close

पठाओबाट अब ट्याक्सी बुक गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

टेकपाना टेकपाना

कात्तिक ५, २०८१ १५:३

पठाओबाट अब ट्याक्सी बुक गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइट अन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकता अनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीकी निर्देशक सुरक्षा हमालले जानकारी दिइन् ।

रेन्टल सेवा लिनका लागि  ग्राहकले कम्तीमा एक घण्टाअघि नै बुक गर्नुपर्ने र बढीमा सात दिनअगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ । 

यस रेन्टल सेवामा ग्राहकले नेपालका सबै सहरका लागि 'राउण्ड ट्रिप' वा 'ड्रप'को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्ने हमालले बताइन् । जसले  ग्राहकका लागि यात्रा सहज  बनाउने र चालकका लागि पनि थप कमाइको अवसर  सिर्जना गर्ने उनले उल्लेख गरिन् । 

उनका अनुसार पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको छ । साथै रेन्टल सेवामा कुनै समस्या भएमा चौबीसै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । 

पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एसेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा पठाओ नेपालको नारा ‘मुभिङ नेपाल’ को आशयमा रहेको हमालले बताइन् ।


 

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८१ १६:२१