close

यसरी छान्नुहोस् उपयुक्त एसी

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख ३०, २०७९ ८:२९

यसरी छान्नुहोस् उपयुक्त एसी

काठमाडाैं । मुटु कमाउने ठण्डीमा न्यानो, अनि उखरमाउलो गर्मीमा शितलता । यस्तो चाहनालाई विलासिता मान्ने कि आवश्यकता ? व्यक्तिअनुसार राय फरक हुनसक्छ । तर प्रतिकूल मौसमलाई अनुकूल बनाउन विकास भएको प्रविधि हो, एसी अर्थात एयर कन्डिस्नर।

एसीको कुरा गर्दैगर्दा अलिकति यसको इतिहास पनि खोतलौं । आधुनिक एसीको सुरुवातको कुरा गर्दा सन् १९०२ तिरै पुग्नुपर्छ । जुन समयमा विलिस क्यारियरले बडेमानको एयर कन्डिस्नर बनाएका थिए ।

त्यही प्रविधिको जगमा अहिले छरितो र स्तरीय एसी बनेका हुन् । कतिपयलाई यो विलासिताको वस्तु जस्तो लाग्नसक्छ ।

तर सन् १८४२ तिरै जोन गोरी नाम गरेका डाक्टरले बिरामीको सहजताको लागि आइस मसिन भनेर एसीजस्तै उपकरण प्रयोग गरेको इतिहास छ ।

जसबाट यो प्रविधिलाई शताब्दीऔँदेखि आवश्यकताको रुपमा पनि हेरिएको प्रस्ट हुन्छ । फलस्वरुप अहिले अस्पतालको आईसीयू कक्षमा मात्र होइन, जनरल वार्डमा पनि सकेसम्म एसीको प्रयोग गरिएको हुन्छ ।

वास्तवमा एसी प्रतिकूल मौसमलाई अनुकूल बनाइदिने गज्जबको प्रविधि हो, जसलाई स्वस्थकरसँगै शारीरलाई आनन्द दिने साधनको रुपमा पनि लिइन्छ ।

त्यसैले प्रायः सबै बैंक, कर्पोरेट अनि अस्पतालहरुमा एसी अनिवार्यजस्तै भइसकेको छ । होटल, रेष्टुरेन्ट, कार्यालयदेखि घरको कोठा-कोठासम्म पनि एसीले न्यानोपन र शितलता दिन थालिसकेको छ ।

एयर कन्डिस्नरमा सामान्यता Condenser, Evaporator, Compressor, Expansion Valve, Refrigerant, Fan लगायतको संयोजन गरिएको हुन्छ ।

Condenser Outdoor Unit अर्थात् हावा बाहिर पठाउने खण्ड हो । यसलाई कोठा बाहिर राख्ने गरिन्छ । त्यहाँबाट यसले बाहिरी वातावरणको हावा लिएर भित्रको कोठालाई न्यायो वा चिसो बनाउन सहयोग गर्छ ।

यसलाई Heat Rejector को रुपमा पनि चिनिन्छ । कपर कोयल भएको कन्डेन्सरलाई राम्रो मानिन्छ ।

यसले कोठालाई छोटो समयमा चिसो बनाउन सहयोग गर्नुका साथै टिकाउ पनि हुन्छ। कम्प्रेसर अर्को महत्त्वपूर्ण भाग हो। जसले शरीरमा रक्तसञ्चारका लागि मुटुले काम गरेजस्तै गरी कोठाको तामक्रम व्यवस्थापनमा सघाउँछ ।

Evaporator चाहिँ कोठाभित्र रहने भाग हो । जसले हाम्रो आवश्यकता अनुसार कोठाको तापक्रम व्यवस्थापनको काम गर्छ । अर्थात बाहिरी वातावरणबाट ताजा हावा लिएर त्यसलाई चिसो वा तातो बनाएर कोठामा पठाउँछ ।

Refrigerant, Expansion Valve र Fan यसै कामका सहयोगी हुन् । यो त भयो एसीको प्राविधिक पक्ष । अब लागौं एसीका विभिन्न प्रकारतर्फ ।

एसीलाई कहाँ राख्ने त्यस अनुसार यसलाई विभिन्न प्रकारमा विभाजन गरिएको पाइन्छ । जस्तै भित्तामा राख्ने एसीलाई Wall Mount Split एसी भन्ने चलन छ ।

यसलाई Split AC भन्नुको कारण चाहिँ यसको कन्डेन्सर Outdoor युनिटको रुपमा रहेको हुन्छ भने Evaporator लाई Indoor मा इन्स्टल गरिएको हुन्छ। घर वा अफिसको कोठामा धेरैजसो यस्तै एसी बढी मात्रामा प्रयोग हुन्छ । यो सानो आकारमा हुन्छ । इन्स्टल गर्न पनि खासै गाह्रो हुँदैन ।

भित्तामा रहने भएकाले कोठाको स्पेस पनि ओगट्दैन । यसप्रकारको एसी चाहिँ सकेसम्म कोठाको बीच भागमा राख्नु राम्रो मानिन्छ । Indoor होस् वा Outdoor Unit दुवैलाई सोझै घाम पर्ने ठाउँमा राख्नुहुँदैन ।

यसले घाम चर्किएको बेला गलत तापक्रम मापन गरेर सोही अनुसार काम गर्छ । जुन हाम्रो लागि उपयुक्त नहुनसक्छ । सिलिङमा टाँसेर होइन अलिकति तल कम्तिमा पनि ५ सेन्टिमिटर ठाउँ छोडेर राख्दा अझै राम्रो हुन्छ ।

सिलिङमा राख्ने एसीलाई चाहिँ सिलिङ क्यासेट भनिन्छ । यस्तो एसीचाहिँ अलिक ठूलो आकारको कोठाका लागि डिजाइन गरिएको हो । बैंक, अस्पताल वा मलहरुमा यस्तो एसी लगाइएको हुन्छ । यस्तो एसीले एकदमै छिटो कोठाको तापक्रम व्यवस्थापन गर्न सक्छ ।

सिलिङमा हुने भएकाले तातो होस् वा चिसो, आवश्यकता अनुसारको हावा पुरै कोठाभरी पुर्‍याउन सक्छ। यसलाई इन्स्टल गर्न चाहिँ अलिक गाह्रो हुन्छ । तर सफा गर्न भने Split AC भन्दा निकै सजिलो हुन्छ । कोठाको लम्बाई, चौडाईसँगै हाइट पनि अलि बढी भएको ठाउँका लागि यस्तो एसी उपयुक्त हुन्छ ।

धेरै ठूलो कोठा जहाँ वालको सट्टा ग्लास वा फलामले बारिएको हुन्छ अनि उचाई पनि धेरै नै छ भने त्यस्तो ठाउँको लागि स्ट्याण्डीङ एसी ठिक हुन्छ। जुन अन्यको तुलना अलि बढी पोर्टेबल पनि हुन्छ ।

यसले फ्रिज वा दराजले जस्तो ठाउँ लिने भएकाले स्पेस टन्नै भएको ठाउँमा यो एसी राख्न सकिन्छ। एसीको प्रकारको बारेमा कुरा गर्दै गर्दा विन्डो एसी पनि हुन्छ। जसलाई झ्यालमा फिट गर्ने गरिन्छ। तर नेपालमा भने यो खासै प्रयोग भएको देखिँदैन। 

यति कुरा थाहा भइसकेपछि Wall Mounted Split AC लिने कि Ceiling क्यासेट लिने अथवा Window वा Standing AC कुन एसी लिँदा ठिक हुन्छ भन्ने निर्णयमा पुग्न तपाईँलाई गाह्रो पर्दैन ।

यसबारे थप जानकारी सहित तयार पारिएकाे भिडिओ सामग्री हेर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२