close

देशका सबै राजमार्ग र उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पुर्‍याउनु पर्नेछः सञ्चारमन्त्री

टेकपाना टेकपाना

बैशाख १९, २०८२ ११:५९

देशका सबै राजमार्ग र उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पुर्‍याउनु पर्नेछः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सम्पूर्ण राजमार्ग तथा उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पूर्वाधार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले यसको आवश्यकता औँल्याएका हुन् ।

आजको युग सूचना प्रविधिको युग भएको र सोही अनुसार यसलाई कसरी नेपालको समृद्धिमा प्रयोग गर्ने भनेर आवश्यक नीति तर्जुमाको काम भइरहेको उनले बताए ।

"नीतिगत व्यवस्थाका लागि डेटा सेन्टरको नीति, एआई कसरी प्रयोग गर्ने भन्ने नीति, साइबर सुरक्षा ऐन तर्जुमाको काम गरिरहेका छौँ," मन्त्री गुरुङले भने, "सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने, डिजिटल अर्थतन्त्रबाट मुलुकको विकासमा कसरी योगदान पुर्‍याउने भन्ने कुरा छ ।"

नीति पहिलो प्राथमिकता भएको र त्यस आधारमा आईटी क्षेत्रको पूर्वाधार एकदमै जरुरी हुने उनको ठम्याई छ । सुशासन कायम गर्न, उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न सूचना प्रविधिको विकास नभई नहुने उनले बताए ।

"यसका लागि पूर्वाधारको रूपमा सबै राजमार्गसँगै देशका सबै ६,७४३ ओटै वडामा ब्रोडब्यान्ड इन्टरनेट पुग्नु पर्‍यो । उत्तर-दक्षिण सबै करिडोरमा इन्टरनेट र मोबाइल सेवा विस्तार हुनु पर्‍यो," मन्त्री गुरुङले अगाडि भने, "पूर्वाधार तयार भइसकेपछि जीआईओएमएस-एकीकृत कार्यालय व्यवस्थापन प्रणाली देशका सबै वडा र स्थानीय तहमा प्रयोग गर्नुपर्नेछ । प्रदेश-सङ्घ सबै कार्यालय तथा निकायलाई डिजिटल प्रणालीमा लगियो भने भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।"

यसो हुन सके जनतालाई छिटो, छरितो, शीघ्र, सस्तो र सरल रूपमा सेवा प्रदान गर्न सकिने, राजस्व वृद्धि हुने र अन्ततः पूँजीगत खर्च समेत बढाउन सकिने मन्त्री गुरुङले बताए । 

 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १२:२९