एआई मार्फत नक्कली सदस्यता-पत्र बनाउँदै भ्रम फैलाउने होडबाजीमा राजनीतिक दलका समर्थक
जेठ २७, २०८३ १०:३७
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा कुनै पार्टीको सदस्यता लिइएको जस्तो देखिने गरी फेक सदस्यता देखाउने ट्रेन्ड सुरु भएको छ । विवादास्पद व्यक्ति तथा अन्य कुनै पार्टीको नेतृत्व तहमा रहेका नेताहरू अर्को पार्टीमा प्रवेश गरेको जस्तो देखिने गरि प्रयोगकर्ता तथा समर्थकले नक्कली परिचय-पत्र बनाउँदै सामाजिक सञ्जालमा भ्रामक पोस्ट शेयर गर्ने प्रवृत्ति देखिएको हो ।
६ जुनमा फेसबुक प्रयोगकर्ता लक्ष्मण धामीले श्रीमती हत्यामा संलग्न ‘नेपाली ब्रो’ भनिने कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य भएको दाबीसहित एक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले हत्यामा अभियोग लागेका थापा रास्वपा सदस्य भएको दाबी गरिएको छ ।
पोस्टमा राखिएको परिचय-पत्रमा रास्वपाको सदस्यता नम्बर र सदस्यता मितिसहित कुमार थापाको व्यक्तिगत विवरण राखेको देख्न सकिन्छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

यो स्क्रिनशट सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै शेयर गरेका छन् । ती पोस्टहरू हेर्न यहाँ, यहाँ, यहाँ क्लिक गर्नुहोस् । ती पोस्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता रास्वपा माथि खनिएका छन् । केहीले रास्वपाको भएका कारण नै पीडितले न्याय नपाउने भन्दै शङ्का समेत व्यक्त गरेका छन् ।
तर उक्त तस्बिर फेक देखिएको छ । तस्बिर बनाउन ओपन एआईको टुलको प्रयोग गरिएको छ । भेरिफाइ ओपन एआई जेनेरेटेड इमेजले उक्त तस्बिर ओपन एआईको टुल प्रयोग गरेर तयार पारेको देखाउँछ ।

उक्त भाइरल स्क्रिनशटको खण्डनमा रास्वपा जिल्ला कार्यालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नुवाकोटका पार्टी सदस्यताको नम्बर ‘NUW 2 ख - 000’ बाट सुरु हुने जानकारी दिँदै कुमार थापा रास्वपाको सदस्य नभएको बताएको छ ।

‘नेपाली ब्रो’ रास्वपाको सदस्य भएको भन्दै एआई निर्मित स्क्रिनशट भाइरल गराइएपछि विभिन्न पार्टीका नेताहरू अर्कै पार्टीमा प्रवेश गरेको जस्तो देखाउने एआई निर्मित नक्कली परिचय-पत्र भाइलर हुन थालेका हुन् ।
यस्तै ट्रेन्डमध्ये पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाको सदस्यता लिएको दाबी सहितको स्क्रिनशट भाइरल भइरहेको छ ।
‘यो फेक त हैन नि है’ भन्दै सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता @Birgunjse ले ओलीले रास्वपाको सदस्ता रहेको देखिने स्क्रिनशट ८ जुनमा पोस्ट गरेका छन् । उक्त पोस्टमा कमेन्ट गर्दै रास्वपाका समर्थकले ओली रास्वपाको सदस्य बन्न समेत लायक नभएको भन्दै नकारात्मक कमेन्ट गरेका छन् । उक्त परिचय पत्र पनि ओपन एआईकै टुल प्रयोग गरेर तयार पारिएको देखिएको छ ।

केपी ओली रास्वपामा प्रवेश गरेको देखिने फेक स्क्रिनशट भाइरल भएसँगै नेकपा एमालेले विज्ञप्ति निकाल्दै आपत्ति नै जनायो ।
यस्तै Nepali honi नामक फेसबुक पेजले केपी शर्मा ओलीसँगै श्रम संस्कृति पार्टीका संस्थापन एवम् सांसद हर्क साम्पाङले समेत रास्वपाको सदस्यता लिएको देखिने फेक परिचय-पत्र राखेको छ । हेर्नुहोस् पोस्ट ।

यता काउन्टरमा रास्वपाका सभापति रवि लामिछानेलाई व्यङ्ग्यात्मक तरिकाले नेपाली काँग्रेसमा प्रवेश गरेको जस्तो देखाउने तस्विर बनाएर शेयर गर्न थालिएको छ । सो पोस्टमा कमेन्ट गर्दै अन्य प्रयोगकर्ताले प्रधानमन्त्री बालेन्द्र शाह एमालेमा प्रवेश गरेको जस्तो देखिने परिचयपत्र राख्दै मजाक गरिरहेका छन् । हेर्नुहोस् पोस्ट ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १०:४८
