close

महिलालाई उपयोगी सीप सिकाउन ‘सिपालु सिस्टर’ प्लेटफर्म सार्वजनिक

टेकपाना टेकपाना

असोज ६, २०८१ १८:१४

महिलालाई उपयोगी सीप सिकाउन ‘सिपालु सिस्टर’ प्लेटफर्म सार्वजनिक

काठमाडौं । ग्रामीण क्षेत्रका नेपाली महिलाहरूलाई आवश्यक जीवन उपयोगी सीप सिकाउने प्लेटफर्म ‘सिपालु सिस्टर’ सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै प्लेटफर्म सार्वजनिक गरिएको हो । 

यो प्लेटफर्म सञ्चालनका लागि अमेरिकी ‍एमबेसी अल्मुनाई इंगेजमेन्ट इनोभेसन फन्ड २०२३ को वित्तीय सहयोग रहेकाे छ ।​ महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने उद्देश्यसहित प्लेटफर्म सार्वजनिक गरिएको सिपालु सिस्टरकी सह-संस्थापक प्रिया जोशीले बताइन् । 

“हामीलाई दैनिक जीवनमा थुप्रै सीपहरू आवश्यक हुन्छन्,” जोशीले भनिन्, “ती सीप ग्रामीण भेगका महिलाहरूले सिक्न पाइरहेका हुँदैनन् । त्यसैलाई लक्षित गर्दै हामीले सरल भाषामा सीप सिकाउने प्लेटफर्म सुरु गरेका हौं ।”

यसो त यस प्लेटफर्ममा राखिएका विभिन्न सीपमूलक भिडिओहरू युट्युबबाटै राखिएका हुन् । सीप सिक्न इच्छुक व्यक्तिले युट्युबबाट पनि ‘सिपालु सिस्टर’ले तयार पारेका भिडिओ हेर्न सक्छन् । “हामीले ग्रामीण भेगका महिलालाई लक्षित गरेर यो परियोजना ल्याएको भए पनि यसबाट सबैले लाभ लिन सक्नुहुन्छ,” जोशीले अगाडि भनिन्, “आधारभूत सीप जानेको खण्डमा दैनिकी सहज हुन्छ ।” 

सिपालु सिस्टरले सुरुवाती चरणमा विभिन्न क्षेत्रसँग सम्बन्धित ५० ओटा भिडिओ सार्वजनिक गर्ने योजना बनाएको छ । हाल यस प्लेटफर्ममा १५ ओटा भिडिओ अपलोड गरिएका छन् । सार्वजनिक भएका केही भिडिओमा नेपाली र अङ्ग्रेजी सबटाइटल राखिसकिएको छ । अब अरू भिडिओमा पनि सबटाइटल राख्ने काम अघि बढेको सहसंस्थापक जोशीले बताइन् ।

“भिडिओ सरल होस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन्, “यसबाट लेखपढ गर्न नजान्नेदेखि पढेलेखेकै मान्छे पनि लाभान्वित हुन सक्छन् ।”

विभिन्न सीपका ट्युटोरियल भिडिओ हेर्न यहाँ क्लिक गरी सिपालु सिस्टरको युट्युब च्यानल भिजिट गर्न सक्नुहुन्छ । त्यस्तै वेबसाइट, इन्स्टाग्राम, फेसबुक, एक्स टिकटकमा पनि सिपालु सिस्टरबाट अपलोड गरिएका भिडिओ हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८१ १९:१८