close

साना उद्यमभन्दा यसकारण फरक हुन्छन् स्टार्टअप, सरकारले फेर्नुपर्छ पुरानो ‘चस्मा’

टेकपाना टेकपाना

साउन २६, २०७९ १६:३७

साना उद्यमभन्दा यसकारण फरक हुन्छन् स्टार्टअप, सरकारले फेर्नुपर्छ पुरानो ‘चस्मा’

प्रविधिमा आधारित स्टार्टअपले अन्य क्षेत्रका स्टार्टअपभन्दा छिटोछिटो प्रगति हासिल गरेको पाइन्छ । एउटा विचारबाट सुरु भएका स्टार्टअपले सम्पूर्ण अर्थतन्त्र नै काँधमा बोकेका इतिहास छन् ।

एउटा सानो क्षेत्रबाट मौलाएको स्टार्टअपले विश्व बजार नै कब्जा गर्ने क्षमता राख्दछ । गुगल, अमेजन, अलिबाबा यसका केही उदाहरण हुन् ।

स्टार्टअप नवीनतम सोचले विकास भएका र गतिशील व्यवसाय हुन् । प्रविधिमा आधारित यस्ता स्टार्टअप सानो तहबाट सुरु हुने भएकाले यिनलाई साना तथा मझौला उद्यममा राख्ने प्रचलन विश्वभर नै छ ।

तर, टेक स्टार्टअप परम्परागत साना तथा मझौला उद्यमभन्दा भिन्नै हुन्छन् । विशेषगरी टेक स्टार्टअप त्यस्तो उद्यमलाई भनिन्छ, जसमा नवीनतम प्रविधि र साेच प्रयोग गरी परम्परागत समस्याको निराकरण गरिएको हुन्छ ।

युवा उद्यमीद्वारा सञ्चालित यस्ता स्टार्टअपले नवीनतम प्रविधिमा आधारित उत्पादन तथा सेवा बजारमा ल्याउँछन् । नवीनतम प्रविधिले मात्र हुनुपर्छ भन्ने पनि हुँदैन ।

प्रविधिको प्रयोग गरी नयाँ तरिकाले सर्वसाधारण वा केही वर्गको दैनिकी वा व्यवसायमा आएका चुनौती तथा अप्ठ्यारो परिस्थितिलाई सम्बोधन गर्ने किसिमको छ भने पनि त्यसलाई स्टार्टअप मान्न सकिन्छ ।

स्टार्टअप कसलाई मान्ने भन्ने कुराका लागि हाम्रै नीतिमा पनि द्विविधा छ । स्टार्टअप र साना व्यवसायलाई एउटै डालोमा हाल्ने गरेको परिपाटी नेपालमा सजिलै देख्न सकिन्छ ।

टेक स्टार्टअपको व्यापार मोडेल विशेषगरी इन्टरनेट तथा नयाँ प्रविधिसँग जोडिएको हुन्छ । त्यसैलाई समाधानको माध्यम बनाई उनीहरूले आम्दानी गरिरहेका हुन्छन् ।

यस्ता टेक स्टार्टअपले उनीहरूको नवीनतम सोच, व्यापारको नयाँ तरिकाले विश्व नै हल्लाउने सामर्थ्य राखेका हुन्छन् ।

टेक स्टार्टअपकै रूपमा उदाएका गुगल र फेसबुकको यात्रा स्टार्टअपदेखि युनिकर्न र अहिले विश्वको अर्थतन्त्र नै उनीहरूको काँधमा रहेको छ ।

त्यस्तै क्रान्तिकारी स्टार्टअपको रूपमा सबैभन्दा अगाडि आउने अर्को नाम हो टेस्ला र स्पेसएक्स ।

वायु प्रदूषणको न्यूनीकरणका लागि विद्युतीय गाडी निर्माण गर्ने टेस्ला र अन्तरिक्ष पुग्ने रकेटलाई बारम्बार प्रयोग गर्न मिल्ने बनाउने स्पेसएक्सलाई आज नचिन्ने मानिसहरूको जमात कमै छ ।

यी त्यस्ता स्टार्टअप हुन्, जो सीपमा बढी र भौतिक काममा कम केन्द्रित हुन्छन् ।

टेक स्टार्टअप साना तथा मझौला उद्यमभन्दा कसरी भिन्नै छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ ।

समयको माग अनुसारको आवश्यकता
सबैभन्दा मुख्य कुरा प्रायः टेक स्टार्टअप प्रविधिमा आधारित हुन्छन् । उनीहरू इन्टरनेट तथा नयाँ प्रविधिमा केन्द्रित हुने भएकाले प्रविधिको आगमनसँगै यस्ता स्टार्टअप अगाडि बढेको पाइन्छ ।

हरेक टेक स्टार्टअपका पनि आफ्नै नयाँ दायरा हुने गर्छन् । टेक स्टार्टअपका तमाम क्षेत्रमध्ये फिनटेक (वित्तिय प्रविधि), ई–कर्मश, एग्रीटेक (कृषी प्रविधि), ग्रिन टेक (त्यस्तो प्रविधिमा काम गर्ने स्टार्टअप जसले प्राकृतिक वातावरणमा मानवय असर कम गर्छ) मुख्य हुन् ।

कोभिड महामारीले स्वास्थ्यका लागि प्रविधि कति महत्वपूर्ण छ भन्ने पनि छर्लङ्गै पारेको छ । कोभिड महामारीले एडुटेक (शैक्षिक प्रविधि), हेल्थटेक (स्वास्थ्य प्रविधि– टेलिमेडिसिन) र व्यापारिक सम्मेलनका लागि टेलिमिटिङ तथा कन्फ्रेन्सिङको आवश्यकता बुझाएको छ ।

आवश्यकता र समयको मागले गर्दा पनि टेक स्टार्टअपहरू अन्य साना तथा मझौला उद्यमको तुलनामा धेरै फरक र आवश्यकताका विषय बनेका छन् ।

स्टार्टअपलाई इक्विटीको आवश्यकता पर्छ
स्टार्टअप सुरु हुने भनेकै सानो समूह र लगानीबाट हो । अन्य व्यवसायजस्तो एकैपटकमा ठूलो लगानी आवश्यक पर्नेमा टेक स्टार्टअप कमै भेटिन्छन् ।

सुरुवाती अवस्थामा टेक स्टार्टअप प्रोटोटाइप, त्यसको विकास तथा अन्य काममा केन्द्रित हुन्छन् । सुरुवाती केही वर्षमा स्टार्टअपले घाटा व्यहोरे पनि पछि नाफामा जाने किसिमका हुन्छन् ।

तर, साना तथा मझौला किसिमका उद्यमले लगानीलाई छोटो समयमा आम्दानीमा परिणत गरेका हुन्छन् । त्यसैले स्टार्टअपलाई इक्विटी, अनुदान उपयुक्त हुन्छ । इक्विटी दिगो हुने भएकाले स्टार्टअपका लागि यो महत्वपूर्ण हुन्छ ।

साना तथा मझौला उद्यम र स्टार्टअपको भिन्नता बुझेर सरकारले त्यही अनुसारको नीति बनाउनु पर्ने हुन्छ । स्टार्टअप कसलाई मान्ने, कुन क्षेत्रका स्टार्टअपलाई कति महत्व दिने भन्ने कुरा निश्चित नहुँदा स्टार्टअप अगाडि बढ्न सकेका छैनन् ।

सुरुवाती समर्थन
स्टार्टअपलाई सफल हुनु अगावै साथ चाहिएको हुन्छ । उनीहरूले भविष्यमा कस्तो प्रगति गर्न सक्छन् भन्ने कुरा आँकलन गरेर त्यही अनुसारको सहयोग, साथ र समर्थन गर्नुपर्ने हुन्छ ।

सिलिकन भ्याली, न्यूयोर्क, लन्डन र बोस्टन विश्वका पाँच उत्कृष्ट स्टार्टअप इकोसिस्टम हुन् । उनीहरूले वित्तीय सहयोग र डिजिटल पूर्वाधार उपलब्ध गराउनुभन्दा पनि स्टार्टअपलाई आवश्यक कानूनी परामर्श दिनु, मानव स्रोत व्यवस्थापन गर्नु जस्ता अन्य विविध सेवामा साथ दिएका हुन्छन् ।

स्टार्टअपलाई नवीनतम व्यापारशैली दर्ता गर्न कानूनी मार्गदर्शन आवश्यक हुन्छ । प्रायः स्टार्टअपले त्यस्ता क्षेत्र अँगालेका हुन्छन् जस सम्बन्धी कानूनी प्रावधान नै बनेको हुँदैन ।

त्यसैले हरेक क्षेत्रमा स्टार्टअपलाई मार्गदर्शन र साथको आवश्यकता हुने गर्छ ।

सहयोगको आवश्यकता
स्टार्टअपका प्रतिभाशाली प्रविधिलाई इन्कुबेटर र एक्सिलेटरबाट व्यापार विकासको साथ आवश्यक पर्छ । प्रविधिमा क्रियटिभ संस्थापकबाट सुरु भएका स्यार्टअप नवीनतम विचारमा आधारित हुन्छन् ।

उनीहरूले त्यस्ता स्टार्टअप सुरु गर्दा विशेषगरी आम सर्वसाधारणका समस्या समाधान र सहजतालाई सम्बोधन गरेका हुन्छन् । प्रविधिको प्रयोग गरी जनमानसको आवश्यकता पूर्ति गर्ने त्यस्ता स्टार्टअपको सोचाइलाई नाफामूलक व्यापार मोडेलमा परिणत गर्न आवश्यक हुन्छ । यसमा सबैभन्दा मुख्य भूमिका इन्कुबेटर र एक्सिलेटरको हुने गर्छ ।

त्यसका लागि इन्कुबेटरले समयसमयमा स्टार्टअपलाई सुझाव, तालिम, नेटवर्किङ, र मनिटरिङका उपायमा वर्कसप गराउन आवश्यक हुन्छ । जसले गर्दा उनीहरूले लगानीकर्ता जुटाई स्टार्टअपलाई नाफामूलक व्यापारमा परिणत गर्न सक्छन् ।

स्टार्टअपको आवश्यकता
टेक स्टार्टअपलाई विशेषगरी दक्ष व्यक्तिको आवश्यकता पर्छ । उनीहरू डिजिटलमा केन्द्रित हुने भएकाले विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणितमा विज्ञता भएका कर्मचारी आवश्यक पर्छन् ।

स्टार्टअपका लागि प्रतिभा प्राप्ति प्रमुख चुनौतीको विषय हो । जसलाई सरकारले विभिन्न शैक्षिक अवसर उपलब्ध गराई जनशक्ति सिर्जना गर्न आवश्यक हुन्छ ।

प्रतिभावान दक्ष व्यक्तिलाई स्टार्टअपमा आकर्षित बनाउन सरकारले सहज नीति अवलम्बन गर्नु आवश्यक हुन्छ । उनीहरूका लागि सुहाउँदो कर, लगानी भित्राउने सहज माध्यम बनाएको खण्डमा पनि स्टार्टअप इकोसिस्टम अगाडि बढाउन सकिन्छ ।

देशको अर्थतन्त्र बलियो बनाउनका लागि सरकारले स्टार्टअपमा योगदान दिन आवश्यक छ । साथै, नीति निर्माताले टेक स्टार्टअपले सामना गर्ने विभिन्न चुनौतीलाई सम्बोधन गर्ने सहयोगी इकोसिस्टम निर्माण गरी साथ दिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३