काठमाडौं । अपरिचित व्यक्तिबाट आएको पार्सल खोल्ने क्रममा पड्किंंदा भारतको गुजरातमा एक जनाको ज्यान गएको छ । बिहीबार अटो रिक्सा ड्राइभरले टेप रेकर्डरजस्तो देखिने पार्सल दिएपछि खोल्ने क्रममा पड्किंदा उनको ज्यान गएको हो ।
ती युवक ३२ वर्षीय जीतुभाइ हिराभाइ वन्जारा हुन् । यस घटनामा उनकी ९ र १० वर्षीय छोरीहरू घाइते भएका छन् । एक छाेरीको अवस्था सुधारोन्मुख छ भने अर्कीको गम्भीर रहेको बताइएको छ ।
भारतीय प्रहरीका अनुसार ३१ वर्षीय जयन्तभाइ बलुसिंह बन्जाराले अटो रिक्सामार्फत सो पार्सल पठाएका थिए । टेप रेकर्डरजस्तो देखिने उक्त पार्सल खोल्ने क्रममा पड्किएको थियो ।
एनडीटिभीका अनुसार पार्सल पठाउने व्यक्ति र बम पड्किंदा मृत्यु भएका युवकको श्रीमतीको पहिले प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धमा भएकै बखत युवतीले जीतुभाइसँग बिहे गरेकी थिइन् । पछि उनीहरूका दुई छोरी भइसकेपछि ती महिला र उनका पूर्वप्रेमी पुनः नजिकिए ।
घटना भएको समय ती युवती घरबाहिर थिइन् । घरमा जीतुभाइ र उनका दुई जना छोरीहरू मात्र थिए । युवतीलाई सो घटनाबारे थाहा भएको र त्यहीबाट बच्न उनी बाहिर गएको भन्ने दाबी गरिएको छ ।
टेप रेकर्डर बम बनाउका लागि आरोपित जयन्तभाइ राजस्थान पुगेका थिए । उक्त टेप रेकर्डरमा गेलाटिन स्टिक्ट र डेटोनेटर राखिएको थियो । उक्त स्टिक निकाल्नासाथ त्यसभित्र भरिएको विस्फोटक पदार्थ पड्किन पुगेको थियो ।
रिक्सामा पार्सल ल्याएर आउने व्यक्ति सीसीटिभी फुटेजमार्फत पहिचान भएको प्रहरीले जनाएको छ । पछि अटो ड्राइभरसँग बयान लिएपछि उनले उक्त घटनाको बेलीविस्तार लगाएका थिए ।
प्रहरीका अनुसार पूर्वप्रेमिकाको श्रीमानको हत्या गर्ने उद्देश्यले ती युवकले पार्सलमा बम पठाएका थिए । थप अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा युवकविरुद्ध मुद्दा दायर गरिने प्रहरीको भनाइ छ ।