close

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

टेकपाना टेकपाना

जेठ ७, २०७९ ९:१०

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड नाघेको छ । २०७८ चैत महिनासम्मको विवरण अनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो ।

यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् ।

अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सपाेर्ट गर्ने) हुनु पर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ ।

आफ्नो मोबाइल फोनबाट *444‍# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुरु गर्न सकिन्छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।

मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२