close

यस्तो छ कम्प्युटरमै मोबाइल चलाउने तरिका

हरिजङ्ग थापा हरिजङ्ग थापा

चैत ५, २०७८ १६:३

यस्तो छ कम्प्युटरमै मोबाइल चलाउने तरिका

काठमाडौं । ल्यापटपमा धेरै समय बिताउनुहुन्छ भने मोबाइलमा फोन वा म्यासेज आउँदा एउटा कुरा पक्कै खट्किन्छ होला । ल्यापटपबाटै रेन्सपोन्स गर्न मिल्ने भए नि हुन्थ्यो भनेर । किनकि काममा व्यस्त भइरहँदा हामीलाई बेलाबखत मोबाइलले नै डिस्टर्ब गरिरहेको हुन्छ ।

युट्युव, ईमेल, फेसबुक, ट्वीटरजस्ता सोसल मिडिया त ल्यापटपमै खोल्न सकियो । तर फोन वा म्यासेज आएको खण्डमा मोबाइल नचलाई सुख पाइन्न ।

यो बाध्यात्मक समस्यालाई बुझेर सामसङले आफ्ना ग्यालेक्सी स्मार्टफोनमा ‘लिंक टु विन्डोज’ (Link to Windows) भन्ने फिचर उपलब्ध गराएको छ । जसले मोबाइललाई विन्डोज अपरेटिङ सिस्टम भएकाे ल्यापटप/डेस्कटप कम्प्युटरबाटै कन्ट्रोल र रेन्सपोन्स गर्न सघाउँछ ।

अर्थात ल्यापटप चलाउँदै गर्दा फोन वा म्यासेज आए ल्यापटपबाटै रेन्सपोन्स गर्न सकिन्छ । कतिपय ग्यालेक्सी फोनमा याे फिचर ईन-ब्युल्ट रुपमा नै रहेको हुन्छ । सामसङ मोबाइलको Quick Panel अथवा Advance फिचरमा गएर यो फिचर छ कि छैन चेक गर्न सकिन्छ ।

यदि छैन भने प्ले स्टोरमा गएर ‘Link to Windows’ सर्च गर्नुभयो भने Your Phone Companion – Link To windows भनेर एप देखापर्छ ।

त्यसलाई इन्स्टल गरेपछि यो फिचर उपयोग गर्न सकिन्छ । यो एपको सहयाताले जुनसुकै एन्ड्रोइड फोनलाई ल्यापटपसँग जोड्न त सक्छौं । तर केही सुविधा भने सामसङका ग्यालेक्सी फोनका लागि मात्र उपलब्ध गराइएको छ ।

यो फिचर ल्यापटप वा कम्प्युटरमा व्यस्त रहने मानिसहरुका लागि एकदमै उपयोगी छ । किनकि पहिलो कुरा यसबाट ल्यापटपबाटै मोबाइल फोनका सबै नोटिफिकेसन हेर्न र तत्कालै प्रतिक्रिया दिन सकिन्छ ।

दोस्राे कुरा मोबाइलमा आएका फोन होस् वा म्यासेज, ल्यापटपबाटै जवाफ दिन मिल्छ । ग्यालरीमा भएका फोटो हेर्न, इडिट गर्न अनि ल्यापटपमा सार्न पनि सकिन्छ ।

ग्यालेक्सी स्मार्टफोनको स्क्रिन नै ल्यापटपमा लोड गरेर हेर्न र चलाउन मिल्छ । जुन कुरा अन्य एन्ड्रोइड फोनमा भने उपलब्ध छैन ।

समग्रमा भन्ने हो भने यो फिचर प्रयोग गरेर मोबाइलका विभिन्न एप कम्प्युटरको डेस्कटपमा खोल्न सकिन्छ । अझ भनौं मोबाइल नछोइकनै मोबाइलमा भएका सबै कुरा हेर्न र चलाउन सकिन्छ ।

फोनमा ‘लिंक टु विन्डाेज एप छ भन्ने यकिन भइसकेपछि अब ल्यापटपको विन्डाेज आइकनमा क्लिक गरेर Your Phone search गर्नुहोस् । यदि छैन भने Microsoft store मा जानुहोस्, अनि Your Phone एप सर्च गरेर इन्स्टल गर्नुहोस् ।

यसका लागि Windows मा माइक्रोसफ्ट अकाउन्ट जरुरी हुन्छ । ल्यापटपमा Your Phone एप इन्स्टल भइसकेपछि Open गर्नुहोस् । त्यहाँ देखिने Get Started मा थिचेपछि मोबाइल फोनसँग कनेक्ट गर्ने तरिका देख्न सकिन्छ ।

अब तलपट्टि रहेको बक्समा क्लिक गरेपछि Pair With QR Code देखिन्छ । यो सजिलो विधि हो । यसबाहेक हामीले म्यानुअल्ली पनि मोबाइलसँग ल्यापटप लिंक गर्न सक्छौं ।

यसरी लिंक गर्नका लागि मोबाइल र ल्यापटप एउटै नेटवर्कमा जोडिएको हुनुपर्छ । अनि मोबाइलको र ल्यापटपमा एउटै माइक्रोसफ्ट अकाउन्ट हुनुपर्छ ।  

जब तपाईंले Pair With QR मा क्लिक गर्नुहुन्छ, एउटा क्यूआर कोड देखापर्छ । त्यसको माथि मोबाइलसँग ल्यापटप कनेक्ट गर्ने विधि दिइएको हुन्छ ।

अब सोही अनुसार ग्यालेक्सी फाेनको Link To Windows अन गर्नुहोस् । Quick Panel मा रहेको Link To Windows मा ट्याप गर्दा पनि हुन्छ, नभए Setting भित्र Link To Windows सर्च गरी त्यसलाई on गर्नुहोस् ।

अब यहाँ Add Computer देखिन्छ, त्यसमा थिच्नुहोस् । त्यसपछि Continue मा ट्याब गरेपछि यो एपले क्यामेराको Permission माग्छ ।

त्यसलाई Allow गरेर अघि बढेपछि मोबाइलमा QR Code Scanner खुल्छ । जसबाट हामीले कम्प्युटर स्क्रिनमा देखिएको QR कोड स्क्यान गर्ने बित्तिकै फोन ल्यापटपसँग तत्कालै कनेक्ट हुन्छ ।

अथवा ल्यापटपमा Pair Manually गर्नुभएको छ भने त्यहाँ ९ डिजिटको पिन कोड जेनेरेट हुन्छ, त्यसलाई मोबाइलमा Add Computer गरेर राख्दा पनि फोन र ल्यापटप कनेक्ट हुन्छन् ।

फोन र ल्यापटप एक-अर्कासँग कनेक्ट भएपछि नाेटिफिकेसन, म्यासेज, फाेटाे, एप्स र कल शेयरिङका लागि थप केही Permission मोबाइलबाट Allow गर्नुपर्ने हुन्छ ।

यति गरेपछि अब तपाईंले मोबाइललाई एउटै नेटवर्क टिप्ने जुनसुकै ठाउँमा राखे पनि कल, म्यासेजहरु मिस हुनेछैन । ल्यापटपबाटै कल गर्नका लागि Your Phone भित्रको Calls मा थिच्नुहोला ।

त्यहाँ Get Started गरेपछि पहिलो पटक मोबाइलसँग ल्यापटपले केही Permission हरु माग्छ त्यो पुरा गरेपछि ल्यापटपबाट फोन उठाउन वा गर्न पनि सकिन्छ ।

मानौं कसैले फोन गर्‍यो, ल्यापटपबाटै उठाउन सक्छौं । ब्लुटुथ कनेक्सनले फोन कलको आवाज ल्यापटपमै सुन्न सकिन्छ र ल्यापटपकै माइकबाट हाम्रो आवाज फोन गर्ने व्यक्तिसम्म पुग्छ ।

त्यसैले यो सेवा लिनका लागि ल्यापटपमा ब्लुटुथसँगै माइकको हालत पनि ठीक हुन जरुरी छ । नत्र मोबाइल कनेक्ट भए पनि कल गर्न वा उठाउन मिल्दैन ।

त्यस्तै कसैलाई म्यासेज गर्नुपर्‍यो भने पनि मोबाइल चलाइरहनु परेन । म्यासेज वा ईमेल आयो भने ल्यापटपबाटै टाइप गरेर फास्ट रेस्पोन्स गर्न सक्छौँ ।

ईमेल होस् वा फेसबुक अथवा मेसेन्जर, हामीले ल्यापटपको ब्राउजरमा लगईन गरिरहनै पर्दैन । मोबाइलमा भएकै लगईनका आधारमा हामीले त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्छौं ।

साँच्चै भन्ने हो भने यसरी लिंक गरिसकेपछि मोबाइल नछोइकनै हामीले त्यसबाट हुने सबै काम ल्यापटपबाट गर्न सक्छौं । यो फिचरको प्रयोग गर्दा मोबाइल चलिरहेकै हुन्छ, स्क्रिनमात्रै ल्यापटपमा देखिने हो ।

Your Phone को सेटिङभित्र Features मा सुरुमै Cross device copy paste भन्ने अप्सन छ । त्यसलाई अन गरेपछि हामीले मोबाइलमा भएका कुरा ल्यापटपमा र ल्यापटपको डेटा मोबाइलमा पेस्ट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३