close

भैरव टेक्नोलोजीः दक्षिण एसियाकै उत्कृष्टमा पर्ने नेपाली साइबर सुरक्षा कम्पनी

अर्पना आले मगर अर्पना आले मगर

साउन १०, २०७९

भैरव टेक्नोलोजीः दक्षिण एसियाकै उत्कृष्टमा पर्ने नेपाली साइबर सुरक्षा कम्पनी

काठमाडौं । नेपालको साइबर सुरक्षाको क्षेत्रमा परिचित कम्पनी नाम हाे, ‘भैरव टेक्नोलोजी‘ । कम्पनीले यो औपचारिक नामसहित विगत चार वर्षदेखि साइबर सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

भैरव टेक्नोलोजी एउटा यस्तो साइबर सुरक्षा फर्म हो, जसले साइबर अपराध रोक्न, डेटा संरक्षण गर्न र सुरक्षा जोखिमहरू न्यूनीकरणका साथै साइबर सुरक्षा अडिट, आईएस अडिट, साइबर सुरक्षा परामर्श लगायतका कामहरू गर्दै आएको छ ।

यसका साथै कम्पनीले साइबर सुरक्षा सम्बन्धी देशका विद्यमान स्थितिलाई लिएर विविध प्रतिवेदन पनि सार्वजनिक गर्दै आएको छ ।

साइबर सुरक्षाको क्षेत्रमा गरेको योगदानकै आधारमा भैरव टेक्नोलोजी दक्षिण एसियाका उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ ।

भैरव टेक्नोलोजीको सुरुवात 

देशको भौतिक सुरक्षामा क्रियाशील सैनिक परिवारमा हुर्केका विजय लिम्बूले साइबर सुरक्षाको बाटो समाते । सुरक्षा आखिर सुरक्षा नै थियो ।

सिंगापुर र बेलायती सैनिक तथा प्रहरीको घरमा जन्मेका विजय साथीको लहलहैमा लागेर प्रविधिको क्षेत्रमा आइपुगे । पछि उनले सरोज लामिछानेसँग मिलेर सन् २०१९ मा भैरव टेक्नोलोजी स्थापना गरे ।

गोर्खालीको काम नै सुरक्षा गर्ने भन्ने विरासतलाई नै आधार बनाएर उनले आफ्नो कम्पनीको नाम समेत भैरव राखे । ‘साइबर डिफेन्डर फ्रम ल्यान्ड अफ गोर्खा’ भन्ने नारासहित भैरव साइबर सुरक्षाको क्षेत्रमा सक्रिय छ । 

कम्पनीको उद्देश्य 

कुनै पनि स्टार्टअप कम्पनी स्थापना हुँदा कुनै एउटा मूल मन्त्रका साथ अगाडि बढ्ने गर्छ । त्यसै अनुरूप भैरव टेक्नोलोजीले देशको साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेको छ ।

कम्पनीको मुख्य उद्देश्य भनेको साइबर असुरक्षा न्यूनीकरण गर्नु हो । साथै भैरवले साइबर सम्बन्धी जोखिमहरूलाई निर्मूल गर्ने लक्ष्य समेत राखेको छ ।     

कम्पनीको व्यावसायिक मोडेल 

कम्पनीले हाल विशेष गरी चार ओटा व्यवसायिक मोडेलमा काम गरिरहेको छ । अन्य कम्पनी तथा संस्थाहरूलाई सब्सक्रिप्सनको आधारमा साइबर सुरक्षाका सेवा प्रदान गर्ने, बिजनेस टु बिजनेस साइबर सुरक्षा मोडेल, साइबर सेक्युरिटी सेवा प्रदायक र साइबर सुरक्षा परामर्शदाताको रूपमा भैरव टेक्नोलोजीले काम गरिरहेको छ । 

सेवाका क्षेत्र 

साइबर सुरक्षा आफैमा एउटा बृहत् क्षेत्र भएकाले यसको कामको दायरा पनि निकै फराकिलो छ । आजको दिनमा हरेक क्षेत्रमा साइबर सुरक्षाको आवश्यकता छ ।

भैरव टेक्नोलोजीले पनि आवश्यकता अनुसार त्यसैगरी आफ्नो दायरा बढाउँदै लगेको छ । कम्पनीले क्षेत्रमा एग्रोटेक, एआई, मसिन लर्निङ, डिप लर्निङ, बिग डेटा, एप्लिकेसन, डेटा, क्लाउड, होस्टिङ, डिजिटल मार्केटिङ, इकमर्स तथा शिक्षा लगायत रहेका छन् ।

यससँगै कम्पनीले विद्युतीय सवारी, फिनटेक, ग्याजेट, गेमिङ, ग्राफिक्स, एनिमेसन, भीएफएक्स, स्वास्थ्य तथा इन्टरनेट, रोबोटिक्स, सफ्टवेयर, टेलिकम, वेब तथा एप डेभलपमेन्टसँगै विविध आउटसोर्सिङका क्षेत्रमा पनि काम गर्दै आएको छ । 

१. साइबर सेक्युरिटी अपरेसन सेन्टर एज अ सर्भिस (सीएसओसी)

यो सब्सक्रिप्सनमा आधारित सेवा हो । कम्पनी तथा संस्थाहरूले आफ्नो प्रणालीको सुरक्षाका लागि सब्सक्रिप्सनको आधारमा भैरव टेक्नोलोजीबाट सेवा लिन सक्छन् ।

यसअन्तर्गत भैरवले ग्राहक कम्पनीको साइबर सुरक्षाका लागि चौबीसै घण्टा काम गरिरहेको हुन्छ । यसमा कम्पनीका साइबर चुनौती निगरानी गर्ने, कुनै समस्या पत्ता लागेमा त्यसको समाधान गर्ने लगायतका कामहरू पर्दछन् । 

२. पेनिट्रेसन टेस्टिङ 

पेनिट्रेसन टेस्टिङ भनेको कुनै कम्पनी वा संस्थाको प्रणाली ह्याक भएमा सो समस्या पत्ता लगाएर त्यसलाई समाधान गर्ने काम हो । यसमा भैरव टेक्नोलोजीले विभिन्न कम्पनीको प्रणाली, नेटवर्क, डिभाइस तथा एपहरू ह्याक भएमा अथवा ह्याकरले आफ्नो पहुँच बनाएर उत्पन्न गरेका समस्यालाई पत्ता लगाएर समाधान गर्ने काम गर्दछ ।

३. गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स 

यो सेवा अन्तर्गत कम्पनीले विभिन्न सेवाप्रदायक कम्पनीको संवेदनशील डेटालाई सुरक्षा दिने तथा कम्पनीको सम्पूर्ण सूचना प्रविधिको पूर्वाधारलाई सुरक्षा दिने काम गर्छ । 

४. आईएस अडिट

भैरवले दिने महत्त्वपूर्ण सेवाहरू मध्ये आईएस अडिट पनि एक हो । यसलाई इन्फरमेसन टेक्नोलोजी अडिट अथवा इन्फरमेसन सिस्टम अडिट पनि भन्ने गरिन्छ । भैरवले कम्पनी वा संस्थाहरूको सूचना प्रविधि पूर्वाधारको अडिट तथा परीक्षणको काम गर्छ ।

कम्पनीका उत्पादन 

१. साइबर थ्रेट मनिटरिङ सिस्टम (सीटीएमएस)

साइबर थ्रेट मनिटरिङ सिस्टम (सीटीएमएस) भैरवका मुख्य तीन उत्पादन मध्ये एक हो । यो प्रणालीलाई सेक्युरिटी इन्फर्मेसन एन्ड इभेन्ट म्यानेजमेन्ट (एसआईईएम) को भावी पुस्ताको रुपमा पनि लिने गरिन्छ । यो प्रणालीले कम्पनी तथा संस्थाहरूको अनलाइन गतिविधि व्यवस्थापन, साइबर चुनौतीको पहिचान र सुरक्षा कमजोरीहरू पत्ता लगाउने काममा सहयोग गर्छ । यसले सुरक्षा जोखिम पहिचान गर्ने र त्यसको व्यवस्थापनको लागि आवश्यक काम गर्न सहयोग गर्छ । 

२. ट्रिडेन्ट 

कम्पनीको अर्को उत्पादन हो, ट्रिडेन्ट । यो एउटा ‘एड्भान्स क्लाउड साइबर सेक्युरिटी अपरेसन सेन्टर’ हो । जसले नयाँ पुस्ताको प्रणाली सहित साइबर सुरक्षाका कामहरू सञ्चालन तथा व्यवस्थापन गर्छ । यसले दैनिक रुपमा बढिरहेको साइबर सुरक्षा सम्बन्धी जोखिमलाई निगरानी गर्ने, पहिचान गर्ने र प्रतिक्रिया दिने कामलाई व्यवस्थित बनाउँछ ।     

३. साइबर साथी

साइबर साथी भैरवको एक जनचेतनामूलक उत्पादन हो । साइबर सुरक्षा सम्बन्धी विविध जानकारीहरू दिने, जनचेतना फैलाउने र यस विषयमा विभिन्न अन्तरक्रिया गर्नका लागि कम्पनीले साइबर साथी नामक एउटा प्लेटफर्म बनाएको छ । यो साइबर सुरक्षा सम्बन्धी जानकारी दिने प्लेटफर्म हो । 

कम्पनीको आर्थिक संरचना 

दुई जना संस्थापकको अग्रसरतामा साइबर सुरक्षा फर्म भैरव टेक्नोलोजी स्थापना भएको हो । जसको सुरुवाती पूँजी सात करोड २० लाख रुपैयाँ रहेको थियो ।

विगत तीन वर्षको समयमा कम्पनीले आफ्नो आम्दानी ५० प्रतिशत वृद्धि गरेको सीईओ विजय लिम्बू बताउँछन् । उनका अनुसार अहिले कम्पनीले वार्षिक तीन करोड ९० लाख रुपैयाँ आम्दानी गरिरहेको छ । हाल कम्पनीमा विभिन्न विभागहरूमा गरी कूल ६५ जनाले काम गरिरहेका छन् ।   

भावी योजना 

कम्पनीले सन् २०२३ सम्म दक्षिण एसियाकै उत्कृष्ट ‘साइबर सेक्युरिटी अपरेसन लिडर’को रुपमा स्थापित हुने लक्ष्य राखेको छ । यससँगै कम्पनीको कामलाई थप गुणस्तर र पारदर्शी बनाउँदै लाने कम्पनीको सोच छ ।  

कम्पनी भैरव टेक्नोलोजी सेक्युरिटी प्रा.लि.
सीईओ विजय लिम्बू सेनिहाङ
बोर्ड/सञ्चालक समिति विजय लिम्बू सेनिहाङ, सरोज लामिछाने, सुलभ बुढाथोकी
स्थापना सन् २०१९
ठेगाना थिरबम सडक १४८, बालुवाटार, काठमाडौं
सम्पर्क ईमेल: [email protected]फोन: ०१-४४४१५४० 
संस्थागत ग्राहक सङ्ख्या ४५
सेवा -साइबर सेक्युरिटी अपरेसन सेन्टर (सीएसओसी)- पेनिट्रेशन टेस्टिङ -गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स -आईएस अडिट
उत्पादन  -साइबर थ्रेट मनिटरिङ सिस्टम (सीटीएमएस)-ट्रिडेन्ट-साइबर साथी
आगामी योजना  सन् २०२३ सम्म दक्षिण एसियाकै उत्कृष्ट साइबर सेक्युरिटी अपरेसन लिडरको रुपमा कम्पनीलाई स्थापित गर्ने
लगानी  सात करोड २० लाख 
वार्षिक कारोबार  वार्षिक ३ करोड ९० लाख 
प्रत्यक्ष रोजगारी ६५ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९