काठमाडौं । नेपाल टेलिकमको भोल्टे (भीओएलटीई) सेवा परीक्षण सञ्चालनमा आएको करिब ८ महिना पूरा हुने क्रममा छ । कम्पनीले यसको व्यावसायिक सञ्चालनको अन्तिम तयारी गर्दै गर्दा भोल्टे सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या समेत बढ्दै गएको छ ।
कम्पनीका अनुसार हालसम्म विभिन्न आठ ओटा कम्पनीका कूल ७७ ओटा स्मार्टफोन मोडेलमा भोल्टे सपोर्ट उपलब्ध भइसकेको छ । जसमा सामसङका ३१, आईफोनका १९, साओमीका १२, नोकियाका ६, भिभो र जेडटीईका समान तीन, ओप्पोका दुई र वनप्लसको एउटा मोडेलमा यो सेवा प्रयोग गर्न सकिने भएको छ ।
फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी कम्पनीले गत जेठ ३ गते भीओएलटीई सेवा परीक्षण सञ्चालनमा ल्याएको थियो । टेलिकमले पहिलो पटक भीओएलटीई सेवा सक्रिय गर्ने ग्राहकलाई १०० मिनेटको निःशुल्क प्याकेज उपलब्ध गराउँदै आएको छ ।
थप सेवा लिँदा नियमित ट्यारिफ रेटमै गुणस्तरिय भ्वाइस र भिडिओ कल गर्न सकिन्छ । यसका लागि डेटा अन गरिरहनु पर्ने बाध्यता समेत हुँदैन ।
कसरी एक्टिभ गर्ने टेलिकमको भोल्टे ?
सुरुमा आफ्नो आईफोनमा *444# डायल गर्नुहोस् र सिममा भीओएलटीई एक्टिभ गराउनुहोस् । अब फोनको सेटिङबाट सेलुलरहुँदै सेलुलर डेटा अप्सन>भ्वाइस एन्ड डेटा>सेलेक्ट एलटीईमा गएर त्यसको तल रहेको इनेबल भीओएलटीई अन गर्नुहोस् ।
तर याद राख्नुहोस्, एन्ड्रोइडमा जस्तो आईफोनमा माथि भीओएलटीई लेखिएको देखिन्न, भीओएलटीई चलेको अवस्थामा समेत माथि तपाईंले फोरजीको संकेत मात्र देख्न सक्नुहुनेछ ।
अब १४४४ मा डायल गर्नुहोस् । यो नम्बरमा डायल गर्दा तपाईंको आईफोनमा भीओएलटीई चलेको छ कि छैन भनेर यकिन हुनेछ । यदि चल्छ भने प्राप्त निर्देशनअनुसार अङ्क १ थिच्नुहोस् र निःशुल्क १०० मिनेट भीओएलटीई कल सेवा प्राप्त गर्नुहोस् ।
तर यदि तपाईंको आईफोनमा आईओएसको पछिल्लो भर्सन छैन र कुनै क्यारियर स्पेसिफिक तथा जेल ब्रेक गरिएको आईफोन हो भने त्यसमा टेलिकमको भोल्टे नचल्न सक्छ ।