close

एनसीएचएलसँग नेप्स गाभिने प्रस्ताव पारित, एकीकृत संस्थाको चुक्ता पुँजी एक अर्ब साढे ६ करोड

टेकपाना टेकपाना

बैशाख १३, २०८१ १९:४३

एनसीएचएलसँग नेप्स गाभिने प्रस्ताव पारित, एकीकृत संस्थाको चुक्ता पुँजी एक अर्ब साढे ६ करोड

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले नेप्सलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्राप्ति गर्ने प्रमुख प्रस्ताव पारित गरेको छ ।

सभाले नेप्सको १०० कित्ता शेयर बराबर एनसीएचएलको २८ कित्ता शेयर कायम हुने गरी ​१ः०.२८ को शेयर आदानप्रदान अनुपातमा नेप्सलाई एनसीएचएलले प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतले पास गरेको हो ।

प्राप्तिका लागि ६ पुस २०८० मा प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्कनपछि २२ चैत २०८० मा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । 

हाल नेप्स र एनसीएचएलको चुक्ता पुँजी क्रमशः २१ करोड १२ लाख रुपैयाँ र एक अर्ब ६६ लाख रुपैयाँ रहेकोमा प्राप्तिपछि एकीकृत संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड ५८ लाख रुपैयाँ हुनेछ । 

नेप्सको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ६ करोड ४६ लाख रहेको थियो भने एनसीएचएलको खुद मुनाफा ३७ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवर्द्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी आ-आफ्नो क्षेत्रमा कार्य गर्दै आएका छन् । ​नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरी सदस्य बैंकहरूलाई विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किममा आधारित कार्डहरू जारी गर्ने तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्स्यौट गर्ने सेवा प्रदान गर्दै आएको छ । 

त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्लेटफर्ममार्फत आफ्ना सदस्यहरूलाई सेवा दिँदै आएको छ ।  

यस प्राप्तिपछि विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालको परिकल्पनालाई पूरा गर्न उक्त क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न र यससम्बन्धी दूरगामी परियोजनाहरूको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्विच लगायतका थप पूर्वाधारहरू विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ । 

प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत नेप्सबीच र एनसीएचएल बीचको प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने बताइएकाे छ । 

प्राप्ति पश्चात कम्पनीको पूँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत सहयोग हुनेछ ।

नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकबाट एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकीकृत कार्य प्रारम्भ गर्ने छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८१ १९:४३