close

बिटक्वाइनलाई मुद्राको मान्यता दिँदै रूस

टेकपाना टेकपाना

माघ २७, २०७८ १९:३३

बिटक्वाइनलाई मुद्राको मान्यता दिँदै रूस

काठमाडौं । पछिल्लो समय विभिन्न देशमा क्रिप्टोकरेन्सी कारोबारलाई नियमन गर्न सरकारी र नियामक निकाय अग्रसर भएका छन् । गत सातामात्र भारतले क्रिप्टो कारोबारलाई करको दायरामा ल्याउने घोषणा गर्‍याे ।

हालै रुसले पनि क्रिप्टो कारोबारलाई नियमन र कानूनी मान्यता दिने तयारी गरेको त्यहाँको समाचार संस्था कोमरसान्टले जनाएको छ ।

समाचार अनुसार रुसी सरकार र देशको केन्द्रीय बैंक (बैंक अफ रसिया) क्रिप्टोलाई मुद्राको रूपमा मान्यता दिने र ​​बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूलाई नियमन गर्ने गरी मस्याैदा बनाउँदै छन् ।

गत जनवरीमा मात्र बैंक अफ रसियाले देशको वित्तीय प्रणालीलाई खतरामा पार्नसक्ने भन्दै माइनिङ र अन्य धेरै क्रिप्टो अपरेसनलाई प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो ।

एक महिनाको अवधिमै रसियामा क्रिप्टोकरेन्सीलाई नियमनकाे दायरमा ल्याउने विषय अघि बढेको हो । रुसी अधिकारीहरूले आउँदो फेब्रुअरी १९ सम्ममा कानूनको मस्यौदा तयार पार्ने अपेक्षा गरिएको छ ।

यसअन्तर्गत क्रिप्टोलाई कानूनी क्षेत्रमा पूर्ण पहिचानसहित बैंकिङ प्रणाली वा इजाजतपत्रप्राप्त कम्पनीमार्फत मात्र प्रयोग गर्न सम्भव बनाउने तयारी भएको बताइएको छ ।

समाचार अनुसार रुसमा क्रिप्टोकरेन्सीलाई ‘डिजिटल फाइनान्सियल एसेट’ को सट्टा ‘करेन्सीको एनालग’ का रुपमा पहिचान दिने तयारी छ ।

यदि रूसी मिडियामा उल्लेख भए अनुसार कानून पारित भयो भने रुसमा क्रिप्टोकरेन्सीको स्वामित्व वैध हुनेछ । हालसम्म रूसमा क्रिप्टोकरन्सीहरू प्रयोग गरेर भुक्तानी गर्ने अधिकार दिइएकाे छैन ।

मस्याैदामा ६ लाख रूबल (करिब ८ हजार डलर) भन्दा बढीको क्रिप्टोकरेन्सी लेनदेनलाई अवैध गर्ने तयारी रहेको पनि समाचारमा जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२