close

स्पेस एक्सको रकेटमार्फत प्रक्षेपण हुँदै नेपालमै बनेको पहिलो स्याटलाइट

टेकपाना टेकपाना

पुस २०, २०७८ २१:१७

स्पेस एक्सको रकेटमार्फत प्रक्षेपण हुँदै नेपालमै बनेको पहिलो स्याटलाइट

काठमाडौं । ओरियन स्पेस नामक कम्पनीले नेपालमै निर्माण गरेको ‘फुच्चे स्याटलाइट’ यही जनवरीमा प्रक्षेपण हुने भएको छ ।  अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन ९ रकेटबाट ‘पिको स्याटलाइट’ अन्तरिक्षमा लैजान लागिएको हो ।

यसअघि डिसेम्बरमै गर्ने भनिएको प्रक्षेपण विविध कारणले पछाडि धकेलिएको ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले टेकपानालाई बताए । उनले भने, ‘हामीलाई दिइएको जानकारी अनुसार जनवरी १३ तारिखमा प्रक्षेपण हुने भनिएको छ । अन्तरिक्षको वायुमण्डल स्थिर नहुने भएकाले बढीमा यो जनवरीभित्रमा स्याटलाइट प्रक्षेपण भइसक्ने अपेक्षा छ ।’

स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गर्न ‘वान वे’ रकेटको खर्च हजारौं अमेरिकी डलर लाग्ने भएपछि ओरियन स्पेसले लगानी जुटाउन क्राउड फन्डिङ समेत गरेको थियो । नेपाली विद्यार्थी, इन्जिनियर तथा एमेच्योर रेडियो अपरेटरहरूको सक्रियतामा सन् २०१७ देखि उक्त स्याटलाइट निर्माणको काम सुरु भएको थियो ।

२५० ग्राम तौल रहेको यो स्याटलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ । यसको वैकल्पिक नाम ‘नेपाल पी-क्यू वान’ हो । यसको लम्बाइ, चौडाइ र उचाइ समान पाँच सेन्टिमिटर रहेको छ ।

यसको मिसन स्पेस (अन्तरिक्ष) को बेटागामा रेडियसन मापन गर्नु हो । यो स्याटेलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तीव्रता मापन गरेर पृथ्वीमा पठाउनेछ । यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयरको डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो ।

यो स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सब-सिस्टम र पेलोड जडान गरिएको छ । यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् ।

सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटलाइटमा ३.७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । जुन सूर्यको प्रकाशबाट चार्ज हुन्छ ।

सोलार सेलबाट ब्याट्रीमा हुने पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ । नेपालमै स्याटलाइट बनाउन सुरु गर्ने र स्याटलाइट निर्माण सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले  स्थापना भएको ओरियन स्पेसले हालसम्म नेपालमा विभिन्न इन्जिनियरिङ कलेज सहित पाकिस्तान र श्रीलङ्कामा समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५