close

स्न्यापच्याटमा तपाईंलाई साथीले ब्लक गरेको त छैन ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

भदौ १७, २०७८ २१:१९

स्न्यापच्याटमा तपाईंलाई साथीले ब्लक गरेको त छैन ? यसरी चेक गर्नुहोस्

काठमाडौं । फोटो शेयरिङ प्लेटफर्म स्न्यापच्याट धेरै सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लाेकप्रिय छ । नेपालमा पनि यसका हजारौं प्रयोगकर्ता छन् । यसमा विशेषत‌‍: फोटो र भिडिओका लागि राम्रा फिल्टर उपलब्ध हुने हुनाले प्रयोगकर्ता स्नापच्याटप्रति आकर्षित भएका हुन् ।

स्न्यापच्याटमा आफ्ना भिडिओ सार्वजनिक गर्न र अरुका पोष्टहरू हेर्न र प्रतिक्रिया दिन समेत मिल्छ । अन्य सामाजिक सञ्जालहरूमा जस्तै स्न्यापच्याटमा पनि साथी बन्न र आवश्यक परे ब्लक गर्न समेत मिल्छ ।

साथी बनाउने त कुनै पनि सामाजिक सञ्जालकाे सामान्य फिचर नै हाे । तर, बनेका साथीमध्ये कसैलाई हटाउनु पर्‍याे भने के गर्ने त ?

त्यसका लागि स्न्यापच्याटले दुई वटा अप्सन उपलब्ध गराएको छ । जसमा एउटा रिमुभ र अर्को ब्लक । यी दुवै अवस्थामा तपाईंले ब्लक गर्नुभएकाे साथीलाई कुनै जानकारी प्राप्त हुँदैन । त्यो हुँदा कसले ब्लक गर्‍यो भन्ने विषय जानकारीमा नहुन सक्छ ।

त्यस्ताे अवस्थामा कसैले फ्रेन्डलिस्टबाट रिमुभ अथवा ब्लक गर्‍यो भने कसरी पत्ता लगाउने त ? 

यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो च्याटलिस्ट हेर्नुपर्ने हुन्छ । च्याट इन्डिकेटरमा कुनै व्यक्ति नदेखिएमा उक्त व्यक्तिसँग भएको च्याट देखिँदैन ।

यस्तो दुई अवस्थामा हुनसक्छ । पहिलो कि त उक्त च्याट तपाईं आफैले डिलिट गरेको हुनपर्‍याे । अथवा स्न्यापच्याटको डिफल्ट सिस्टमबाटै डिलिट भएको हुनपर्‍यो ।

यदि यी दुवै भएकाे छैन भने तपाईंले अब उक्त व्यक्तिकाे नाम सर्च गरेर म्यासेज पठाउन सक्नुहुन्छ ।

यदि म्यासेज रिसिभरलाई गएन भने उसले तपाईंलाई ब्लक गरेको हुनसक्ने सम्भावना छ । तर म्यासेज स्न्यापच्याटमा नै पेन्डिङ देखायो भने चाहिँ तपाईं उक्त व्यक्तिको फ्रेण्ड लिस्टबाट हटाइएकाे निश्चित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३