close

डेस्कटप वा ल्यापटप, कुन किन्ने ?

टेकपाना टेकपाना

जेठ २५, २०७९ १५:५१

डेस्कटप वा ल्यापटप, कुन किन्ने ?

काठमाडाैं । कम्युटरको आवश्यकता पर्‍याे भने सबैभन्दा पहिले हाम्रो दिमागमा प्रश्न आउँछ, ल्यापटप किन्ने कि डेस्कटप ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ । तपाईं पनि कम्प्युटर किन्ने सोचमा हुनुहुन्छ भने कुन किन्दा राम्रो हुन्छ, त्यो पनि बताउने छौँ ।

यसका लागि हामीले कम्प्युटर किन्दा लाग्ने खर्चदेखि पाेर्टेबिलिटी, प्राेसेसर, इन्टर्नल स्टाेरेज, ऊर्जा खपतलगायतका आधार तय गरेका छौं ।

खर्च

डेस्कटप डेस्कटप बनाउनका लागि धेरै कम्पोनेन्टहरु (सामग्री) को आवश्यकता पर्दछ । प्रोसेसर, ग्राफिक्स कार्ड, मदरबोर्ड, कुलर, र्‍याम, हार्डडिस्क र एसएसडी डेस्कटपका केही कम्पोनेन्ट हुन्, जसको पैसा प्रयोग गरिएको कम्पोनेन्टका आधारमा फरक-फरक हुन्छन् ।

तपाईंले पुराना तथा कम पावर भएका सीपीयू, ग्राफिक्स कार्ड प्रयोग गर्नुभयो भने कम पैसामा पनि डेस्कटप तयार पार्न सक्नुहुन्छ ।

यसको विपरीत पावरफुल र भर्खर आएका कम्पोनेन्टहरुलाई प्रयोग गरेर बनाउनुभयो भने यसको खर्च धेरै माथि पनि जानसक्छ । अहिले सामान्य कामका लागि कम्प्युटर खाेजिरहनु भएकाे हाे भने न्यूनतम १५-२० हजार रूपैयाँमै डेस्कटप तयार पार्न सकिन्छ ।

ल्यापटप– ल्यापटप किन्दा डेस्कटप जति धेरै कम्पोनेन्ट छान्ने अप्सन हुँदैन । न त आफैंले छानेर किन्न सकिन्छ । तैपनि ल्यापटप किन्नुभन्दा अगाडि कुन-कुन कम्पोनेन्ट प्रयोग गरिएको छ, त्यसले तपाईंको आवश्यकता भेट्छ कि भेट्दैन भन्ने कुरा बुझ्नुहाेस् ।

धेरै पावरफुल ल्यापटप (धेरै स्पिड, राम्रो ग्राफिक्स ,धेरै स्टोरेज) को पैसा पनि अलि धेरै नै पर्छ । यसको पैसा कति पर्छ भन्ने कुरा कम्पनीअनुसार फरक पर्छ । नेपालमा ल्यापटप किन्नुपरेमा न्यूनतम ३०-३५ हजारभन्दा माथिको बजेट छुट्याउनुपर्ने हुन्छ ।

पोर्टेबिलिटी

डेस्कटप- डेस्कटप ल्यापटपभन्दा ठूलो हुन्छ । यसमा छुट्टै मोनिटर हुन्छ । यसमा मोनिटर, सीपीयू छुट्टै हुने भएकाले बोकेर सबै ठाँउमा लैजानका लागि सजिलो हुदैन । डेस्कटपहरु कुनै निश्चित स्थानमा राखेर काम गर्नको लागि नै बनाइएका हुन्छन् ।

ल्यापटप- यता ल्यापटप भने हलुका हुन्छ र एक ठाँउबाट अर्को ठाँउमा बोकेर लैजान सकिन्छ ।

प्रोसेसर

डेस्कटप – डेस्कटपको प्रोसेसर ल्यापटपको प्रोसेसरको तुलनामा ठूलो हुनुको साथै पावरफुल पनि हुन्छन् । बजारमा आउने नयाँ प्रोसेसर पनि पहिला डेस्कटपकै लागि आँउछन् ।

ल्यापटप– डेस्कटपको तुलनामा ल्यापटपमा कम पावर खपत गर्नै र साना प्रोसेसर हुन्छन् । त्यसै कारण डेस्कटप र ल्यापटपमा एउटै खालको प्रोसेसर भएपनि प्रदर्शन भने डेस्कटपकै राम्रो हुन्छ ।

गेमिङ ल्यापटपहरुमा राम्रो प्रोसेसर प्रयोग गरिएको हुन्छ, त्यही भएर गेमिङ ल्यापटपको पैसा पनि सामान्य ल्यापटपको भन्दा महङ्गो पर्न जान्छ ।

इन्टर्नल स्टोरेज

डेस्कटप– ल्यापटपको तुलनामा डेस्कटपमा धेरै हार्डडिस्क तथा एसएसडी लगाउन सकिन्छ ।

ल्यापटप- ल्यापटपमा एउटा मात्र हार्डडिस्क वा एसएसडी लगाउन सकिन्छ । यसमा अर्का हार्डडिस्कको लागि ठाउँ हुँदैन । यो बाहेक दुवै कम्प्युटरमा बाहिरी स्टोरेजको लागि एक्सटर्नल ड्राइभ ,क्लाउडजस्ता मिडियम पनि प्रयोग गर्न सकिन्छ ।

सेट अप

डेस्कटप- डेस्कटप प्रयोग गर्नको लागि ल्यापटपको तुलनामा अलि धेरै मेहनत गर्नुपर्ने हुन्छ । डेस्कटप बनाउँदा भन्दा पहिले के के कम्पोनेन्ट प्रयोग गर्ने भन्ने कुरा निश्चित गर्नुपर्ने हुन्छ र ती कम्पोनेन्ट मदरबोर्डसँग जोडेपछि मात्र डेस्कटप प्रयोग गर्न तयार हुन्छ । डेस्कटपको लागि ठाउँ पनि धेरै चाहिन्छ ।

ल्यापटप- डेस्कटपको जस्तो झन्झट ल्यापटपमा छैन । ल्यापटप किनिसकेपछि पावर बटनलाई थिचेर सिधै तपाईंले ल्यापटप प्रयोग गर्न सक्नुहुनेछ । डेस्कटपमा जस्तो तार मिलाउनुपर्ने झन्झट ल्यापटपमा हुँदैन । 

कीबोर्ड र माउस 

डेस्कटप- डेस्कटप तपाईंले माउस र कीबोर्ड बिना चलाउन सक्नुहुन्न । माउस कीबोर्ड बिना डेस्कटप प्रयोगविहीन जस्तै छ ।

ल्यापटप- ल्यापटपमा कीबोर्ड र टच प्याड दुवैकाे विकल्प दिइएको हुन्छ । त्यसैले कहिँकतै हिँड्दा कीबोर्ड छुट्यो, माउस छुट्यो भन्नु पर्दैन । तर पनि माउस कीबोर्ड छुट्टै लगाइयो भने काम गर्न अलि सहज भने हुन्छ ।

पावर खपत 

डेस्कटप- डेस्कटप चलाउनका लागि ल्यापटपभन्दा धेरै पावर आवश्यक पर्छ । त्यसैले डेस्कटप किन्दा छुट्टै पावर सप्लाइ किन्नुपर्छ । पावर सप्लाइ कम वाटको भएका डेस्कटपमा हेभी काम गर्न समस्या हुनसक्छ । यस्तो भएमा काम नै गर्न नमिल्ने वा काम गर्दा गर्दै कम्प्युटर अफ हुने समस्या आउनसक्छ ।

ल्यापटप- ल्यापटपले डेस्कटपको तुलनामा कम पावर खपत गर्छ । ल्यापटपमा डेस्कटपको तुलनामा साना र कम पावर भएका कम्पोनेन्ट प्रयोग गरिएका हुन्छन् ।

ल्यापटपमा ब्याट्री पनि हुन्छ, त्यसैले बत्ति नहुँदा पनि प्रयोग गर्न सकिन्छ । यसले गर्दा बीचमा बत्ति जाँदा काम गरिरहेको प्रोजेक्ट वा डकुमेन्ट हराउने खतरा हुँदैन । 

अपग्रेडिङ 

डेस्कटप-डेस्कटपका धेरैजसो कम्पोनेन्टहरु झिक्न तथा अर्को राख्न सजिलै सकिन्छ । डेस्कटपको केसभित्र पनि धेरै कम्पोनेन्टहरु थप्न सकिन्छ ।

ल्यापटप– ल्यापटपमा र्‍याम र हार्ड ड्राइभबाहेक अन्य कम्पोनेन्ट अपग्रेड गर्न सकिँदैन । अरु कम्पोनेन्टहरु हटाउन वा अर्को राख्न सकिँदैन । हटाएमा वा अर्को राखेमा ल्यापटप चल्दैन ।

गेमिङ 

डेस्कटप-डेस्कटप विशेषगरी हेभी काम गर्न प्रयोग गरिन्छ । यसमा आफ्नो आवश्यकता हेरेर पावरफुल ग्राफिक्स कार्ड, प्रोसेसर र र्‍याम पनि लगाउन सकिन्छ । त्यसैले गेमिङको लागि ल्यापटपभन्दा डेस्कटप नै राम्रो हुन्छ ।

ल्यापटप- ल्यापटपमा पनि गेमिङ गर्न सकिन्छ, तर यसमा प्रयोग हुने ग्राफिक्सको स्तर सीमित हुने र उत्पन्न हुने हिटलाई पनि घटाउने उचित कुलिङ सिस्टम नहुने हुनाले यसमा डेस्कटपको जस्तो गेमिङ अनुभव पाउन सकिँदैन ।

रिपेयर 

डेस्कटप- डेस्कटपमा केही खराबी आएमा बनाउन सजिलो हुन्छ । डेस्कटपको कुनै कम्पोनेन्टमा खराबी आएमा त्यसलाई झिकेर छुट्टै बनाउन सकिन्छ । साथै बनाउने खर्च पनि ल्यापटको तुलनामा अलि कम लाग्छ ।

ल्यापटप- ल्यापटपको कुनै पार्ट वा कम्पोनेन्टमा समस्या आएमा आफैंले मर्मत गर्न वा ल्यापटप खोल्न गाह्रो हुन्छ । केही कम्पोनेन्ट बिग्रिएमा फेर्नलाई डेस्कटपको भन्दा अलि बढी खर्च लाग्नसक्छ । 

निष्कर्ष

समग्रमा डेस्कटप लिने कि ल्यापटप, त्यो तपाईंको आवश्यकतामा निर्भर रहन्छ । यदि तपाईं घर वा अफिसमा बसेर काम गर्नुहुन्छ,बोकेर हिँड्नुपर्दैन,अलि हेभी काम गर्नुहुन्छ भने तपाईंका लागि डेस्कटप उपयोगी हुन्छ ।

तर यदि तपाईं विद्यार्थी, कर्मचारी हुनुहुन्छ वा घरबाहिर हिँडेर काम गर्नुपर्ने छ भने पोर्टेबिलिटीको हिसाबले ल्यापटप लिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६