close

रेस्टुराँका मिठा परिकार घर-घरमा पुर्‍याउने भोजडिल्सको कथा

मेनुक्श मेनुक्श

माघ ५, २०७८ ११:२३

रेस्टुराँका मिठा परिकार घर-घरमा पुर्‍याउने भोजडिल्सको कथा

काठमाडौं । जीवनशैलीमा प्रविधिले ल्याएको परिवर्तनलाई तपाईंले कसरी हेर्नुभएको छ ? आज मानिसका प्रत्येक आधारभूत आवश्यकता भर्चुअल माध्यमबाट जोडिन थालिसकेका छन् ।

जस्तोसुकै समयमा पनि मान्छेले ‘भोलि’ सोचिरहेकै हुन्छ । कसैले भोलि के गर्ने भनेर सोच्दछन् भने केहीले भोलिका लागि के गर्ने सोच्दछन् । अनि भोलिका लागि के गर्ने भन्ने सोचलाई मूर्तरुप दिनका लागि हिजोको दिनमा काम गरेका युवाको सफलता र संघर्षका कथा हामी आज पढ्छौं ।

५/६ वर्षअघि कमैले सोचेका थिए होलान् अहिलेजस्तो प्राविधिक कायापलट नेपालमा सम्भव छ भनेर । तर त्यहीबेला पाँच युवाको सोचमा भोलिको दिन यस्तो आउला भन्ने सोचको विजारोपण भइसकेको थियो ।

अनलाइन फुड डेलिभरी सेवा भाेजडिल्सका सह-संस्थापकमध्येका एक सन्तोष सिंह भन्छन्, ‘अहिलेजस्तो त्यो बेला काम विशेषका लागि इन्टरनेटको प्रयोग हुँदैन थियो । सामाजिक सञ्जाल र इन्टरनेटलाई रमाइलोको एउटा माध्यमका रुपमा मात्रै लिइन्थ्यो ।’

तर विद्यमान सोचलाई चिर्न उनिहरूले वेब र एपमार्फत खानाको समस्या सुल्झाउने प्रयत्न गरे । उनीहरूले सुरूका दुई वर्ष रेस्टुराँमा चलाइने गरेको खानाको कुपनलाई डिजिटाइज गर्ने काम गरे ।

उनीहरूको सेवा प्रयोग गर्न सेवाग्राही छुट चाहन्थे । जसअनुरुप केही प्रतिशत छुटको व्यवस्था पनि गरियो ।

सन्तोष भन्छन्, ‘हामीले सधैं सेवाग्राहीको सुविधा र आवश्यकतालाई मध्यनजर गर्ने गरेका छौं ।’

सन् २०१७ तिर आइपुग्दासम्म सेवाग्राहीसँगको सम्बन्ध निकै राम्रो बनिसकेको थियो । मानिसहरूको जीवनशैली प्रतिदिन व्यस्त बन्दै गइरहेको थियो ।

अनि कतिपयलाई घरमै बाहिरको खानाको स्वाद लिन मन हुने पनि हुनसक्छ । अफिसको क्यान्टिनदेखि घरको भान्सासम्म पुग्न मानिसका यीनै यावत् परिस्थितिले भोजडिल्सलाई अर्को यात्रा तय गरायो ।

सेवाग्राहीबाट माग भएपछि उनीहरूले भोजडिल्सबाट डेलिभरी सर्भिसको थालनी गरेका हुन्, जुनबेला उनीहरूको समूह विस्तार भएर छ जना बाट ५० पुगिसकेको थियो ।

सन्तोष सुनाउँछन्, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो ।’

सुरुको दिनमा जम्मा तीनवटा डेलिभरी सर्भिस दिएका भाेजडिल्सले आजको दिनमा औसत एक हजारसम्म डेलिभरी गरिरहेकाे छ । जसका लागि आठ सयभन्दा बढी रेस्टुराँसँग सहकार्य गरिएकाे छ ।

साथै भोजले दुई सयभन्दा बढीलाई रोजगारीको अवसरसमेत प्रदान गरेको छ ।

साँच्चै भन्नुपर्दा समय अनुकूल पनि थिएन । संघर्षका गर्दैगर्दा हरेक स्टार्टअपलाई जस्तै याे टिमलाई पनि ‘कन्फ्लिक्ट’ बाट गुज्रिनु नपरेको भने होइन ।

तर दृढ संकल्प र सधैं आशावादी सोचले आफूहरूको हिम्मत र जोशलाई टिकाइराखेको सन्तोष बताउँछन् ।

‘यो कामलाई छोड्नुपर्छ कि भनेजस्तो मोड नआएको होइन । तर हामीलाई संयुक्त सोचले फेरि उभिन र मजबुत बन्न सिकायो । हामीले यति सहजै यसको अन्त्य गर्नलाई त काम थालेका थिएनौं,’ उनले सुनाए । 

मोबाइल एप प्रयोग गरेर खाना अर्डर गर्न सकिन्छ भन्ने कुरा पनि सम्झाउनुपर्ने अवस्था थियो । उनीहरू आफैंले प्रयोगका तरिका सिकाए । होटेल तथा रेस्टुराँसँग सहकार्य गरे । असफल भइएला भन्ने डर मनमा कहिल्यै राखेनन् । अन्ततः आज भोजडिल्सको ब्राण्ड स्थापित भएरै छाड्यो ।

सुरुका दिनदेखि नै सेवाग्राहीलाई वेब र एपमार्फत सेवा दिइरहेको भोजले सेवामा आवश्यक परिमार्जन अपनाइरहेको छ । ग्राहकको सहजतालाई मध्यनजर गर्दै भोजले विभिन्न भुक्तानी सेवाप्रदायकसँग समेत समन्वय गरिरहेको छ ।

प्ले स्टोर वा एप स्टोरबाट ‘भाेज’ एप नि:शुल्क डाउनलोड गरी आफूलाई मनपर्ने परिकार मनपर्ने रेस्टुराँँबाट अर्डर गर्न सकिन्छ ।

‘डिल वा डेलिभरीको लागि भोज मोबाइल एपमा सूचीबद्ध गर्न चाहेको कुनै पनि मनपर्ने रेस्टुरेन्ट वा खानाहरू सम्बन्धी सेवाग्राहीका  प्रतिक्रियालाई सहजै स्वीकार गर्नुका साथै कदर गर्न पनि कम्पनी प्रतिबद्ध छ,’ सन्ताेषले भने ।

साथै कम्पनीले विशेष अवसरहरूमा स्पेशल अफरको समेत व्यवस्था गर्ने गरेको छ । जसले सेवाग्राहीलाई झनै उत्साहित बनाउँदछ ।

भोजडिल्सले काठमाडौंबाहिर बुटवल र भैरहवामा समेत सेवा सुरू गरिसकेको छ । सेवाग्राहीको मागअनुरुप समयसँगै फरक सेवा दिन तत्पर रहेको सन्तोषले बताए ।

उनी भन्छन्, ‘अन्ततः हामी सेवाग्राहीको माग र रुचिलाई नै समेट्छौँ । भोजको यो यात्रामा सधैं सेवाग्राहीले नै मार्गनिर्देश गरिरहेको कम्पनीको बुझाइ छ ।’

‘अहिले हामीले स्कुटर र मोटरसाइकलबाट खाना डेलिभरी गरिरहेका छौं । तर चाँडै यसमा पनि सुधार ल्याउने योजना छ,’ सन्तोषले भने ।

स्टार्टअप कम्पनीले व्यापारलाई भन्दा पनि सेवालाई धेरै ध्यानमा राख्नुपर्छ । काम त सबैले गरिरहेकै हुन्छन् । तर त्यसलाई कलात्मक र मितव्ययीरुपमा कसरी प्रस्तुत गर्ने भन्ने कम्पनीमा निर्भर गर्छ ।

तसर्थ उनी भन्छन् ‘निरन्तर प्रयास, कलात्मक शैली, दृढ आत्मविश्वास र सकारात्मक सोच राखेर अघि बढ्न सके हरेक काममा सफलता मिल्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२