close

पैसा कमाउने प्रोग्रामर बन्न सिकाउने १३ अनलाइन प्लेटफर्म

सञ्जीवन राई सञ्जीवन राई

माघ २३, २०८० ११:२१

पैसा कमाउने प्रोग्रामर बन्न सिकाउने १३ अनलाइन प्लेटफर्म

काठमाडौं । कुनै कम्प्युटर प्रोग्राम बनाउन होस्, मोबाइल एप बनाउन अथवा वेबसाइट बनाउन नै किन नहोस्, प्रोग्रामिङको सीप चाहिन्छ ।  सामान्य अर्थमा भन्नुपर्दा कम्प्युटरले बुझ्न सक्ने भाषामा विभिन्न निर्देशन लेख्नु नै प्रोग्रामिङ हो । 

यस क्षेत्रमा आवश्यक जनशक्तिको माग क्रमश: बढ्दै गइरहेको हुन्छ । त्यसैले यस क्षेत्रको सीप भएका जोकोही सजिलै आत्मनिर्भर वा जागिरमा संलग्न हुन सक्छन् । 

प्रोग्रामिङ सम्बन्धी सीप सिक्न त्यति साह्रो औपचारिक शिक्षा लिइरहनु पर्छ भन्ने अनिवार्यता पनि छैन । फेरि उद्योग क्षेत्रमा कामका लागि यस क्षेत्रका कम्पनीहरूले विश्वविद्यालयहरूले दिने शैक्षिक प्रमाणपत्रभन्दा पनि सीप र दक्षतालाई बढी प्राथमिकता दिइरहेका हुन्छन् । त्यसो हुँदा यदि तपाईं प्रोग्रामिङको क्षेत्रमा नयाँ हुनुहुन्छ भने पनि भविष्य बनाउन सक्नुहुन्छ । 

तपाईं जस्तै प्रोग्रामिङमा रुचि भएकाहरूका लागि अहिले थुप्रै अनलाइन सिकाइका माध्यम इन्टरनेटमा उदाएका छन् । आज हामी ती मध्ये धेरैले प्रयोग गर्ने र विश्वसनीय मानिने एक दर्जन प्लेटफर्म बारे चर्चा गर्दै छौं ।  

 

१. एमआईटी ओपनकोर्सवेयर (MIT OpenCourseWare)

 

प्रतिष्ठित अमेरिकन विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले उपलब्ध गराएको नि:शुल्क शैक्षिक सामग्रीहरू पाउने प्लेटफर्म हो, एमआईटी ओपनकोर्सवेयर । प्रोग्रामिङको क्षेत्रका नवप्रवेशीहरूका लागि यो एउटा राम्रो स्रोत बन्न सक्छ । 

किनकी यसमा सी, सी++, जाभा, पाइथन लगायतका प्रोग्रामिङ ल्याङ्ग्वेजको कोर्स पाउन सकिन्छ । यो प्लेटफर्मबाट तपाईंले अनुकूल समयमा विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेज अथवा यस क्षेत्रसँग सम्बन्धित अन्य विषयबारे सिक्न सक्नुहुन्छ । यहाँ पाइने कोर्स आधारभूत पाठ हुन् । 

यद्यपि तपाईंले उक्त पाठसँग सम्बन्धित विभिन्न स्लाइड तथा गृहकार्य समेत बनाउन सक्नुहुन्छ  । यसमा पाइने कोर्स तपाईंले अनलाइनमा पढ्न अथवा तिनलाई डाउनलोड गरेर अफलाइन पनि पढ्न सक्नुहुन्छ । यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।

 

२. एडएक्स (edX)​

कलेजस्तरका पाठ्यसामग्री पाइने यो प्लेटफर्म एमआईटी र हार्वर्ड विश्वविद्यालयको संयुक्त पहलमा सुरु भएको थियो । एडएक्स एक गैरनाफामूलक संस्था भएकाले यसमा अधिकांश शैक्षिक सामग्री नि:शुल्क उपलब्ध छन् । यद्यपि केही पाठहरू भने पढ्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ । 

यसमा विशेष गरेर कम्प्युटर साइन्स, इन्जिनियरिङ, बिजनेस एन्ड म्यानेजमेन्टका कोर्स बढी पाइन्छन् । सजिलोका लागि वेबसाइटमा विभिन्न तहहरू विभाजन गरेर कोर्स राखिएका छन् । जसले गर्दा तपाईंलाई कोर्स खोज्न पनि सजिलो बनाउँछ । यसमा रहेका सशुल्क कोर्स अध्ययन गर्दा प्रमाणपत्र पनि पाउन सकिन्छ । यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।

 

३. कोर्सेरा (Coursera) 

 

अमेरिका स्थित स्ट्यानफोर्ड विश्वविद्यालय र केही भेन्चर क्यापिटलहरूले सुरु गरेको अनलाइन कोर्स प्लेटफर्म हो, कोर्सेरा । विभिन्न विश्वविद्यालय र कम्पनीहरूसँग सहकार्य गर्दै कोर्सेराले फरक फरक कोर्स उपलब्ध गराइरहेको हुन्छ ।

यसमा पाइने कोर्सहरू विशेषत सीप विकासमा केन्द्रित छन् । जस्तो: कि छ महिने डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम कोर्समा साधारणदेखि जटिल सम्मका विभिन्न विषय समेटिएका छन् । जसमा आधारभूत डेटा स्ट्रक्चरदेखि  एड्भान्स एग्लोरिदमसम्मका कोर्स पाउन सकिन्छ ।  यसमा नि:शुल्क र सशुल्क कोर्सहरूको छुट्टाछुट्टै सूचि तयार पारिएको छ ।  

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् । 

 

४. युडासिटी (Udacity)

 

एमआईटी ओसीडब्लू, एडएक्स जस्तै युडासिटी पनि एक प्रकारको अनलाइन लर्निङ प्लेटफर्म हो । यो प्लेटफर्म गणित, सामाजिक जस्ता विषयमा केन्द्रित नभएर प्रोग्रामिङ, डेटा साइन्स र इन्जिनियरिङसँग सम्बन्धित कोर्समा केन्द्रित छ । 

यस प्लेटफर्मले विशेष गरेर नानोडिग्री प्रोग्राममा ध्यान दिने भएकाले यहाँ पाइने कोर्सहरू तुलनात्मक रूपमा केही लामा हुन्छन् । त्यस्ता कोर्सले सम्बन्धित क्षेत्रमा गहिरो ज्ञान हासिल गर्न ठूलो सहयोग गर्छ । तर ती मध्ये कतिपय कोर्स अध्ययन गर्न भने पैसा तिर्नु पर्ने हुन्छ । 

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् । 

 

५. युडेमी (Udemy)

युडेमी एक प्रकारको अनलाइन एजुकेसन मार्केटप्लेस हो । यहाँ जो कोहीले अरूको लागि कोर्स सिर्जना गर्न (र बेच्न पनि) सक्छ । सोही कारण कतिपय अवस्थामा अदक्ष व्यक्तिहरूले बनाएका कोर्सहरू पनि तपाईंले यहाँ फेला पार्न सक्नुहुन्छ । 

यद्यपि यसमा राम्रो कोर्स नपाइने भन्ने हुँदैन । यसमा प्रोग्रामिङ सम्बन्धी दक्ष व्यक्तिहरूले नै बनाएका कोर्स पनि पाइन्छन् । तर सही कोर्स खोज्न भने तपाईंले केही मेहेनत भने गर्नुपर्ने हुन्छ । 

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् । 

 

६. फ्रि कोड क्याम्प (freecodecamp) 

यदि तपाईं भविष्यमा वेब डेभलपर बन्न चाहनुहुन्छ भने तपाईंका लागि यो प्लेटफर्म एउटा राम्रो विकल्प बन्न सक्छ । यसमा फ्रन्टएन्ड तथा ब्याकएन्ड डेभलपर बन्नका लागि आवश्यक प्रायः सबैजसो पाठ उपलब्ध छन् । 

वेब डिजाइन, डेटा भिजुअलाइजेसन, मसिन लर्निङ लगायतका विषयमाथि बनाइएका कोर्सहरू यस प्लेटफर्ममा पाउन सकिन्छ । यदि तपाईंसँग कुनै पनि कोडिङ अनुभव छैन भने पनि यो प्लेटफर्ममा सुहाउँदा कोर्स भेट्न सक्नु हुन्छ । तपाईंले मात्र ती कोर्स सुरुदेखि अन्त्यसम्म नछुटाइ अध्ययन गर्नु पर्ने हुन्छ ।

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।  

 

७. खान एकेडेमी (Khan Academy)

 

गैर-नाफामूलक संस्थाका रूपमा क्रियाशील खान एकेडेमी अनलाइन अध्ययन गर्नेको मुख्य रोजाइको प्लेटफर्म बनिरहेको छ । यस प्लेटफर्मले विगत एक दशकदेखि शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ । यसमा गणित, विज्ञान, सामाजिक अध्ययन, विश्व इतिहास, साहित्य लगायत धेरै क्षेत्रका विषयहरू समेटिएका छन् । 

अझ पछिल्लो समयमा अनलाइन सिकाइलाई थप प्रभावकारी बनाउन यसमा एआई समेत एकीकृत गरिएको छ । यसमा उपलब्ध प्रोग्रामिङसँग सम्बन्धित विषयहरू भने जाभास्क्रिप्ट, एचटीएमएल, सीएसएस, एसक्यूएल, पाइथन आदि हुन् । 

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।

 

८. ओपनकोर्सर (OpenCourser)

ओपनकोर्सर माथि उल्लिखित साइटहरू जस्तै केवल अनलाइन लर्निङ प्लेटफर्म मात्र होइन । यो एउटा सर्च इन्जिन समेत हो । यसबाट इन्टरनेटमा रहेका हजारौं निःशुल्क अनलाइन कोर्स ब्राउज गर्न सकिन्छ ।

यो प्लेटफर्ममा प्रोग्रामिङ सम्बन्धी ९०० भन्दा बढी नि:शुल्क अनलाइन कोर्स रहेका छन् । जुन आउँदा दिनमा थपिँदै जाने निश्चित छ । ओपनकोर्सरको मुख्य विशेषता भनेको यसबाट अन्य लर्निङ प्लेटफर्ममा रहेका कोर्स समेत खोज्न मिल्ने सुविधा हो ।

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।

 

९. डब्लूथ्री स्कुल्स (W3Schools)

 

डब्लूथ्री स्कुल्स वेबसाइटमा तपाईं अनलाइन कोड सिक्न सक्नुहुन्छ । यसमा वेब डेभलपमेन्टका लागि आवश्यक पर्ने विभिन्न पाठ्य सामग्री र  स्रोत उपलब्ध छन् । 

एचटीएमएल, सीएसएस, पीएचपी, जाभास्क्रिप्ट, जेक्वेरी, एक्सएमएल, एसक्यूएल, एएसपी, जेएसपीजस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजका पाठ्यक्रम डब्लूथ्री स्कुल्समा उपलब्ध छन् । यसमा तपाईंले निःशुल्क आधारभूत तहदेखि एड्भान्स तहसम्म काेडिङ सिक्न सक्नुहुन्छ ।

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् । 

१०. कोडक्याडमी (Codecademy) 

 

विभिन्न गतिविधिको माध्यमबाट प्रोग्रामिङ सिकाउने प्लेफर्मका रूपमा कोडक्याडमी चिनिएको छ । यस प्लेफर्मको लक्ष्य प्रोग्रामिङ ल्याङ्ग्वेज र फ्रेमवर्कहरूको आधारभूत कुरा सरल तरिकाले सिकाउनु हो ।

यसमा उपलब्ध प्रत्येक कोर्सलाई गेमिफाइड (गेमको माध्यम सिक्न सकिने) गराइएको छ । तर यसमा भएका धेरैजसो कोर्स आधारभूत र सतही छन् ।

यदि तपाईंको लक्ष्य प्रोग्रामर नै बन्ने हो भने यो उपर्युक्त प्लेटफर्म हुन सक्छ । त्यस्तै यदि तपाईंसँग पहिल्यै कोडिङ अनुभव छ र केवल नयाँ भाषाको सिन्ट्याक्स सिक्न चाहनुहुन्छ भने पनि यो प्लेटफर्म उपयोगी हुन सक्छ।

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् ।
 

११. द ओडिन प्रोजेक्ट (The Odin Project)

 

प्रोग्रामिङ सिकाउनमा केन्द्रित अर्को प्लेटफर्म हो, ओडिन प्रोजेक्ट । यसबाट एचटीएमएल, सीएसएस, जाभास्क्रिप्ट, रुबि अन रेल्स जस्ता प्रोग्रामिङसँग सम्बन्धित विषयहरू सिक्न सकिन्छ । 

महँगो बुटक्याम्पमा नगइकनै यस क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ भने यो प्लेटफर्म एउटा विकल्प हुन सक्छ । किनकी प्लेटफर्ममा तपाईंले पूरा गरेका प्रोग्रामिङसँग सम्बन्धी परियोजना वास्तविक संसारमा आधारित हुन्छन् । 

यो प्लेटफर्ममा जान यहाँ क्लिक गर्नुहोस् । 

 

१२. युट्युब (Youtube)

 

यो सूचिमा छुटाउनै नहुने अर्को प्लेटफर्म हो, युट्युब । प्रोग्रामिङसँग सम्बन्धित हजारौं ट्युटोरियल प्लेलिस्टहरू युट्युबमा पाइन्छन् । तर ती मध्ये अधिकांश सतही वा अपूर्ण हुन्छन् । अथवा शिलशिलाबद्ध हुँदैनन् । 

यद्यपि यति भन्दै गर्दा युट्युबमा केही छैन भन्ने होइन । यदि राम्रोसँग खोज्नु भयो भने उपयोगी भिडिओहरू यसमा भेट्न सकिन्छ । प्रोग्रामिङ सिक्ने सजिलो र सरल माध्यम भने युट्युब हो ।

 

१३. प्रोग्रामिज (programiz)


माथि चर्चा गरिएका प्लेटफर्महरू विदेशी भए पनि त्यस्तै एउटा विश्व बजारमा प्रभावकारी नेपाली प्लेटफर्म हो, प्रोग्रामिज । प्रोग्रामिङसँग सम्बन्धित ज्ञान तथा सीप सिक्न सकिने यो प्लेटफर्ममा पाइथन, एसक्यूएल, एचटीएमएल, जाभास्क्रिप्ट, सी, सी++, सी# लगायतका थुप्रै प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । 

साथै यी प्रोग्रामिङलाई जाँच्ने कम्पलाइर टुल पनि प्रोग्रामिजमा निःशुल्क उपलब्ध छ । यो प्लेटफर्मबारे थप जान्न यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: माघ २३, २०८० २०:०