close

कतार लैजान लागेको भन्दै हात्ती ट्रकमा लोड गरेको भाइरल भिडिओ भ्रामक

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १०:४०

कतार लैजान लागेको भन्दै हात्ती ट्रकमा लोड गरेको भाइरल भिडिओ भ्रामक

काठमाडौं । नेपालका दुई हात्ती ट्रकमा राखेर कतार लैजान लागेको भन्दै भाइरल भएको भिडिओ झुटो भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल सो भिडिओमा ट्रकमा दुई ओटा हात्ती लोड गरिरहेको दृश्य देखाइएको छ ।

उक्त भिडिओमा नेपालका दुई हात्ती कतार लैजान लागेको भन्ने दाबी गरिएको छ । तर, उक्त दाबी झुटो रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । 

“टिकटकतिर हात्ती लोड गरिरहेको दृश्यको पुरानो भिडिओ राखेर ती हात्ती कतार लैजान लागेको भन्ने दाबी गरिएको रहेछ,” टेकपानासँग कुरा गर्दै तिवारीले भने, “उपहार दिने भनिएका हात्ती जहाँ थिए, अहिले पनि त्यहीँ छन् । फिल्डमा त्यसको तयारी भइरहेको छ । तर, भिडिओमा दाबी गरेको जस्तै ट्रकमा लोड गरेर लैजानै लागेको भन्ने चाहिं भ्रामक हो ।”

पहिलो पटक राजकीय भ्रमणमा नेपाल आएका कतारका अमिर  शेख तमिम बिन हमाद अल थानीलाई नेपालको तर्फबाट रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती पठाउने तयारी निकुञ्जले गरेको छ । दुई सरकारबीच औपचारिक निर्णय भएपछि ती हात्ती कतार पठाइने तिवारीले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १०:४०