close

आफ्ना नागरिकलाई कोरोना ट्रेसिङ एप डाउनलोड गर्न जर्मनीको अपील, नेपालमा भने गुमनाम

टेकपाना टेकपाना

असार ६, २०७७ १८:२३

आफ्ना नागरिकलाई कोरोना ट्रेसिङ एप डाउनलोड गर्न जर्मनीको अपील, नेपालमा भने गुमनाम

काठमाडौं । जर्मन सरकराले आफ्ना नागरिकहरुलाई नयाँ कोरोना भाइरस वार्निङ एप डाउलोड गर्न अपील गरेको छ । जर्मन सरकारले भर्खरै सार्वजनिक गरेको सो एप कोरोनाको महामारीसँग जुझ्ने सबैभन्दा अत्याधुनिक हतियार भएको उसले बताएको छ । 

डेटा गोपनीयताको विषयमा ठूलो आलोचना खेपेको सो एप संक्रमण दर घटेर लकडाउन खुकुलो हुन थालेपछि लागू हुन लागेको छ । गत फेब्रुअरीमा देशभर स्थापना गरिएका म्यानुअल ट्रयाकिङ  र ट्रेसिङ प्रणालीलाई यो एपले सहयोग गर्नेछ ।

यो एपले कोरोना संक्रमण पुष्टी भएको व्यक्तिसँग दुई मिटर वा त्यो भन्दा नजिकको दूरीमा प्रयोगकर्ता रहेको भए चेतावनी दिन्छ ।

गोपनीयतामा केन्द्रीत रहेर एप्पल र गूगलले विकास गरेको प्रविधिमा आधारित रहेर यो एप बनेको हो । एपले प्रयोगकर्ताहरुको डेटा संकलन नगर्ने र धेरै ब्याट्री खपत समेत कम गर्ने बताइएको छ । 

दुई करोड युरोमा विकास गरिएको उक्त एपमा भाइरोलोजिस्टहरुको सहायता रहेको छ । यो एपलाई प्रभावकारी रुपमा सञ्चालन हुन ६० प्रतिशत जर्मनहरुले प्रयोग गर्नुपर्ने सरकारको भनाई छ ।

त्यसो त नेपाल सरकारले समेत कोरोनाभाइरस ट्र्याकिङ तथा ट्रेसिङ गर्न गत १७ गते छुट्टै एप सार्वजनिक गरेको थियो । लामो समयको लकडाउनका बावजूद मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले कोभिड एनपी एप तयार पारेको थियो ।

कोभिड-१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सीसीएमसी) अन्तर्गत तयार पारिएको उक्त एप सरकारी सञ्चारकर्मी मात्र बोलाइएको पत्रकार सम्मेलनमाझ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक गरेका थिए । 

महामारी रोकथाम तथा नियन्त्रणका लागि छाउनीमा स्थापना गरिएको सीसीएमसीमा सुटुक्क सार्वजनिक गरिएको उक्त एपको त्यति धेरै चर्चा भएन । 

२५ चैतमा राष्ट्रका नाममा संवोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका सम्भावित संक्रमितको पहिचान गर्न ट्रेसिङ एप प्रयोगमा ल्याउने घोषणा गरेका थिए । घोषणाको एक महिनामा एप तयार भए पनि त्यसको प्रभावकारीताको विषयलाई लिएर भने प्रश्न उठ्न थालेको छ । 

सम्भावित सङ्क्रमितको पहिचान गर्न ढिलाई हुँदा कोरोनाभाइरसको संक्रमण तीब्र बन्दै गएको छ । तर सम्भावित बिरामीको पहिचान गरी समयमै द्रुत स्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्था मिलाउन उद्देश्यका साथ ल्याइएको एपको सरकारले नै चर्चा गर्न छोडिकसेकेको छ । 

कोरोना ट्रेसिङ गर्न भन्दै सार्वजनिक गरिएको कोभिड एनपी नामक उक्त एप डेढ महिना नाघ्न लाग्दासम्म  केवल पाँच हजारले मात्रै डाउनलोड गरेका छन् । आईओएसमा त झन् अहिलेसम्म उक्त एप सार्वजनिक समेत हुन सकेको छैन ।

एपमा कोभिड-१९ रोगका लक्षण, सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कता, स्वास्थ्य परीक्षण लगायतका विषयमा जानकारी राखिएका छन् । 

एप प्रयोग गर्न ब्लुटुथ अन गरिराख्नुपर्ने भएकाले प्रयोगकर्ताले अनिच्छा देखाएको हुनसक्ने सीसीएमसीका आईटी सहसचिव अनिल दत्तको बुझाई छ । ‘ब्याट्री चाँडो सकिने भएर पनि प्रयोगकर्ताले नरुचाएका हुनसक्छन्,’ उनले भने ।

एप प्रभावकारी हुन नसकेपछि स्वास्थ्यमन्त्रालय अन्तर्गतको संयन्त्रले म्यानुअल ट्रेसिङकै भरमा संभावित कोरोना संक्रमित पहिचान गर्ने प्रयास गर्दै आएको छ । अहिलेसम्म सरकारले तयार पारेको एपबाट एकजनाको पनि ट्रेसिङ गर्न सम्भव नभएको दत्त स्वीकार गर्छन् ।

हालको एप प्रभावकारी नभएपछि गूगल र एप्पलले विकास गरेको एपीआई प्रयोग गर्ने विषयमा विचार गर्न सकिने उनी बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१