close

विश्व ब्रान्ड बन्न तम्सिएको नेपाली आईटी कम्पनीः स्थानीय जनशक्ति, विदेशको बजार

गोपाल साउद गोपाल साउद

असार १४, २०७९

विश्व ब्रान्ड बन्न तम्सिएको नेपाली आईटी कम्पनीः स्थानीय जनशक्ति, विदेशको बजार

काठमाडौं । काठमाडौंका प्रसन्न ढुङ्गेल अमेरिका र नेपाल दुवैतिरबाट ग्रो बाइ डेटा नामक एउटा आईटी चलाइरहेका छन् ।उनको कम्पनीले अहिले नेपालमा करिब एक सय जनालाई रोजगारी दिइरहेको छ । अमेरिकामा भने आठ जना कर्मचारी रहेका छन् । 

कम्पनीले आफ्नो ‘क्लाउड प्रोग्राम’मार्फत क्याम्पस तहमा पढ्ने विद्यार्थीहरूलाई पनि काम गर्ने मौका दिएको छ । क्रक्स जुत्ता, क्यानन, नेस्ले जस्ता विश्व प्रसिद्ध ब्रान्डदेखि अमेरिकामा रहेका नोर्स्टम, एलएलपिन, एक्सप्रेस जस्ता कम्पनीहरूले ग्रो बाइ डेटाको मार्केटिङ इन्टेलिजेन्ट प्रयोग गर्दै आएका छन् ।

कम्पनीको मुख्य बजार अमेरिका भए पनि ग्रो बाइ डेटाका एजेन्सीहरूले संसारभरका ब्रान्डका लागि काम गर्दै आएका छन् । त्यस्ता एजन्सीका ग्राहकहरू जापान, युरोप लगायतका देशमा रहेका छन् ।

यसरी क्यानडा, जापान, कोरिया, मध्यपूर्व, युरोपदेखि भारतीय बजारसम्म ग्रो बाइ डेटाको ‘इन्साइट’ प्रयोग भइरहेको छ । “हाम्रो अबको लक्ष्य भनेको मार्केटिङ इन्टेलिजेन्समा अन्तर्राष्ट्रिय ब्रान्ड बन्नु हो,” प्रसन्न भन्छन्, “जसरी अहिले विश्वभरका संस्थामा माइक्रोसफ्टको सफ्टवेयर वा जिमेल प्रयोग हुन्छ, त्यसैगरी हाम्रो प्रोडक्ट काम लागोस् भन्ने हाम्रो चाहना हो ।”

एक कक्षादेखि छसम्म सेन्ट जेभियर स्कुल गोदावरीमा पढ्ने मौका पाएका प्रसन्न ढुङ्गेलले सेन्ट जेभियर स्कुल जावलाखेलबाट एसएलसी पास गरे । त्यसपछि बुबाले राम्रो स्कुलको खोजीमा बुढानीलकण्ठ स्कुलमा लिएर गए ।

भर्ना हुन प्रवेश परीक्षा पनि दिए । राम्रो अङ्क नआएपछि भर्ना नपाउने स्थिति थियो । तर निश्चित कोटाभित्र नाम निस्किएका एक जना विद्यार्थी भर्नाका लागि नआएपछि मुस्किलसँग प्रसन्नको पढाईको टुङ्गो लाग्यो । 

बुढानीलकण्ठमा पढ्न देशभरबाट विद्यार्थीहरू आउने गर्थे । त्यही स्कुल पढेकाहरू देशका उपल्लो ओहोदामा पुगेको थाहा पाएपछि उनको हौसला पनि चुलियो । 

खेलकुदभन्दा बढी पढाइमा रुचि भएका प्रसन्न इन्जिनियरिङ तर्फ आकर्षित हुन थाले । ए लेभल पूरा गरिसकेपछि विदेशका विभिन्न विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिए । 

नभन्दै कोर्नेल युनिभर्सिटी अमेरिकामा उनले पूर्ण छात्रवृत्ति पाए ।  यसरी उनी उच्च शिक्षाका लागि सन् १९९५ मा अमेरिकातर्फ सोझिए । “म आफूलाई भाग्यमानी पनि ठान्छु । पूर्ण छात्रवृत्ति नपाएको भए सायद म अमेरिका जान्न थिएँ होला,” प्रसन्न भन्छन्, “त्यत्रो पैसा तिरेर पढ्न जाने हैसियत पनि थिएन ।”

अमेरिका जानु अघिसम्म कम्प्युटरको ‘क’ समेत थाहा नभएका उनले भिसा निश्चित भइसकेपछि मुस्किलसाथ हल्काफुल्का टाइपिङ सिके । त्यही क्रममा उनले ‘ईमेल’ पहिलो पटक सुनेको शब्द थियो । 

इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न गएका उनी विश्वविद्यालयमा सँगै पढ्ने अरु विद्यार्थीहरूले कम्प्युटरमा प्रोग्रामिङ गरेको देखेर अचम्म मान्थे । एक दिन उनलाई प्राध्यापकले पेपर लेखेर ल्याबमा गएर डबल स्पेस दिएर लेजर इङ्कमा प्रिन्ट गरेर ल्याउन अह्राए ।

“मुस्किलसँग टाइप गरेर प्रिन्ट निकालेँ,” उनी सुनाउँछन्, “तर प्राध्यापकले डबल स्पेस र लेजर इङ्क नभएको भन्दै मैले लेखेको काटकुट पारिदिए । मलाई त्यो भनेको पनि थाहा थिएन ।”

“मलाई त केही पनि आउँदैन थ्यो,” उनी भन्छन्, “तैपनि मैले इलेक्ट्रिकल अन्तर्गत टेलिकम्युनिकेसनको सिग्नल प्रोसेसिङमा इन्जिनियरिङ पूरा गरेँ ।” इलेक्ट्रिकल इन्जिनियरिङ नै पढ्छु भन्ने स्पष्ट सोच नभए पनि उनी हुत्तिँदै त्यहाँ पुगेका थिए ।

“विश्वविद्यालयमा गइरकेपछि मेकानिकल इन्जिनियरिङको क्लास लिएँ, मन परेन । केमिकल इन्जिनियरिङको क्लासमा गएँ, त्यो पनि मन परेन,” उनी सुनाउँछन्, “कम्प्युटर इन्जिनियरिङमा प्रयास गरेँ, त्यो पनि चित्त बुझेन । तर इलेक्ट्रिकल इन्जिनियरिङ चाहिँ रमाइलो लाग्यो, त्यही पढेँ ।” उक्त घटनापछि उनी राति २ बजेसम्म ल्याबमै बसेर प्रोग्रामिङ सिक्न थाले ।

त्यसबेला वायरलेस कम्युनिकेसन (तार रहित सञ्चार प्रविधि) भर्खर भर्खर आउँदै थियो । नेपाल टेलिकमले पनि मोबाइल सेवा उपलब्ध गराउँदै थियो । 

जसले गर्दा टेलिकम्युनिकेसन प्रति प्रसन्न मोहित बने । त्यसैबीच दुई तीन वाक्यको ईमेल लेखेर नेपालमा रहेका बुबालाई पठाए । यता बुबाले प्रति ५० रुपैयाँ तिरेर ईमेल प्राप्त गरेको उनी सम्झिन्छन्, “त्यतिखेर नेपालमा मर्कन्टाइलले भर्खर भर्खर ईमेल सेवा सुरु गरेको थियो ।”

बुबा पीएचडी गरेका । परिवारमा अरु पनि पढेलेखेकै थिए । जसले गर्दा पढ्नुपर्छ भन्ने सोच उनमा गढेको थियो । त्यसैले पीएचडी गर्ने सोच सहित प्रिन्स्टन युनिभर्सिटीमा भर्ना भए । ‘रिसर्च असिस्टेन्शिप’को रूपमा त्यहाँ गएका उनले त्यहाँ अलिक भिन्नै किसिमको वातावरण पाए । 

“त्यहाँ जेफ बेजोस जस्ता व्यक्तिहरू आएर प्रवचन दिने गर्थे, उनी प्रिन्स्टनकै अल्मुनाई (भूतपूर्व विद्यार्थी) थिए,” उनी सुनाउँछन्, “त्यसले तपाईँले चाह्यो भने जे पनि गर्न सक्नुहुन्छ भन्ने किसिमको भावना जगाउँथ्यो ।”

टेलिकम्युनिकेसनमै पीएचडी गर्ने उद्देश्यले उनी प्रिन्स्टन  भर्ना भए पनि सैद्धान्तिक विषयप्रति उनमा त्यति रुचि थिएन । कुनै एउटा निश्चित विषयको विशेषज्ञमा सीमित भइने पो हो कि सोचेर उनले पीएचडीको सपना बीचमै त्यागे । 

बरु मास्टर्स पूरा गरेपछि एमबीए पढ्ने र काम सुरु गर्ने निधो कसे । त्यसक्रममा उनले रोजगारीको लागि नभएर अनुभवको लागि विभिन्न कम्पनीमा काम गरे । 

सन् २००० को त्यो समयमा डटकमको युग चलिरहेको थियो । त्यही समयमा उनी एउटा आईटी कम्पनीमा आवद्ध भए । २०० मिलियन अमेरिकी डलर लगानी जुटाएको उक्त कम्पनीले उपलब्धी भने केही गर्न सकेन ।

अन्ततः टाट पल्टिएको अवस्थामा बिक्री भयो । त्यसबाट के गर्नु हुँदैन भन्ने कुरा चाहिँ प्रसन्नले राम्रैसँग महसुस गरे । रुद्र पाण्डेले अमेरिकामा डिटु हकाई नामक नयाँ आईटी कम्पनी खोलेका थिए ।

कम्पनीमा नेपालमै रहेर काम गर्ने तीन जना थिए । तत्कालीन समयमा बोस्टनमा बस्ने नेपालीहरूको सङ्ख्या पनि त्यति धेरै थिएन । त्यसक्रममा पाण्डेको परिवारसँग प्रसन्न परिचित भइसकेका थिए । 

प्रिन्स्टनमा पढ्दाको समयदेखि नै उनमा भेन्चर क्यापिटल र आन्टरपेनरशिप (उद्यमशीलता) मा ठूलो रुचि थियो । जहाँ उनी ‘हाई टेक आन्टरपेनरशिप’को कक्षामा पनि सहभागी भएका थिए ।

त्यसक्रममा कम्पनी कसरी सुरु गर्ने र प्रविधिको क्षेत्रबाट कुनै कम्पनीले कसरी प्रभाव जमाउन सक्छ भन्ने कुरा सिक्ने मौका पाएका थिए । स्वास्थ्य प्रविधिको क्षेत्रमा काम गरिरहेको र भर्खरै स्थापना भएको कम्पनीमा रुचि भएकाले उनी डिटु हकाईमा काम गर्न थाले ।

नेपालमा समेत रहेको कम्पनीमा काम गर्दा घरपरिवार भेटघाटका लागि स्वदेश फर्किँदा समेत काम गर्न पाइने सहजता प्रसन्नले हेरेका थिए । नेपालमा पनि केही गर्ने सपना बुनिरहेका प्रसन्नले त्यसका लागि डिटु हकाई एउटा राम्रो अवसर हुने ठाने ।

यसरी उनले ६ वर्षसम्म त्यही कम्पनीमा काम गरे । एक जना नेपालीले खोलेको कम्पनी क्रमशः एउटा अन्तर्राष्ट्रिय ब्रान्ड बन्न सफल भयो । पाण्डेले भेरिस्क हेल्थ, कोटिभिटी लगायतका कम्पनी पनि खोलेका थिए । सफलताको दिशामा गइरहेको कम्पनी बीचैमा छोडेर प्रसन्न सिकागोमा रहेको केल स्कुल अफ म्यानेजमेन्टमा एमबीए पढ्न थाले ।

सन् २०१० देखि २०१४ को बीचमा उनले परामर्शदाताको रूपमा विभिन्न ठाउँमा काम गरे । त्यसक्रममा स्कट स्मिग्लर नाम गरेका एक अमेरिकी पनि सेवाग्राहीको रूपमा सम्पर्कमा आए । प्राइभेट इक्विटी, भेन्चर क्यापिटलदेखि स्वास्थ्य हेरचाह सम्बन्धी कम्पनीहरू, जहाँजहाँ उनले काम गरे, त्यहाँ डेटाको समस्या देखेका थिए । 

त्यसपछि उनी आफैँले ‘डेटा भ्यालु चेन फ्रेमवर्क’ बनाउँदै प्रयोगमा ल्याउन थाले । स्मिगलरले साना तथा मझौला व्यवसायहरूलाई ‘डेटा सोलुसन’ दिन सकिने परिकल्पना गरेका थिए ।

कुराकानी गर्दै जाँदा स्मिगलर र प्रसन्नले संयुक्त रुपमा पाँच हजार डलर लगानी गरेर ‘ग्रो बाइ डेटा’ नामक कम्पनी स्थापना गरे । यद्यपि त्यो उनले मास्टर्ससम्म पढेको इलेक्ट्रिकल इन्जिनियरिङभन्दा बाहिरको विषय थियो । 

साझेदारीमा व्यवसाय सुरु गर्दा कुनै न कुनै भ्यालु दिनसक्ने व्यक्ति रोज्नुपर्ने कुरामा प्रसन्न प्रष्ट थिए । स्मिगलर कलेज पढ्दाकै समयमा कम्पनी खोलेका व्यक्ति हुन् ।

१५ वर्षको अनुभव सँगालिसकेका प्रसन्न डेटा र सफ्टवेयर उद्योगको विषयमा पोख्त थिए । साथै नेपाली बजारको जनशक्तिसँग पनि उनी परिचित थिए । उता स्मिग्लर ईकमर्स व्यवसाय, बिक्री र बजारिकरणका राम्रो जानकार थिए ।

प्रसन्नले उत्पादन तथा सेवाको क्षेत्रमा काम गर्थे  । उता सम्भावित ग्राहकसँग राम्रो सम्बन्ध (पीआर) भएका उनका साझेदारले बजारीकरण । छँदा खाँदाको जागिर छोडेर विदेशमा आफ्नै कम्पनी खोल्ने निर्णय लिनु आफैमा एउटा ठूलो ‘मेन्टल गेम’ हो ।

कम्पनी सुरु गर्दा होस् वा सञ्चालन भइरहँदा नै किन नहोस्, ठीक गरिरहेको छु कि छैन भन्ने प्रश्न सदाबहार रुपमा आफैमाथि निम्तिरहन्छ । यस्तो ग्रो बाइ डेटा सुरु गर्दा प्रसन्नलाई पनि यस्तै दुबिधाले सताएको थियो ।

मनमा भएको इच्छा चाहना सधैँ इच्छाकै रूपमा सीमित राख्ने कि जोखिम लिएर इच्छाएको उद्देश्य प्राप्तिमा लाग्ने ? उनले दोस्रो विकल्प रोजे । जोखिम लिँदा सफलता मिल्न पनि सक्छ, असफलतामा जाकिन पनि सक्छ ।

यसरी जोखिम मोलेर सानै लगानीमा कम्पनी सुरु भयो । कार्यालय नेपालमा थियो, काम गर्न छ जना कर्मचारी राखेका थिए । उनी अमेरिका । उता कार्यालय थिएन । घरमै बसेर राति एक दुई बजेसम्म कम्पनीको काम गर्थे ।

आफूले ‘पार्ट टाइम’ काम गरेर कम्पनी चल्दैन भन्ने कुरामा उनी निश्चिन्त थिए । परामर्शदाताको रुपमा सेवा दिँदै कम्पनी स्थापना गरेकाले सुरुवाती दिनदेखि नै ग्रो बाइ डेटाले आम्दानी गर्न थाल्यो । 

कम्पनी नेपालमा भए पनि बजार अमेरिका थियो । डिटु हकाईमा काम गर्ने क्रममा नेपालमा भएका प्रतिभाको सहयोगमा कसरी अमेरिकाको काम गर्ने भन्ने कुरा उनले राम्रैसँग अनुभव गरेका थिए । काम गर्न सक्ने कुरालाई लिएर नेपाली प्रतिभामा उनको गहिरो विश्वास पनि थियो ।

नेपालमा कम्पनी खोलेर अमेरिकाको बजारका लागि काम गर्नुको पछाडि तीन ओटा कारण रहेको प्रसन्नको भनाई छ । पहिलो कुरा कम्पनीमा काम गर्ने राम्रा प्रतिभा रोज्नु थियो ।  जहाँ भए पनि युवाहरू सकेसम्म काम गर्न ठूलै कम्पनी रोज्ने गर्दछन् ।

उनी भन्छन्, “अमेरिकामा साना कम्पनीका लागि काम गर्ने राम्रो मान्छे पाउन गाह्रो हुन्छ । मैले अमेरिकामा बसेर नेपालमा रहेका युवाहरूसँग धेरै वर्ष काम गरिसकेको थिएँ । त्यसक्रममा मैले आफ्नो ‘स्पेस’का राम्रा व्यक्तिहरू चिनेको थिएँ । त्यसैले यस्ता प्रतिभाको साथ लिएर काम गर्न सकिन्छ भन्ने  थियो ।” 

अर्को कारण चाहिँ नेपालमा कम्पनी हुँदा २४ सै घण्टा सेवा दिन सकिन्थ्यो । अमेरिकामा दिउँसोको समयमा प्रसन्न र उनका साझेदारले काम सम्हाल्थे । उता राति हुँदा दिउँसोको नेपाली समयमा यताको टिमले साथ दिने गर्थ्यो । 

तेस्रो महत्त्वपूर्ण कारण अमेरिका भन्दा नेपालमा केही सस्तो मूल्यमा काम गराउन सकिन्थ्यो । “सुरुमा कम्पनी खोल्दा सकेसम्म कम खर्चमा काम सम्पन्न गर्ने कुरा पनि सोचिन्छ,” उनी भन्छन् ।

तर सस्तोका लागि मात्र नभएर गुणस्तरीय कामका लागि समेत आफूले नेपालमा कम्पनी खोल्ने निर्णय लिएको उनको दाबी छ । भएको पैसा जोगाउँदै कम्पनीको खर्च धान्न थाले ।

“हामीले ग्राहकको समस्या समाधान गर्नेगरी कम्पनी सुरु गरेका थियौँ । तर यदि ग्राहक नै नभए कम्पनीको अस्तित्व रहन सक्दैन भन्ने थाहा थियो,” प्रसन्न भन्छन्, “थोरै ग्राहक आए पनि त्यसबाट आम्दानी हुन्छ र त्यसैबाट कम्पनी चलाउन पुग्छ भन्ने आशा राखेका  थियौँ ।” 

सुरुसुरुमा ससाना कम्पनीहरूका लागि काम गर्न थाले । ग्राहकले कस्ता किसिमका समस्या खेपिरहेका छन् भन्ने कुरा विस्तारै थाहा पाउँदै गए । यसरी क्रमशः ग्रो बाइ डेटाको आफ्नै एनालिटिक्स प्रोडक्ट तयार हुँदै गयो । यसैगरी ‘प्राइसिङ’ (मूल्य निर्धारण) को प्रोडक्ट बन्यो ।

गुगल, अमेजन जस्ता कम्पनीहरू दिनप्रतिदिन विस्तार हुँदै गइरहेका छन् । नयाँ नयाँ ईकमर्स कम्पनीहरू थपिने क्रम पनि उस्तै छ । इन्टरनेटबाट व्यवसाय गर्ने कम्पनीहरूको आवश्यकता सम्बोधन गर्न ग्रो बाइ डेटाले मार्केटिङ इन्टेलिजेन्स टूल पनि बनाएको छ । 

कम्पनीमा ग्राहक आउन थाले । भएको आम्दानी कम्पनीमै लगानी गर्दै लगे । ग्रो बाइ डेटाले विभिन्न विज्ञापन एजेन्सीहरूको सहयोगमा आफ्ना विभिन्न उत्पादनमार्फत विश्वका ठूला ठूला ब्रान्डहरूलाई उपयोगी ‘इन्साइट’ (भित्री तथ्य तथा जानकारी) दिँदै आएको छ । 

कस्तो हो ग्रो बाइ डेटाको मार्केटिङ इन्टेलिजेन्स सेवा ? 

अहिलेको समयमा जोकोहीले कुनै सामान खरिद  गर्नुअघि इन्टरनेट (गुगल वा अमेजन) मा खोज्ने गर्छन् । उदाहरणको लागि काठमाडौंमा पानी पर्न थाल्यो र जुत्ता किन्नुपर्‍यो भने तपाईँले इन्टरनेटमा ‘रेन शु’ (rain shoes) सर्च गर्नुहुन्छ होला ।

त्यसको नतिजामा नाइकी, पुमा, एडिडास आदि ब्रान्डका जुत्ताहरू देखिन सक्छन् । इन्टरनेटको नतिजामा देखिन्छ (त्यसको रिभ्यु, रेटिङ, मूल्य, आकार, त्यसको प्रमोसन छ कि छैन आदि) हेरेर उक्त जुत्ता खरिद गर्ने कि नगर्ने भन्ने कुराको निधो गर्नुहुन्छ ।

यस्ता ठूला ठूला ब्रान्ड तथा कम्पनीहरूका लागि गुगल-अमेजन विशाल बजार हुन् । बजार निकै प्रतिस्पर्धात्मक छ । यस्तोमा राम्रो बजार र बिक्री कायम गर्न उनीहरूलाई सही किसिमको ‘एनालिटिक्स’ आवश्यक पर्छ ।

विभिन्न विज्ञापन एजेन्सीहरूले ठूलाठूला ब्रान्डहरूका लागि डिजिटल मार्केटिङको काम गर्दछन् । त्यस्ता विज्ञापन एजेन्सीहरूलाई ग्रो बाइ डेटाले ‘एनालिटिक्स’ तथा ‘इन्साइट’ उपलब्ध गराउँछन् ।

ग्रो बाइ डेटाले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका डेटा र रिपोर्ट समेत प्रदान गर्दछ । मानौँ क्याननका लागि कुन बजारमा जाँदा राम्रो हुन्छ, प्रतिस्पर्धी कम्पनी नाइकनको व्यवसाय निकै राम्रो हुनुको पछाडि उसले के गरिरहेको छ, आदि जस्ता मार्केटिङ इन्टेलिजेन्ट इन्साइट ग्रो बाइ डेटाले तयार पार्छ ।

यस किसिमको डेटाबाट सम्बन्धित कम्पनीले अझ राम्रो गर्न सक्छ । प्रसन्न कुनै न कुनै रुपमा नेपाली बजारमा समेत आफ्नो कम्पनीको ‘डेटा टूल’ को राम्रो सम्भावना रहेको ठान्छन् ।

“हामी डेटाबाटै स्वस्थ, सम्पन्न र खुशी हुनसक्छौँ,” उनी भन्छन्, “नेपालमा दशौँ लाख व्यक्तिलाई डेटाको क्षेत्रमा रोजगारी पाउन सक्ने सम्भावना छ । भारतले जस्तै हामी पनि आईटीबाट ठूलो रूपान्तर गर्न सक्छौँ ।”