रचेको फायरिङ ड्रामा (षड्यन्त्र) मात्र भएको बताएका छन् ।

कानुनी अडचन र वकिलको तर्क

एफआईआर दर्ता भएपछि खान सर फरार रहेको र प्रहरीले खोजी गरिरहेको खबर बाहिरिएको छ । एबीपी न्युजको रिपोर्टमा उल्लेख भएअनुसार खान सरका वकिल अरविन्द कुमारले खान सरले पटना सिभिल कोर्टमा आत्मसमर्पण गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । वकिलका अनुसार, खान सरविरुद्ध दर्ता भएको मुद्दा प्रतिशोधको भावनाबाट प्रेरित रहेको छ र गार्डहरूले केवल ज्यान बचाउन सेल्फ डिफेन्स (आत्मरक्षा) का लागि मात्र हवाई फायर गरेका थिए । उनीहरूले अदालतमा अग्रिम जमानतका लागि अपिल गर्दैछन् ।

यसैबिच खान सरका हजारौँ विद्यार्थीहरू भने उनको समर्थनमा र रोशन सरका विद्यार्थीहरू उनको रिहाइको माग गर्दै सडकमा उत्रिएका छन् । विद्यार्थीहरूको भावना र भिडको फाइदा उठाउँदै यो मुद्दालाई थप चर्काउने काम भइरहेको छ ।

थपियो अर्को सङ्कट: फायर सेफ्टी अडिट

फायरिङ काण्डले मात्र नभई खान सरलाई यतिबेला सरकारी निकायको अर्को अनुसन्धानले पनि अप्ठ्यारोमा पारेको छ । द इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, बिहार फायर सर्भिसेज (अग्नि नियन्त्रक सेवा) ले खान ग्लोबल स्टडिजको पटनास्थित भवनमा फायर सेफ्टी अडिट गरेको छ । अडिटका क्रममा त्यहाँ फायर अलार्म नभएको, फायर पम्प नभएको र ओभरहेड वाटर ट्याङ्कको क्षमता अपर्याप्त रहेको जस्ता गम्भीर त्रुटिहरू फेला परेका छन् । विभागले एक हप्ताभित्र यी सबै कमीकमजोरी सुधार्न नोटिस दिएको छ । अन्यथा कोचिङ सेन्टर नै सिल गरिने चेतावनी दिइएको छ ।

शिक्षामा माफियागिरी

यस घटनाले कोचिङ माफियाहरूको असली अनुहार बाहिर ल्याएको भन्दै भारतभर आलोचना भइरहेको छ । बिहारका शिक्षामन्त्री मिथिलेश तिवारीले आगामी तीन महिनाभित्र यस्ता कोचिङ सेन्टरहरूको अस्वस्थ प्रतिस्पर्धा रोक्न कडा नियम ल्याउने घोषणा गरेका छन् ।

यो लफडा एउटा युट्युबरको कानुनी लडाइँ मात्र रहेन; अनलाइन एडुटेक (EdTech) भित्रको कर्पोरेट वार, झुटो विज्ञापन र विद्यार्थीहरूको मनोविज्ञानमाथि गरिएको व्यापारको एउटा खतरनाक उदाहरण बनेको छ । अदालतको फैसला र प्रहरीको अन्तिम अनुसन्धान नआएसम्म यो विवादले अझै कुन मोड लिने हो, त्यो भने हेर्न बाँकी नै छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १२:१४