close

कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

युजु खालिङ युजु खालिङ

बैशाख ३१, २०७८ १५:१९

कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

काठमाडौं । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ । मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ । यो कुरा उनकै दौडधुप र चटारोले बताउँछ ।

घण्टा घण्टामा उनी सामाजिक सञ्जालमा पाेस्ट गरिरहेका छन् । कहिले अक्सिजन एनालाइजर त कहिले अक्सिजन रेगुलेटरको फ्लोमिटर कतै छ भने उपलब्ध गराइदिन गुहार माग्छन् ।

कहिले खाली सिलिण्डर भर्न उपत्यकाबाहिर पठाउनलाई सहजीकरणको अपिल गर्छन् । सामाजिक सञ्जालमा पहरेदार जसरी हरेक सहयोग र सहजीकरणका लागि कयौं स्टेटसहरु उनले पोस्टाइसके ।

तर त्यही फेसबुकको म्यासेन्जमा आएका म्यासेजहरु हेर्न उनलाई फुर्सद छैन । लेख्छन्, ‘मलाई मोबाइल/भाइबर/ह्वाट्सएपमा ९८४१५९२३६१ मा मात्र सम्पर्क गर्नुहोला । म्यासेन्जरकाे म्यासेज हेर्न पाएको छैन ।’

महामारीको दोस्रो लहर सुरु भएसँगै भारतमा मानिसहरु अक्सिजनको कमीले सोत्तर भएको दृश्य देखियो । नागरिक स्तरबाट सचेत बन्दा बन्दै सरकारको ढिलासुस्ती र अकर्मण्यताले भारतको दशा नेपालमा पनि सुरु भएको छ ।

जनसंख्याकाे अनुपातको हिसाबले त नेपालमा अवस्था अझ भयावह भएको विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा अक्सिजन अभाव हुन नदिन महावीर पुनहरू हरदम लागिपरेका छन् ।

उनी र उनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरु अहिले ‘मिनी अक्सिजन प्लान्ट’ निर्माण तथा परीक्षणको काममा लागिरहेका छन् ।

कोभिडको पहिलो लहर सुरु भएपछि गत वर्ष २०२० को मार्च २४ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो । त्यसलगत्तै आविष्कार केन्द्रलाई वीर अस्पताल, शिक्षण अस्पताल, विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पाटन अस्पताल सबैले फोन गरी महामारी रोक्न नयाँ प्रविधि तथा आविष्कारको सहयोग माग्न थाले ।

त्यस बेलादेखि नै महावीर पुन र उनको राष्ट्रिय आविष्कार केन्द्रले धेरै नै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ । आज हामी तपाईंलाई राष्ट्रिय आविष्कार केन्द्रले पुनको नेतृत्वमा कोभिड विरुद्ध लडाईंमा केन्द्रित रही गरिआएका कामहरुको फेहरिस्त बताउने छौं । 

पीपीई निर्माण तथा वितरण 

सबैभन्दा पहिले त आविष्कार केन्द्रले पीपीई सामग्री बनाउन सुरु गर्‍यो । किनभने याे त्यसबेला देशमा कतै पनि उपलब्ध थिएन ।

हालसम्म केन्द्रले सातै प्रदेशका करिब ५८ जिल्ला अन्तर्गतका तीन सयभन्दा धेरै अस्पताल, प्राथमिक स्वास्थ सेवा केन्द्र, कोरोना आइसोलेसन केन्द्र, कोरोना परीक्षण तथा उपचारार्थ अस्पतालमा १५ हजारभन्दा बढी पीपीई गाउनहरु वितरण गरिसकेको छ ।

स्थानीय सरकारले समेत आफ्नो साधन पठाएर नै केन्द्रबाट पीपीई तथा अन्य सामग्री झिकाइरहेका छन् ।

अहिले अस्पतालको आकारअनुसार केन्द्रले ठूलालाई २५ देखि ३० पीपीई, मध्यमलाई १५ देखि २० र प्राथमिक स्वास्थ्य सेवा केन्द्र, कोरोना परीक्षण केन्द्रमा १० देखि १५ पीपीई पठाइरहेको छ । यस्तै गाउँका साना स्वस्थ्य क्लिनिकमा भने पाँच वटासम्म पीपीई पठाइरहेको छ । 

अधिकांश अस्पतालहरुले सीमित स्वास्थकर्मीलाई मात्र पीपीई उपलब्ध गराइरहेका छन् । यसैले केन्द्रले एम्बुलेन्स चालक, नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा कर्मचारी, प्रहरीको आपतकालिन उद्धार टोली, नर्स, जुनियर चिकित्सक, इन्टर्न, सरसफाई कर्मचारीलाई जस्ता सबै अस्पतालका कर्मचारीलाई केन्द्रले पीपीई दिएको छ ।

कोरोना विरुद्धको लडाईंमा लागेका व्यक्तिहरुलाई हालसम्म केन्द्रले १५ सयवटा पीपीई गाउन, पन्जा र सर्जिकल मास्कहरु उपलब्ध गराइसकेको छ । 

खाद्यन्न डेलिभर गर्न ‘नर्सिङ रोबट’ निर्माण 

आईसोलेसन सेन्टर तथा कोरोना अस्पतालहरुमा खाद्यन्न तथा औषधि डेलिभर गर्न एउटा सामान्य तथा स्वचालित रोबट वा ट्रलीको खाँचो थियो, जसलाई केन्द्रले निर्माण गरी परीक्षण गरिसकेको छ ।

हाल उक्त रोबट नेपाल आर्मी अस्पताल काठमाडौंलाई प्रदान गिरएको छ । अर्को रौतहटमा डेलिभर गर्न तयार छ । ६ वटा रोबट निर्माण भएको मध्ये एउटा वितरण भइसकेको छ । अन्य युनिट निर्माणको क्रममा छ । 

न्युमास्क प्रोजेक्ट तथा पीएपीआर 

पीपीई अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टमा एकदमै कम त्यस्ता सामग्री हुन्छ, जसलाई पुन: प्रयोग गर्न सकिन्छ र त्यसले यो प्राणघातक भाइरसविरुद्ध सुरक्षा दिन्छ ।

हाल केन्द्र यस्तै न्युमास्क प्रोजेक्ट र पीएपीआर अर्थात् पावर्ड एयर प्युरिफाइङ रेस्पिरेटर निर्माणमा लागिको छ । स्ट्याण्डफोर्स विश्वविद्यालयको प्रकाश ल्याबसँगको सहकार्यमा यो नेपालमा पहिलोपटक निर्माण तथा प्रयोग गर्न लागिएको हो ।

हालसम्म केन्द्रले न्युमास्कको ६० युनिटभन्दा धेरै र पीएपीआरको २० युनिट निर्माण गरी वितरण गरिसकेको छ । 

आइसोलेसन तथा नन इन्भासिभ भेन्टिलेसनका लागि पोजेटिभ प्रेसर हुड 

कोरोना भाइरसका कारण कतिपय बिरामीहरुमा स्वास-प्रश्वासको लक्षण देखिन्छ । यसैले हाल केन्द्रले सय युनिटजति पोजेटिभ प्रेसर हुड निर्माण गरिरहेको छ ।

मागअनुसार यसको उत्पादन युनिट बढाउन सकिने केन्द्रले बताउँछ । धेरै संक्रमितहरुमा देखिएको स्वास-प्रश्वासको समस्या र त्यसलाई सम्बोधन गर्न आवश्यक भेन्टिलेन्सनलाई ध्यानमा राख्दै केन्द्रले पाटन एकेडेमी अफ हेल्थ साइन्ससँग सहकार्य गरी पोजेटिभ प्रेसर हुड निर्माण गरेको छ ।

यसले कोभिड १९ संक्रिमितको आइसोलेसन तथा नन इन्भासिभ भेन्टिलेसनमा काम गर्दछ  । यो सामग्री निर्माण तथा परीक्षण भई उपत्यकाभरका धेरैवटा अस्पताल तथा क्लिनिकहरुमा प्रयोग भइरहेको छ ।

स्थानीयरुपमा उपलब्ध सामग्रीकै प्रयोग गरी यसको निर्माण भएको हो । यो हुडको सामान्य बजार मूल्य १५ हजार नेपाली रुपैयाँसम्म पर्छ । तर केन्द्रले डिजाइन गरेको यो हुड करिब तीन हजार रुपैयाँमै उपलब्ध छ । 

आईसोलेसन बक्स निर्माण 

कोरोना संक्रमण भएका बिरामीहरुलाई एम्बुलेन्समा लिएर अस्पतालमा यताउता कुदाउँदा संक्रमणको जोखिम हुन्छ । यस्तो बेला उनीहरुलाई एउटा सिल गरिएको बक्सभित्र राख्दा सुरक्षित हुन्छ ।

केन्द्रका अनुसन्धानकर्तााहरुले तीन रातसम्म नसुती आइसोलेसन बक्सको डिजाइन निर्माण तथा परीक्षण गरे । यो बक्सको प्रयोगले संक्रमितलाई आइसोलेट गर्दछ । यसले संक्रमणको जोखिम पनि न्यूनीकरण गर्दछ । 

ब्याट्रीबाट चल्ने यस बक्सभित्र हिपा फिल्टर पनि राखिएको छ, जसले बिरामीको मुख र नाकबाट हावालाई फिल्टर गर्दछ । जसले गर्दा बिरामीले सजिलै स्वास फेर्न सक्छन् । निर्माण गरेको एक हप्तापछि नै यो कोभिड उपचारार्थ विभिन्न अस्पतालहरुमा वितरण गरियो । 

विभिन्न अस्पतालको बिग्रेको भेन्टिलेटर तथा किड्नी डायलिसिस मसिनको मर्मत 

यसबीच धेरै अस्पतालहरुले आफ्नो बिग्रिएको भेन्टिलेटर तथा स्वास्थ्य सामग्री मर्मतका लागि केन्द्रलाई सहयोग मागे । केन्द्रले नेपाल बायोमेडिकल असोशिएसनसँग कुरा गरी बायोमेडिकल इन्जिनियरहरुको एउटा भोल्युटियर टिम खडा गरी विभिन्न अस्पतालहरुमा पठायो ।

८५ वटा भेन्टिलेटर भत्किएका थिए भने २४ वटा डायलिसिस मसिन बिग्रिएका थिए । तीमध्ये ५० भेन्टिलेटर र १८ किड्नी डाइलसिस मसिन मर्मत भए र हाल ती अस्पतालमा प्रयोग पनि भइरहेका छन् ।

स्पेयर पार्ट्सहरु पाउन समस्या छ । यद्यपि बायोमेडिकल भोल्युन्टरहरु निर्माणमा खटिरहेका छन् । मर्मत सम्हारको यो काम केन्द्रले नि:शुल्क गरिदिरहेको छ । 

अल्ट्राभायलेट सी लाइटको प्रयोग गरी डिस्इन्फेक्सन बक्सको विकास 

एन ९५ मास्क र सुरक्षित उपकरको बजारमा अभाव भएपछि केन्द्रले यूभीसी च्याम्बर निर्माण तथा परीक्षण गर्‍यो । यसले प्रयोग भइसकेका एन ९५ मास्क, फेस सिल्ड तथा पीपीईलाई पुन: प्रयोगका लागि डिस्इन्फेक्ट गर्दथ्यो ।

यो सिस्टम काठमाडौंको शिक्षण अस्पताल तथा त्रिविको माइक्रो बायोलोजी डिपार्टमेन्टको प्रयोगशालामा समेत परीक्षण भइसकेको छ । परीक्षण सफल भएको कारण केन्द्रले हाल २५ वटा त्यस्ताे ‘यूभीसी बक्स’ च्याम्बर निर्माण गरी अस्पताललाई वितरण गर्दै छ । 

कोरोना बुथको निर्माण र वितरण 

दक्षिण कोरियाका अस्पतालहरुमा कोरोनाका बिरामीको स्वाब संकलन गर्दा ती बिरामी र चिकित्सकहरुलाई अलग्गै राख्न विशेष किसिमको बुथको निर्माण भइरहेको कुरा केन्द्रका इन्जिनियरहरुले इन्टरनेटबाट थाहा पाए ।

ती बुथ स्वास्थकर्मीहरुलाई सुरक्षित राख्न उपयोगी भएको पाएपछि केन्द्रकै इन्जिनियरहरुले स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी बुथ डिजाइन गरे ।

साथै केन्द्रले देशभर रहेका इन्जिनियरहरुलाई पनि यस्तो बुथ अस्पतालका लागि निर्माण गर्न आह्वान गरेको छ ।

केन्द्रले हालसम्म यस्तो बुथ झापा, सुनसरी, धनकुटा, रौतहट, जनकपुर, पर्सा, बारा, चितवन, सिन्धुली, उदयपुर, भक्तपुर, दोलखा, काभ्रे, काठमाडौं, धादिङ, कास्की, बाग्लुङ, रुपन्देही, सुर्खेत, धनगढी, महेन्द्रनगर आदिमा उपलब्ध गराइसकेको छ  । तराई क्षेत्रमा विशेष माग रहेको कारण अझै पनि केन्द्रले यी निर्माण गरिरहेको छ । 

न्यासल स्वाबको निर्माण 

केन्द्र हाल न्यासल स्वाब निर्माण गरिरहेको छ । यो एउटा प्लास्टिक स्ट्रिप हो जसले मानिसहरुको नाम र घाँटीबाट परीक्षणका लागि स्वाब निकाल्छ ।

यसका लागि एनआरएएनए जापान, एमआरआर जापान र नेपाली डोनरहरुले पैसा उठाई जापानको विशेष थ्रीडी प्रिन्टर खरिद गर्न सहयोग गरेक थिए ।

उनीहरुले त्यो मसिन नेपाल पठाएपछि हाल केन्द्रले प्लास्टिक स्ट्रिप प्रिन्ट गरिरिहेको छ । धेरैवटा सरकारी अस्पतालमा यो निःशुल्क केन्द्रले वितरण पनि गरिसकेको छ । 

एरोजोल बक्सको निर्माण तथा वितरण 

केन्द्रका इन्जिनियरहरुले एउटा सामान्य बक्स पारदर्शी आर्किलिक सिटबाट निर्माण गरेका छन् । जसले बिरामीको हाँछिउबाट चिकित्सलाई सुरक्षा दिन्छ । यो बक्सलाई ‘एरोजोल बक्स’ नाम दिइएको छ । इन्टरनेटमा हेर्दा यो अन्य धेरै देशमा प्रयोग भइरहेको छ । 

डेड बडी ब्याग निर्माण 

कोभिड संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने नेपालमा निकै धौधौ परेको छ । तर भाइरसको प्रसारलाई रोक्न यसको व्यवस्थापनको पाटो एकदमै महत्वपूर्ण हुन्छ । यसैले केन्द्रले संक्रमित शवको शरीरलाई राखेर बोक्ने विशेष किसिमको ब्याग निर्माण गरेको छ ।

दुई वटा नमुना निर्माण गरी केन्द्रले नेपाल आर्मीलाई सुझाव सल्लाहका लागि दिइसकेको छ । नेपाल आर्मीबाट प्रतिक्रिया पाएर अन्य धेरै ब्याग निर्माण गरी सेनालाई दिइसकेको छ ।

शव व्यवस्थापनको जिम्मा सरकारले सेनालाई दिएको हुँदा ती ब्याग सेनालाई दिइएको हो । हालसम्म ४४ वटा निर्माण भएका छन् र १० वटा केन्द्रमै छन् । 

हेपा फिल्ट र एन ९९ फिल्टरको प्रयोग गरी अल्टरनेटिभ मास्को निर्माण 

अलिक समय अगाडि एन ९५ मास्को बजारमा अभाव थियो । त्यस्तो बेला केन्द्रले हेपा फिल्टर र एन ९९ फिल्टरको फेब्रिक प्रयोग गरी एउटा वैकल्पिक मास्क निर्माण गरी काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको प्रयोगशालामा परीक्षण गर्‍यो ।

हेपा फिल्टरले साना-साना सुक्ष्म वस्तुहरुलाई पनि फिल्टर गर्ने र यसले एन ९५ मास्कले भन्दा पनि राम्रो काम गर्ने देखियो ।

तर सामग्रीको अभावले केन्द्रले धेरै मास्क त निर्माण गर्न सकेन । हाल केन्द्रले स्ट्याण्डफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एउटा मसिन निर्माण गरिरहेको छ, जसले प्लास्टिकबाटै एन ९५ को गुणस्तर भएको फेब्रिक उत्पादन गर्न सक्छ । 

आपतकालिन भेन्टिलेटरको विकास 

प्रारम्भमा सुलभ मूल्यको भेन्टिलेटर निर्माण गर्ने केन्द्रको उद्देश्य थियो । यसैले एमआईटीले विकास गरेको ई भेन्ट डिजाइनलाई केन्द्रले एडप्ट गरी वर्किङ प्रोटोटाइप विकास गर्‍यो ।

यसबाहेक टीयू डल्फ्ट नेदररल्याण्डबाट इन्जिनियरिङ डायग्रामको रुपमा सहयोग र गाइडेन्स केन्द्रले प्राप्त गर्‍यो । हाल स्ट्याण्डफोर्ड विश्वविद्यालयको प्रकाश ल्याबको टिमसँगको सहकार्यमा ओपनसोर्स डिजाइन प्रयोग गरी केन्द्रले भेन्टिलेटर निर्माण गर्दै छ ।

केही स्पेयर पार्ट स्ट्याण्डफोर्डले सहयोग गरेको छ भने केही केन्द्रकै इन्जिनियरहरुले निर्माण गरेका छन् । स्ट्याण्डफोर्ड भेन्टिलेटरको पहिलो भर्सन निर्माण भई परीक्षणको प्रक्रियामा छ ।

केन्द्रका बायोमेडिकल इन्जिनियरहरु दोस्रो भर्सनमा काम गरिरहेका छन् । यो भेन्टिलेटरको मूल्य एक हजार अमेरिकी डलरभन्दा कम पर्नेछ । सान फ्रान्सिस्कोको एउटा गैरनाफामूलक संगठन ‘गिभ पावर’ ले यसलाई २० हजार डलरमा निर्माण गरी वितरण गरिरहेको छ । 

नाक, कान र घाँटी (ईएनटी) विशेषज्ञहका लागि एरोजोल बक्सको निर्माण 

ईएनटी सर्जनहरुलाई सहयोग गर्न हाल केन्द्रका अनुसन्धानकर्मीहरू प्लास्टिकबाट बनेको बक्सको निर्माण तथा परीक्षण गरिरहेका छन् । यो सिस्टम निर्माण गर्न ईएनटी चिकित्सकहरुले नै आग्रह तथा सल्लाह दिएका थिए ।

यो बक्सले ती चिकित्सकहरुलाई नाक, कान, घाँटीको सर्जरी गर्दा एरोजोलबाट बचाउँछ । यसले जोखिम न्यूनीकरण गर्दछ ।

इन्फ्रार्ड थर्मोगनको निर्माण 

थर्मोगनको अभावका कारण बिरामीहरुको तापक्रम नाप्न समस्या हुँदा स्थानीय सरकारले थर्मोगन उपलब्ध गराउन सहयोग माग गरिरहेको थियो । हाल केन्द्रले थ्रीडी प्रिन्टेड थर्मोगन निर्माण गरी परीक्षण गरिरहेका छन् । यस्ता थर्मोगन आवश्यक भएको खण्डमा थप निर्माण गर्न सकिन्छ । 

अन्य उपयोगी उपकरणको निर्माण तथा परीक्षण 

राष्ट्रिय आविष्कार केन्द्रमा हाल अन्य धेरै उपयोगी उपकरणहरु निर्माण तथा परीक्षण भइरहेका छन् । केही अवधारणा तथा आइडियाहरु मानिसहरुले मेलबाट दिए भने कतिपय आइडियाहरु अमेरिका तथा नेदरल्याण्डका रिसर्च युनिभर्सिटीसँगको सहकार्यबाट आएको महावीर पुन बताउँछन् । 

हाल केन्द्र नेदरल्याण्डको टीयू डेल्फ्ट विश्विद्यालय तथा अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयको प्रकाश ल्याबसँग सहकार्य गरिरहेको छ । 

यसबीच विदेशमा बस्ने नेपालीहरुले सामग्री तथा कोषको सहयोग गरिरहेको पुनले बताए । अन्तर्राष्ट्रिय उडानहरु बन्द भएको अवस्थामा जापान तथा अमेरिकामा रहेका केन्द्रका शुभचिन्तकहरुले कोभिड रेस्पोन्स प्रोजक्ट निर्माणका लागि सहयोग जुटाएको उनले बताए । 

सहकार्य र सहयोगको अपिल 

पुन कोरोना अभियानमा जोडीन तथा सहकार्य गर्न चाहाने जोकोहीलाई पनि केन्द्रले न्यानाे स्वागत गर्ने बताउँछन् । उनी ह्वाट्सएप भाइबर तथा फोनबाट 9841592361 मा जोडिन सक्ने तथा [email protected] मा ईमेल पठाउन सक्ने बताउँछन् ।

अहिले केन्द्रले पीपीई, कोरोना बुथ, एरोजोल बक्सजस्ता सामग्री निःशुल्क वितरण गरिरहेको छ । यदि यो वितरणमा सहयोग गर्न गर्ने कोही मन छन् भने जोडिन पुनको अपिल छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४