close

अरूको भिडिओ प्रयोग गर्दा युट्युबले कसरी थाहा पाउँछ ?

टेकपाना टेकपाना

असार १२, २०७९ ९:२

अरूको भिडिओ प्रयोग गर्दा युट्युबले कसरी थाहा पाउँछ ?

काठमाडौं । युट्युबमा मासिक दुई अर्ब प्रयोगकर्ता लगइन गरेर भिडिओ हेर्ने गर्छन् भने प्रति मिनेट ५०० घण्टाको भिडियो अपलोड हुने गर्छ । दैनिक हजारौं भिडिओ अपलोड हुने प्लेटफर्ममा कपिराइट दाबी गरेका कति गुनासो आउँछन् भन्ने कुरा हामी सहजै अनुमान लगाउन सक्छौं ।

सबैभन्दा पहिले कपिराइट क्लेम भनेको के हो भन्ने बुझौँ । यदि तपाईंले कोही अरूको सामग्री सम्झौता नगरी वा अनुमति नलिई आफ्ना माध्यमबाट प्रकाशन, प्रसारण वा प्रयोग गर्नुभएको छ भने सो सामग्री (लेख, रचना, गीत, संगीत, भिडिओ, अडियो, शब्द वा अन्य केही) उत्पादन गर्ने व्यक्तिले मेरो हो भनी सम्बन्धित निकायमा उजुरी/मद्दा हाल्छ वा दाबी गर्छ, जसलाई कपिराइट क्लेम भन्ने गरिन्छ ।

युट्युबमा संसारभरका मानिसले विभिन्न तरिकाका भिडिओ अपलोड गरिरहेका हुन्छन् । त्यसमा तपाईं हामी कसैले अरूका भिडिओ प्रयोग गर्दा कतिपय बेला भिडिओ अपलोड गर्नासाथै कपिराइट क्लेम लाग्छ भने कतिपय अवस्थामा केही समय लाग्न सक्छ ।

अरूले अपलोड गरेका भिडिओ आफूले प्रयोग गर्दा कपिराइट इस्यु आइहाल्छ भन्ने हुँदैन । त्यसका लागि अपलोड गर्ने व्यक्ति वा संस्थाले आफ्नो भिडिओ अरूले प्रयोग गरेको छ भनेर रिपाेर्ट गर्नुपर्ने हुन्छ । वा क्रियटरले आफ्नो भिडिओ अरू कसैले प्रयोग गरेको छ भने कपिराइट लगाइदिन भनेको हुन्छ ।

त्यसरी अरूको भिडिओ प्रयोग गर्दा कपीराइट स्ट्राइक लाग्ने गर्छ । आखिर युट्युबले यतिका गुनासो/रिपाेर्ट कसरी सम्बोधन गर्छ होला । मिडियासँग भएको छलफल कार्यक्रममा युट्युबका प्रोजेक्ट मेनेजर फ्याबियो मागाग्माले युट्युबले कसरी कपिराइट दाबीलाई सम्बोधन गर्छ भन्ने कुरा खुलाएका छन् ।

युट्युबले कन्टेन्ट क्रियटरको हितका लागि कपिराइट सिस्टममा कसरी काम गर्छ भन्ने कुरा उनले सो छलफल कार्यक्रममा बताएका हुन् ।

कपिराइट मेनेजमेन्ट सुइट भनिएको सो प्रणाली युट्युबको हरेक इकोसिस्टमलाई सन्तुलन राख्नका लागि डिजाइन गरिएको उनले बताएका छन् । जसमा तीनवटा टुल वेबफर्म, कपीराइट म्याच र कन्टेन्ट आइडी रहेका हुन्छन् ।

युट्युबले आफ्ना हरेक प्रयोगकर्ताका लागि कपिराइट मेनेजमेन्ट सुइटमा एक्सेस दिएको छ । जसले गर्दा प्रयोगकर्ताले आफ्ना कपिराइटयुक्त सामग्री नियन्त्रण गर्न सक्छन् ।

युट्युब क्रियटरले कपिराइट राइट क्लेम गर्दा के हुन्छ भन्ने प्रश्न आउन सक्छ । कपिराइट क्लेम गर्ने बित्तिकै भिडियो भिडिओ ब्लक गर्ने वा च्यानलमा कपिराइट स्ट्राइक लगाउने भन्ने हुँदैन ।

युट्युबले कस्तो प्रकृतिको भिडिओ छ र, त्यसलाई कस्तो किसिमको सजाय दिँदा दुवैलाई उपयुक्त हुन्छ भन्ने निर्धारण गरेर त्यही अनुसारको सजाय (च्यानल ब्लक गर्ने, प्रयोग गर्न सुझाव दिने, भिडियो हटाउने, स्ट्राइक पठाउने, भिडिओ प्राइभेट गरिदिने, त्यस बिपरितका एड प्रयोग गरिदिने, भिडिओबाट भएको आम्दानी आधिकारिक क्रियटरसँग बाँढ्ने) दिने गर्छ ।

कपिराइट क्लेम गरेका क्रियटरले सधैं भिडिओ हटाउने अनुरोध गर्छन् भन्ने हुँदैन । उनीहरू अरूले त्यस भिडिओबाट गरेको आम्दानी बाँड्ने सम्झौता गर्न सक्छन् ।

युट्युबका तीनवटा कपिराइट मेनेजमेन्ट टुल्सले कसरी काम गर्छन्?

१) वेबफर्म

वेबफर्म विभिन्न ८० भाषामा उपलब्ध छ । यसका माध्यमबाट कपिराइट सूचना पेस गरेर सजिलै आफ्नो कन्टेन्ट अरूले प्रयोग गरेको दाबी गर्न सकिन्छ ।

२) कपिराइट म्याच टुल

कपिराइट म्याच टुल विशेषगरी क्रियटरका लागि डिजाइन गरिएको हो । यसले कन्टेन्ट आइडी म्याचिङ प्रविधि प्रयोग गरेर युट्युबमा पुनः अपलोड भएका भिडिओ पत्ता लगाउँछ ।

कपिराइट म्याच टुलका माध्यमबाट पहिलो पटक भिडिओ अपलोड गर्ने क्रियटरले प्रमाण स्वरूप पछिल्ला अपलोड देखाइदिए कपिराइट क्लेम लाग्छ ।

त्यसपछि क्रियटरले फाइल हटाउने वा कपिराइट स्ट्राइक लगाउने कि के गर्ने भन्ने निर्णय लिन सक्छन् । अथवा कपि गरेर अपलोड गर्ने व्यक्तिसँग आपसी सम्झौता गरेर मिलाउँछु भन्न पनि सक्छ ।

३) कन्टेन्ट आईडी

यो युट्युब उद्यमी जस्तै म्यजिक स्टुडियो, मुभी स्टुडियो, एनिमेसन क्रियटर  अन्य सेवा प्रदायकहरूका लागि कपिराइटको सवालमा निकै उपयोगी टुल हो ।

युट्युबका अनुसार युट्युबमा आउने ९८ प्रतिशत कपिराइट क्लेम कन्टेन्ट आईडी सोलुसनबाट व्यवस्थापन हुने गरेका छन् । कन्टेन्ट आईडी सामग्री आईडी मूलतः एक डिजिटल फिंगरप्रिन्टिङ प्रणाली हो, जसले अधिकार धारकहरूलाई सामग्री अपलोड गर्न अनुमति दिन्छ, जुन उनीहरूसँग रिफ्रेन्स फाइलहरूको रूपमा विशेष अधिकार रहेको हुन्छ ।

त्यसपछि उक्त सामग्रीसँग मेल खाने भिडिओ युट्युबले स्वतः स्क्यान गर्ने गर्छ । त्यसपछि उक्त भिडिओमा बिनाकुनै जानकारी कपिराइट स्ट्राइक लाग्ने गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३