close

विस्थापित हुँदै सीडीएमए

रन्जन कोइराला रन्जन कोइराला

असोज १, २०७६ २२:१२

विस्थापित हुँदै सीडीएमए

पछिल्लो एक दशकमा प्रविधिले मारेको छलाङ हाम्रा लागि असामान्य नैे छ । विशेष गरी दूरसञ्चारको क्षेत्रमा विकास भएका प्रविधिले छोटो समयमा विश्व बजारमा आफ्नो स्थान बनाउन सफल भएका छन् । अर्कोतर्फ पुराना प्रविधि विस्तारै ओझेलमा पर्दै गएका छन् ।

कुनै सयम नेपालका दूरदराजमा दूरसञ्चार सेवा पुर्‍याउन महत्वपूर्ण भुमिका खेलेको ‘सीडीएमए’ अहिले बन्द हुने अवस्थामा छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय नै भइसकेको छ । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको थियो । कारण, नयाँ र सहज प्रविधी जिएसएम मोवाइल सेवाको विस्तार ।

नेपाल टेलिकमका सह-प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार जीएसएममा एलटीई, फोरजी, फाइभजीलगायत नयाँ प्रविधि भित्रिरहँदा पुरानो प्रविधिको सीडीएमए बन्द हुँदै जानु स्वाभाविक पनि हो । प्राधिकरणको पछिल्लो तथ्याङ्कलाई हेर्दा आज नेपालको कुल जनसंख्याभन्दा बढीमा टेलिफोनको पहुँच छ । कुल जनसंख्याको १४०.२५ प्रतिशतमा टेलिफोनको पहुँच छ । त्यसमध्ये १३७.५५ प्रतिशत मोबाइलको पहुँच छ । मोबाइल प्रयोगकर्तामध्ये ९८.०७ प्रतिशत जीएसएम मोबाइलको छ भने सीडीएमएको मात्र १.९३ प्रतिशत छ ।

सीडीएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय नै भइसकेको छ । यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

दश बर्षअघि प्राधिकरणको तथ्याङ्कलाई पछिल्लो तथ्याङ्कसँग दाँजेर हेर्दा देखिने अन्तरले सीडीएमए अन्त्यतिरको बाटो दर्शाएको छ । आजभन्दा दश बर्षअघि नेपालमा मोबाइलको पहुँच कुल जनसंख्याको १८.४७ प्रतिशतमा सीमित थियो, जुन बेला सीडीएमएको ग्राहक संख्या ५ लाख २८ थिए । जीएसएम प्रयोगकर्ता ४५ लाख ५१ हजार ८ सय । कुल ५० लाख ८० हजार चार सय । त्यसमध्ये सीडीएमएको बजार १०.४५ प्रतिशत थियो ।

विस्तारै जीएसएम मोबाइलले बजार लियो । जीएसएम सेवाको विस्तारमा कम्पनीहरु लगानी गर्न थाले । जसको प्रतिफल विसं २०६९ सालबाट देखियो । २०६९ सालसम्म आइपुग्दा सेवाग्राही घटे । २०६८ मा आठ लाख ७० हजार सीडीएमए मोबाइल प्रयोगकर्ता रहेकोमा २० हजारले घटेर २०६९ मा ८ लाख ५० हजार पुग्यो । अर्कोतर्फ जीएसएम मोबाइलको बजारले रफ्तार लिइ नै रह्यो ।

जीएसएम सेवा एक वर्षको अवधिमा २० हजार घट्दा सोही एक वर्षको अवधिमा जीएसएम मोबाइल प्रयोगकर्ता ३६ लाखको हाराहारीमा बढ्यो । तथ्याङ्क अनुसार २०६८ सम्म एक करोड ८० हजार भन्दा बढी जीएसएम मोबाइल प्रयोगकर्ता थिए । २०६९ बैशाखमा आइपुग्दा एक करोड ३६ लाख ४८ हजार भन्दा बढी भयो ।

फेरी २०७१ मा आइपुग्दा सीडीएमएको ग्राहक संख्यामा केहि वृद्धि भयो । कारण थियो, टेलिकमले गरेको थप लगानी । सीडीएमए सेवाको विस्तारका लागि टेलिकमले नयाँ प्रविधिमा लगानी गर्यो । ‘अल-आईपी सीडीएमए’ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्न थालियो । २०७१ वैशाखमा आइपुग्दा ग्राहक संख्या १० लाख ७६ हजार ४ सय ९९ पुगे ।

त्यसपछिका वर्षमा सीडीएमए प्रयोगकर्ता झिनो रूपमा बढी रहेको तथ्याङ्कले देखाउँछ । तर, जुन रफ्तारमा जीएसएम प्रयोगकर्ता बढिरहेका छन्,, त्यो अनुपातमा सीडीएमएमा वृद्धि हुन सकेको छैन । अहिले चार करोड ५ लाख ९८ हजारभन्दा बढी सिमकार्ड बिक्रि भएको छ । त्यसमध्ये १६ लाख ५९ हजार ९ सयमात्रै सीडीएमएको छ । बाँकी तीन करोड ८९ लाख ३६ हजारभन्दा बढी जीएसएस मोबाइल सीम बिक्रि भएको छ ।

के हो सीडीएमए, कसरी भएको थियो सुरुवात ?

सीडीएमए मोबाइल चलाएको अनुभव प्रायः हामी सबैको होला । सीडीएमए मोबाइल सेटमा नेपाल टेलिकमको ‘स्काई’ र युटीएलको सिमकार्ड हालेर प्रयोग गर्नेलाई यसको महत्व पनि थाहा छ ।

सीडीएमएको विशेषता ठूलो क्षेत्रसम्मको कभरेज नै हो । सीडीएमए अर्थात, कोड डिभिजन मल्टीपल एक्सेस । यो क्वालकमको प्याटेन्ट हो । जसले गर्दा हरेक मोबाइल निमार्ता कम्पनी, मोबाइल सेवा प्रदायक कम्पनीले क्वालकमलाई रोयल्टी बुझाउनुपर्छ । नेपालमा यसको व्यावसायिक सुरुवात नेपाल टेलिकमले २०६२ माघ २३ गतेबाट गरेको थियो । जसले नेपालको मोबाइल विस्तारमा निकै ठूलो श्रेय पाएको छ ।

नेपाल टेलिकमसँगै युनाइटेड टेलिकम लिमिटेड(युटीएल)ले पनि सीडीएमए मोबाइल सेवा ग्राहकलाई प्रदान गरेको थियो । नेपाल टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमले सुरुका दिनमा लिमिडेट मोबिलिटी (सीमित क्षेत्रमा मात्र मोबाइल चल्ने) तथा फूल मोबिलिटी (देशभर चल्ने) दुवै रूपमा सञ्चालनमा ल्याएको थियो । सेवा सुरु भएको दुई वर्षको अवधि (२०६४ चैत्र २५ गते) मा देशका ७५ जिल्लामा यसको सेवा विस्तार भइसकेको थियो ।

सेवा सुरु भएको दुई वर्षको अवधि (२०६४ चैत्र २५ गते) मा देशका ७५ जिल्लामा सीडीएमए मोबाइल सेवा विस्तार भइसकेको थियो ।

सेवा सुरु गर्दा १० लाख ग्राहक क्षमतासहित सुरु भएको भएतापनि विस्तारै यसको क्षमता विस्तारको काम गर्दै टेलिकमले यो सेवा सम्पूर्ण ग्राहकमा पुर्‍यायको थियो । विभिन्न प्रकारका ट्रान्समिसन माध्यम (रेडियो, अप्टिकल, डिएसएल लिंक, स्याटलाइट) प्रयोग गरी देशका अति विकट तथा दुर्गम क्षेत्रमा समेत उक्त सेवा विस्तार गर्ने काम टेलिकमले गरेको थियो ।

जसको फलस्वरुप सीडीएमए देशका सबै जिल्लामा पुग्ने पहिलोे दूरसञ्चार सेवा पनि बन्न सफल भयो । तर पछिल्ले सयम यसमा थप विकास नुहँदा विस्तारै यसले साख गुमाउँदैछ । भण्डारीका अनुसार डब्लु सीडीएमए नै यसमा भएको पछिल्लो विकास हो । जुन जीएसएममा थ्रिजी सेवाको सुरुवात हुँदाको बखतमै भएको थियो । जीएसएम अहिले थ्रिजीबाट फोरजी हुँदै फाईभजीमा पुगी सकेको छ ।

र सीडीएमए र जीएसएम प्रविधिमै ठुलो भिन्नता छ । यसको फ्रिक्वेन्सी नै फरक छ । सामान्यतया सीडीएमए तल्लो तहका फ्रिक्वेन्सीमार्फत विस्तार गरिन्छ । भन्डारीका अनुसार जीएसएम प्रयोगकर्ताको फरक–फरक सिग्नल हुन्छ् । त्यसैबाट प्रयोगकर्ता छुट्याउन पनि सकिन्छ् । तर, सीडीएमएमा भने सबै एउटै सिग्नल हुन्छ् । सिग्नल एउटै भएतापनि यसको पनि स्क्र्यामलिङ कोड भने फरक फरक हुन्छ । त्यसबाट नेटवर्कले फरक फरक प्रयोगकर्ता छुट्याउने काम गर्न मिल्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३