कहिल्यै गमेर सोच्नु भएको छ - अनलाइनमा तपाईं के हेर्दै हुनुहुन्छ ?
छ, ठीकै छ । छैन, आज छलफल गरौं । प्रश्नलाई सामान्य लिन सक्नुहुन्छ । तर गहिराइमा पुगेर हेर्दा सामाजिक, सांस्कृतिक र व्यक्तिगत मुद्दाहरूसँग यो प्रश्न जोडिएको छ ।
सामान्यतः अनलाइन हुनुलाई इन्टरनेटमार्फत कुनै डिजिटल उपकरण प्रयोग गरी अन्य व्यक्तिहरूसँग जोडिनु, सूचना आदानप्रदान गर्नु वा कुनै सेवा उपभोग गर्नु भन्ने बुझिन्छ । फेसबुकमा पोस्ट गर्नु, टिकटकमा भिडिओ हेर्नु, गुगल सर्च गर्नु लगायतका क्रियाकलाप अनलाइन हुनुका उदाहरण हुन् ।
मूल प्रश्न - अनलाइनमा तपाईं के गर्नुहुन्छ ?
अनलाइन हुनु समुद्रमा हाफ फाल्नु सरह हो । अनन्त स्रोतमा पुग्नु हो । इन्टरनेटमा दैनिक हजारौं घण्टाको भिडिओ अपलोड भइरहेका छन् । हजारौं शब्द थपिरहेका छन् । लाखौं फोटो आइरहेका छन् । नयाँ नयाँ अनलाइन गेम आइरहेका छन् । यो क्रम बढ्दो छ । समुद्रबाट पानी निकालेर सकिएला, अनलाइन हुँदा उपभोग गर्ने सामग्री सकिँदैन । गर्ने क्रियाकलाप सकिँदैन ।
त्यसरी इन्टरनेटमा उपलब्ध सामग्रीलाई धेरैले सामाजिक सञ्जालमार्फत लिने गर्छन् । किनकि यसमा सरलता र सजहता छ । अन्य प्रक्रिया/माध्यम पनि छन् । तर आज सामाजिक सञ्जालमा नै रहौं ।
एक जना गेमरले अनलाइन स्ट्रिमिङ गर्दा हजारौंले हेरिरहेका हुन्छन् । एक जनाले पोस्ट गर्दा अन्यले प्रतिक्रिया दिइरहेका हुन्छन् । अर्थात् कर्मको साक्षी हुने धेरै छन् । सञ्जालको वास्तविक दृश्य हो यो ।
यसमा (अनलाइन)मा उपलब्ध सामग्रीलाई मोटामोटी तीन समूहमा वर्गीकृत गर्न सकिन्छ:
जानकारीमूलक सामग्री
यसमा समाचार, अनुसन्धान, शैक्षिक भिडिओ, प्राज्ञिक अन्तर्वार्ता, ब्लगजस्ता स्रोत पर्ने भए ।
मनोरञ्जनात्मक सामग्री
यसमा संगीत, फिल्म, मिम्स, खेलकुद, रमाइला कार्यक्रम आदि पर्न भए ।
नचाहिएका सामग्री
यसमा एल्गोरिदमले सुझाएका वा अनावश्यक विज्ञापनहरूलाई राख्न सकिने भयो ।
अहिले यी तिनै प्रकारका सामग्रीमध्ये के हेर्ने भन्ने कुरा हाम्रो रुचि र आवश्यकता नभई प्रविधिले निर्धारण गर्न थालिसकेको छ । सम्झनुहोस् त, टिकटकको भिडिओ आफैंले सर्च गरेर कति हेर्नुहुन्छ ?
दु:खको कुरो, अनलाइनको सञ्जालबाट बाहिर निस्कन नसकिने गरी हामी फसिसकेका छौं । चाहे राम्रैका लागि किन नहोस्, अनलाइन संसारको निरन्तर उपभोगले हाम्रो सोच/विचार, स्वभाव, समय र जीवनशैली प्रभावित भइसकेको छ ।
तर अनलाइनमा उपलब्ध यी सामग्रीका उद्देश्य के हुन्? सूचना प्रदान गर्ने, मनोरञ्जन दिने? प्रश्नको उत्तर एउटै छैन । तर समष्टिमा तपाईं/हाम्रो ध्यान कब्जा गर्ने हो । यो प्रक्रिया यति खतरा छ कि यसले हाम्रो सोच र व्यवहारलाई नै नियन्त्रणमा राख्न राख्छ ।
अनलाइनमा सामग्री हेर्दा सोच्ने स्वतन्त्रता गुमाउँदै जानु यसको उदाहरण हो । के हेर्ने त्यो मेरो निर्णय भनेर सोच्छौं । जब कि सामग्रीमा तपाईंको नियन्त्रण छैन । त्यो एल्गोरिदमको नियन्त्रणमा छ । झट्ट सञ्जाल खोल्दा पहिले कहिल्यै नदेखेका सामग्री आउनु, सञ्जालमा झुमिरहन चाहनु यो कुरोको उदाहरण हो ।
यसो भनौं सञ्जालमा आउने सामग्री तपाईंको प्राकृतिक छनोटको परिणाम होइन । डेटा र गणितीय मोडेलमा आधारित एल्गोरिदमले तयार पारेको परिणाम हो । एल्गोरिदमले तपाईंको रुचि, बानी र व्यवहारलाई अध्ययन गरेर निरन्तर उस्तै प्रकारको सामग्री देखाइरहेको हुन्छ ।
उदाहरणका लागि तपाईंले हेर्नुभएको एउटा भिडिओको आधारमा उस्तै प्रकारको अर्को भिडिओ सुझाव दिइन्छ । तपाईंको स्क्रिन टाइम, क्लिक, कमेन्टका फीडका आधारमा तयार हुन्छ ।
यस्तो खतरनाक प्रक्रियाले सोचलाई सीमित बनाउँछ । सधैं एउटै खालका विचार र धारणा मात्र हेर्न पुगिन्छ । यस्तो 'इन्फर्मेसन बबल'ले ज्ञानको दायरा साँघुरो बनाउनुका साथै मान्छेलाई एक्लो नै बनाइन्छ । जुन मानसिक, सामाजिक, सांस्कृतिक, शारीरिक सबै पक्षबाट अति नै नराम्रो हो ।
त्यस्तो अवस्थामा पुर्याउन तपाईंले अनलाइनमा हेर्ने कुराको विशेष भूमिका छ । किनकि अनलाइन हिस्ट्री हेरेर अब तपाईं को हो ? कस्तो हुनुहुन्छ ? भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ । यसो भनौं आधुनिक चिना अनलाइन हिस्ट्री हो ।
तर यस्तो हुनबाट बँच्ने एउटै उपाय छ- आफूले अनलाइनमा के गर्दैछु भनेर प्रश्न गर्ने । के अनलाइनमा देखिने सबै सामग्रीको उपभोग हेर्ने? त्यहाँ देखिएका सामग्री के हाम्रो सोच र रुचि अनुसार नै छन् ? ती जानकारीमूलक छन् कि केवल हावादारी?
बस्, अब यी प्रश्नमा गमेर अनलाइनमा बिताएको समयको वास्तविक मूल्य खोज्नु पर्छ । सम्झनु पर्ने कुरा के छ भने तपाईंले हरेक क्षण अनलाइनमा समय बिताउँदा अरू कोहीले फाइदा लिइरहेका छन् । इन्टरनेट चलाउनु हुन्छ- इन्टरनेट सेवा प्रदायकलाई पैसा दिनुहुन्छ । हेर्न डिभाइस किन्नुहुन्छ- कुनै कम्पनीलाई पैसा दिनुहुन्छ । कसैको कन्टेन्ट हेर्नुहुन्छ- उसले कन्टेन्ट बनाएकोमा कतैबाट कमाइ रहेको छ । तर तपाईंको समय?
अनलाइन नुहनु भन्ने पङ्क्तिकारको तात्पर्य होइन । अनलाइन हुँदा आफैंलाई बिर्सिरहेका त छैनौं भन्ने कुराको बोध गराउनु पक्कै हो । पुनश्च: अनलाइन दुनियाँ अन्धो छ । बाटो गोलमटोल छ ।
यसले कहाँ पुर्याउँछ, कम्तीमा त्यो निर्णय तपाईं आफैंले गर्न सक्नुपर्छ ।