close

सस्तो फोन बिक्रीमा चिनियाँ ब्राण्डलाई प्रतिबन्ध लगाउँदै भारत

टेकपाना टेकपाना

साउन २५, २०७९ ११:४९

सस्तो फोन बिक्रीमा चिनियाँ ब्राण्डलाई प्रतिबन्ध लगाउँदै भारत

काठमाडौं । भारत सरकारले चिनियाँ स्मार्टफोन ब्राण्डलाई ‘इन्ट्री लेवल’ का अर्थात सस्तो फोन बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतले ओप्पो, भिभो, साओमी लगायतका चिनियाँ ब्राण्डलाई १५० डलर अर्थात १२ हजार भारतीय रुपैयाँ भन्दा कम मूल्यका फोन बिक्रीमा प्रतिबन्ध लगाउने भएको हो ।

विश्वको दोस्रो ठुलो मोबाइल बजारमा इन्ट्री लेबलबाट चिनियाँ स्मार्टफोन ब्राण्डलाई हटाउने योजनाका साथ सरकारले यो कदमको तयारी गरेको बताइएको छ । अर्कोतर्फ चिनियाँ ब्राण्ड रियलमी र ट्रान्सन जस्ता ब्राण्डले आफ्नो उत्पादन नै कम गरिरहेको उल्लेख छ ।

विशेषगरी स्थानीय उत्पादन र ब्राण्डलाई प्राथामिकता दिने सरकारको योजना अनुरूप यो कदम चाल्ने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले उल्लेख गरेको छ ।

पछिल्लो समयमा भारतीय बजारमा चिनियाँ स्मार्टफोन ब्राण्डहरूले ठुलो हिस्सा ओगट्न सफल भएका छन् । अझ कोभिड–१९ सँगै आफ्नै देशमा बजारमा गुमाउँदै गएका चिनियाँ ब्राण्ड साओमी, ओप्पो र भिभोले भारतमा निकै राम्रो बजार सिर्जना गरेका छन् ।

इन्ट्री लेवलका स्मार्टफोनमा भारतको ८० प्रतिशत हिस्सा चिनियाँ ब्राण्डकै रहेको छ । यस्तोमा भारत सरकारले सस्तो फोन बिक्रीमा प्रतिबन्ध लगाएको खण्डमा चिनियाँ ब्राडलाई ठुलो असर पर्ने अनुमान गरिएको छ ।

यो विषयमा हालसम्म भारतका सरकारी प्रतिनिधिले भने कुनै जानकारी दिएका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३