close

नेपालमा ई-सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारीमा सरकार

टेकपाना टेकपाना

बैशाख २५, २०८१ १६:५९

नेपालमा ई-सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारीमा सरकार

 

काठमाडौं । नेपालमा इलेक्ट्रोनिक चुरोट (ई-सिगरेट्स/भेप) प्रतिबन्ध लगाउने गरी सरकारले प्रक्रिया थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भेपमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको हो । 

यसका लागि केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई भेपको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न पत्राचार गरिसकेको छ । 

केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा २८ को उपदफा ४ अनुसार विभिन्न निकायलाई पत्राचार गरिएको हो । उक्त उपदफामा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री–वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइनेछैन’ भन्ने व्यवस्था रहेको उनले बताए ।

नेपालमा विगत पाँच वर्षमा मात्रै २०० गुणाले भेपको आयात बढेको र यसले ठूलो रकम देशबाहिर गइरहेको उनले सुनाए । यसका साथै चुरोट छाड्न मानिसले भेप प्रयोग गरेता पनि यसले मुटु र फोक्सोमा सिधै असर गर्ने उनको भनाइ छ । यदि अर्थ र सञ्चार मन्त्रायलयले निर्देशिकामा भएको कुरालाई अक्षरश कार्यान्वयन गर्ने हो भने भेप प्रतिबन्ध हुने उनले जनाए ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८१ १७:९