close

पब्जी मोबाइलका नेपाली कास्टर

गणेश सुवेदी गणेश सुवेदी

बैशाख २७, २०७९ २०:४६

पब्जी मोबाइलका नेपाली कास्टर

काठमाडाैं । युवा पुस्तामाझ अहिले अनलाइन गेमको क्रेज बढ्दो छ । यहाँ खाली समयमा गेम खेल्ने जमातमात्रै छैन, पेशेवर रूपमै गेम खेलेर पैसा कमाउनेहरू पनि प्रशस्त छन् । साथै अनलाइन तथा साेसल मिडिया प्लेटफर्ममा लाइभ स्ट्रिम (प्रत्यक्ष प्रसारण) गरी आम्दानी गर्ने युवा पनि छन् ।

मोबाइल ई-स्पोर्टसमा आकर्षण बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत भइरहेका छन् । केही साताअघि मात्रै पब्जी माेबाइल प्राे लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२२ सम्पन्न भयाे ।

नेपालका ११ टिमले प्रतिस्पर्धा गरेकाे साे प्रतियाेगितामा हामीले नेपाली भाषामै कास्टिङ अर्थात् कमेन्ट्री हेर्न, सुन्न पायाैं । धेरै पब्जी पारखीलाई नेपाली कास्टरहरुको प्रस्तुतिले लोभ्याएको पनि थियो ।

वास्तवमा पब्जी खेल र टिमका सम्पूर्ण पक्षबारे जानकारी राख्ने कास्टरहरुले प्रत्यक्ष प्रसारणलाई थप रोचक बनाउँछन् । फुटबल, क्रिकेटमा जस्तै पब्जी मोबाइलमा यी कास्टरले खेलको प्रत्यक्ष विश्लेषण गर्छन् र प्रतिस्पर्धी टिमको हरेक जानकारी अपडेट गरिरहन्छन् ।

आज हामी पब्जी मोबाइल गेमका ठूला-ठूला प्रतियोगितामा कास्टरको भूमिका निभाइसकेका एक नेपाली युवालाई नजिकबाट बुझ्ने प्रयास गर्दैछौं ।

पब्जी प्रतियोगिता हेर्ने नेपालीहरूका लागि मन्दिप रेग्मी परिचित अनुहार हुन् । बारा सिमराका रेग्मी पब्जी मोबाइल ई-स्पोर्टसको नेपाली अफिसियल कास्टरसमेत हुन् । हालसम्म उनले पीएमपीएल (साउथ एसिया), पीएमजीसी (पब्जी माेबाइल ग्लाेबल च्याम्पियनशिप) लगायत पब्जीका १५ बढी प्रतियाेगितामा कास्टिङ गरिसकेका छन् ।

यसरी बने कास्टर

प्रतियाेगितामा समीक्षक, विश्लेषक वा कास्टरकाे भूमिकामा आउनुअघि उनी पब्जी माेबाइल खेल्थे ।

‘सुरूवातमा रमाइलाेका लागि पब्जी खेल्थें,’ सुरूवाती दिन सम्झँदै उनले भने, ‘त्यतिबेला पब्जीमै व्यावसायिक करियर छ भन्ने थाहा थिएन ।’

पब्जीमा कस्टम रुम खेल्न मिल्ने भएपछि उनले विभिन्न युट्युबरको लाइभमा रुम खेल्न घन्टौँ कुर्न थाले । रुम खेल्नलाई कुर्ने पब्जीका धेरै दर्शक देखेपछि उनको दिमागमा पनि आफूले रुम बनाएर खेलाउने सोच पलायाे ।

अनि फेसबुकमा लाइभ गर्न थाले । सुरुमा थाेरै अडियन्स (दर्शक) मात्र जोडिए पनि विस्तारै पेजले उचाइ लिन थाल्यो । पेजमा लाइभ गरिरहँदा उनलाई  एउटा स्थानीय प्रतियाेगितामा कास्टिङ गरिदिन प्रस्ताव आयो ।

‘निःशुल्क कास्टिङ गरिदिने प्रस्ताव आएको थियाे । मैले फेसबुकबाट केही रकम कमाउन थालिसकेकाले सुरूमा प्रस्ताव मन परेन । तर अन्य बाटो पनि खुल्छ भन्ने आशामा कास्टिङ गर्न राजी भएँ ।’

पब्जीका प्रतियाेगितामा कास्टिङ गर्न थालेपछि उनलाई विस्तारै अरूले पनि चिन्न थाले । परिवारको पनि रोकतोक थिएन । यसरी कास्टिङकाे यात्रा बढ्न थाल्याे ।

पब्जीका अरू प्रतियाेगितामा पनि अफर आउने क्रम बढेपछि उनकाे प्रस्तुति पनि निखारिँदै गयाे । साथमा आम्दानीकाे ग्राफ पनि उकालाे लाग्दै थियाे । पब्जीको अफिसियल कास्टिङ भने उनले पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको ‘सिजन जेरो’ बाट सुरु गरे । सिजन जेरोकाे फाइनलमा उनले घरबाटै कास्टिङ गर्न पाएका थिए ।

त्यसपछि उनलाई पीएमसीओ (पब्जी माेबाइल क्लब ओपन) को कास्टिङ गर्ने प्रस्ताव आयो, जसका लागि उनी भारत जानुपर्ने थियाे । त्यसलाई उनले सहजै स्वीकार गरे ।

त्यसपछि उनको कास्टिङ यात्रा अनवरत अघि बढिरहेको छ । उनले अहिले पब्जी मोबाइल ई-स्पोर्टसको अफिसियल नेपाली कास्टरको रुपमा पब्जीका प्रतियाेगितामा कास्टिङ गर्दै आइरहेका छन् ।

उनी सहित नेपालबाट अंश पराजुली, सन्तोष सापकोटा र रश्मचन्द्र महरा पनि अफिसियल कास्टर हुन् । त्यस्तै विपुल भट्टराईले हालै सम्पन्न पीएमपीएलमा हाेस्ट गरेका थिए ।

कास्टिङ घरसँगै स्टुडियोबाट पनि गर्न सकिने मन्दिप बताउँछन् । तर घरबाट गर्दा भने इन्टरनेट समस्याले सताएका केही नमिठो अनुभव रेग्मीसँग छ । साथै अरू अनावश्यक आवाजले पनि कास्टिङमा असर पर्नसक्छ ।

‘स्टुडियोबाट गरिने कास्टिङ अनुभव बेग्लै हुन्छ । कुनै कुराको तनाव हुँदैन । स्टुडियो गयो, बोल्यो आनन्दै हुन्छ,’ उनी भन्छन् ।

आयोजककाे निर्णयअनुसार पब्जीका आधिकारिक प्रतियोगितामा स्टुडियोबाटै कास्टिङ गर्न भारत जाने गरेकाे उनले सुनाए ।

‘हामीले कास्टिङ गर्ने स्टुडियोको चारैतिर क्यामेरा लगाइएको हुन्छ, जसले हाम्रो भिडिओ रेकर्ड गरिरहेको हुन्छ र आवश्यक पर्दा त्यही क्यामेराबाट भिडिओ लाइभमा राखिन्छ । हामीले बोल्दा भने हाम्रो अगाडि राखिएको मनिटरमा हेरेर बोल्छौं,’ उनले भने, ‘सँगै गेममा के के भयो र के के गर्न सकिन्थ्यो भन्ने हिसाबले पनि बोल्नुपर्छ । यस बाहेक प्रोड्युसरले पनि आउने ग्राफिक्स तथा गेम नतिजाबारे जानकारी दिन्छन् । त्यहीअनुसार आफू तयार भएर बस्नुपर्छ ।’

स्टुडियोमा ग्राफिक्स, एनिमेसन तथा एडिटिङका सबै काम सकिएर मात्र लाइभ आउने हुँदा दर्शकसम्म खेल भइरहेको समयभन्दा १० मिनेटजति ढिलो पुग्ने उनले बताए ।

कति हुन्छ आम्दानी ?

‘कास्टिङबाट महिनामा यति कमाउँछु भनेर ठ्याक्कै भन्नसक्ने अवस्था छैन । तैपनि महिनामा आफूलाई पुग्ने खर्च र परिवारलाई केही सहयोग पनि गर्न सकिरहेको छु,’ उनले मुस्कुराउँदै भने ।

आफूले अहिलेको अवस्थामा कास्टिङमा मात्र आबद्ध भएपनि उनले नयाँ व्यक्तिलाई कास्टिङसँगै अन्य काममा जाेडिन आग्रह गरे ।

नेपालमा पब्जी प्रतियोगिता गर्न कति सम्भव ?

पब्जीले कुनै प्रतियोगिता ल्याउने प्रस्ताव राख्दा नेपालमा सरकारले सहयोग गर्‍याे भने सहजै आधिकारिक प्रतियोगिता गर्न सकिने उनी बताउँछन् ।

‘पछिल्लाे समय नेपालमा इन्टरनेट पनि गुणस्तरीय बन्दैछ । पब्जीका विदेशी खेलाडीहरुलाई नेपालमा नै बोलाएर ल्यान्ड टुर्नामेन्ट गराउन सकिए ठूलाे उपलब्धि हुने थियाे । तर यसका लागि सरकारी पहल नै निर्णायक हुन्छ,’ उनी भन्छन् ।

यसरी विदेशी खेलाडी तथा आयोजक नेपालमा आएर कुनै प्रतियाेगिता गर्दा अझ धेरै जनासम्म पुग्ने र पर्यटन विकासमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

नेपालमा व्यवसायिक गेमिङको भविष्य

पछिल्लो समय नेपालमा मोबाइल ई-स्पोर्ट्समा आकर्षण बढेसँगै यसको व्यावसायिक भविष्यको समेत चर्चा गर्न थालिएको छ । प्ल्येरदेखि स्ट्रिमर र कास्टिङमा नेपाली युवाको आबद्धता बढ्दैछ ।

‘फोरके गेमिङ, सीआर सेभेन गेमिङ स्ट्रिमरले यसका लागि भविष्य देखाइरहेका छन्,’ उनले भने, ‘युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालमा गेमको भिडियो राखेर पैसा कमाउन सकिन्छ भनेर उनीहरूले प्रमाणित गरिदिएका छन् ।’

यसबाहेक पब्जी ई-स्पोर्टस खेलाडीले विभिन्न संस्थामा आबद्ध भई खेलेर ई-स्पोर्टसमा भविष्य बनाउन सक्छन् । यसवापत उनीहरूले तलब तथा अन्य सेवासुविधा पनि पाउने व्यवस्था भइसकेको उनी सुनाउँछन् ।

नयाँलाई उनकाे टिप्स

नेपालमा अझै व्यावसायिक रुपमा गेमिङ उद्योग नबनिसकेकाले पुरै जीवन गेमिङमा खर्चन्छु भनेर भन्न नसकिने उनको मत छ ।

‘भविष्यप्रति आशावादी त छु, तर सबै ठीकठाक भइहालन्छ भन्न पनि सकिँदैन,’ उनी भन्छन् ।

यसका लागि नयाँ गेमरहरूले गेमिङसँगै पढाइ वा अन्य क्षेत्रलाई सँगसँगै लैजान सक्नुपर्नेमा उनको जोड छ । समय व्यवस्थापन ठूलो कुरो हो ।

गेमिङमा आउन चाहने प्रायः विद्यार्थी उमेरकै हुने भएकाले पढाइ र गेमलाई मिलाएर लान आवश्यक छ । अभिभावकलाई पनि आफ्ना बच्चा गेम खेले बिग्रन्छन् भन्ने मानसिकता त्याग्न उनी सुझाव दिन्छन् ।

‘अभिभावकले पनि गेमिङलाई पनि अन्य खेलकुदमा जस्तै भविष्य छ भनेर बुझ्नुपर्ने बेला आएको छ । गेमिङ उद्योगबारे नजिकबाट अध्ययन गरी सोही अनुकूलको वातावरण मिलाउन सके बच्चा पढाइ, सामान्य ज्ञानसँगै खेलमा पनि अब्बल भएर आउनसक्छन् भन्ने चेतना विकास हुन जरूरी छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२